
जित नजिक पुगेका काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले घोषणापत्रमा भएका कुरा लागू गर्न सकेको दिन विजयोत्सव गर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले अहिले विजय जुलुस भनेर अरूलाई पराजित भन्ने संकेतसम्म पनि नगर्नुपर्ने बताएका हुन् ।
उनले देशका ठाउँठाउँबाट र्यालीका लागि समर्थकहरू काठमाडौं आउने सुनेको भन्दै त्यस्तो दुःख नगर्न पनि उनले अनुरोध गरेका छन् । ‘यो अभियान सबैको हो, यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुशी हुनेछौँ,’ उनले भनेका छन्, ‘अभियानको अहिलेसम्मको सफलताका लागि खुशीयाली प्रकट गर्ने नै हो भने पनि तपाईं रहेकै क्षेत्रमा धन्यवाद र्याली गर्नुहोला । त्यसले सो स्थानमा बढी प्रभाव छोड्छ ।’
उनले यो आफ्नो मात्रै अभियान नभई देशभरकै अभियान भएको बताए । ‘अबको बाटो सहज छैन, हाम्रो अभियानको वास्तविक परीक्षा अब शुरू हुनेछ,’ उनले लेखेका छन्, ‘हामीले हिँड्ने सही बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ ।’
उनले आफूहरूलाई खबरदारी गर्न पनि आग्रह गरेका छन् । ‘हामीलाई साथ र सुझाव जति महत्त्वपूर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको, हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला,’ फेसबुकमा उनले लेखेका छन्, ‘अनि हाम्रो अभियानको ऊर्जाको लागि हामी सधैँ तपाईंहरुसँग जोडिरहेका हुन्छौँ । तपाईंहरुको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ ।’