०८ साउन २०८३, शुक्रबार

बाँकेमा सिकलसेल एनिमिया बिरामीको संख्यामा वृद्धि

बाँकेमा सिकलसेल एनिमिया बिरामीको संख्यामा वृद्धि
प्रतिकात्मक तस्वीर

थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी बाँकेमा बढ्दै गएको छ ।

थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य शुरू भएपछि दुवै रोगका बिरामी बढ्दै गएको देखिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार राप्तीसोनारी गाउँपालिकामा भेटिएका थप ५ सिकलसेलका बिरामीसहित पालिकामा बिरामीको संख्या २३ पुगेको छ । सबै पालिकामा भएका विभिन्न परीक्षणबाट खास संख्या नआएकाले जिल्लामा अझै कति बिरामी छन् भन्ने खुल्न नसकेको स्वास्थ्य कार्यालयका प्रमुख धीरजजंग शाहले जानकारी दिए ।

उनले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क उपचारले केही राहत भए पनि थालसेमियाका बिरामीले राहत नपाएको बताए । यसका बिरामी पनि कति छन् भन्ने खुल्न सकेको छैन । 

पालिकामा थारु समुदायका ९ र १० कक्षामा अध्ययनरत विद्यार्थी, बिरामी र बाहकमा जेठ १६ देखि असार १० गतेसम्म परीक्षण गरिएको थियो । अझै पनि स्क्रिनिङ कार्य जारी रहेको उनले जानकारी दिए ।

कतिपय बिरामी त विभिन्न शारीरिक समस्या देखिएपछि छिटो निको हुने आशमा निजी अस्पताल र मेडिकल धाउँदा लाखौं रकम खर्च भएको र त्यस्ता शारीरिक समस्याको निको पनि नभएको बताउँछन् ।  सिकलसेल एनिमियाका बिरामी केही त्यस्ता छन् जसलाई सरकारले १ लाख रुपैयाँसम्म निःशुल्क उपचार गर्छ भन्ने कुराको समेत जानकारी नहुँदा विभिन्न अस्पताल र मेडिकल कलेजमा सास्ती खेपेका छन् । 

बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुर  निवासी २८ वर्षीय रामकृष्ण थारुले आफूलाई सिकलसेलको निःशुल्क उपचारबारे जानकारी नभएको उल्लेख गर्दै शारीरिक समस्याका कारण निजी अस्तालमा मोटो रकम खर्च भएको बताए । उनले ऋण खोजेर जम्मा गरेको ७० हजार रुपैयाँ खर्च भएको जानकारी दिँदै आफूलाई सिकसेल एनिमियाको समस्या नभए पनि छोरा र श्रीमतीमा सो समस्या आएको बताउँछन् ।

सिकलसेल विज्ञ डा. राजन पाण्डेले रोग पत्ता लगाएर पनि बिरामीले लाखौं खर्च गरेको उल्लेख गर्दै रगत परीक्षण नै सिकलसेल एनिमियाको दीगो समाधान भएको बताए ।

उनले विवाह कुण्डली मिलाएर सिकलसेल एनिमियाको न्युनीकरण गर्न सकिने उल्लेख गर्दै सिकलसेलको बाहकका लागि औषधि आवश्यक नपर्ने बताए । अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भनिएको छ ।

‘अहिलेको पुस्तामा रोग देखिएको छैन तर उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ । यो रोग अफ्रिका, भारत लगायतका मुलुकमा रहेको छ । थारु समुदायबाहेक बाहुन, क्षेत्री, मगरमा पनि सिकलसेल देखिएको बताइएको छ । थारु बाहुल्य बाँके र बर्दियामा मात्रै पहिचान भएको करीब ४ हजार सिकलसेलका बिरामी छन् ।

salt training

कमेन्ट गर्नुहोस्