३० असार २०८३, मंगलबार
प्रतिनिधि सभा निर्वाचनको पूर्व तयारी

कांग्रेसको उद्गम थलो मोरङमा साख फर्काउने शेखरको ‘मिसन’, को–को बन्दैछन् उम्मेदवार ?

असार १४, २०७९
कांग्रेसको उद्गम थलो मोरङमा साख फर्काउने शेखरको ‘मिसन’, को–को बन्दैछन् उम्मेदवार ?

राजनीतिक र औद्योगिक इतिहास बोकेको मोरङमा प्रतिनिधि सभा निर्वाचनको टिकट हत्याउन मुख्य पार्टीभित्र नेताहरूको दौडधूप शुरू भएको छ ।

गिरिजाप्रसाद कोइरालादेखि मनमोहन अधिकारीसम्मले राजनिति गरेको मोरङमा टिकटका लागि 'हाइ प्रोफाइल'देखि जिल्ला नेताहरूसम्म लबिङमा छन् ।

मोरङ काठमाडौंपछिकै सबैभन्दा धेरै निर्वाचन क्षेत्र रहेको जिल्ला हो । काठमाडौंमा १० र मोरङमा ६ वटा निर्वाचन क्षेत्र छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पार्टी सभापतिको दाबेदार रहेका डा. शेखर कोइरालादेखि एमाले अध्यक्ष केपी शर्मा ओलीका समकक्षी गुरु बरालसम्म उम्मेदवार बन्ने तयारीमा छन् ।

शेखर मोरङबाट उम्मेदवार बन्न लागेका 'हाइ प्रोफाइल' नेता हुन् । 

अघिल्लोपटक वाम गठबन्धनका एमाले उम्मेदवार लालबाबु पण्डितसँग झिनो मतले पराजित भएका कोइरालाले त्यसयता आफ्नो निर्वाचन क्षेत्रमा निकै मेहनत गरेका छन् ।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले आफ्नो गढ मानिने मोरङबाट झण्डै हात धुनुपरेको थियो । मोरङ क्षेत्र नम्बर २ बाट चुनाव जितेर मीनेन्द्र रिजालले कांग्रेसको इज्जत जोगाइदिएका थिए ।

अघिल्लोपटक उम्मेदवार बनेका नेताबाहेक यसपालि पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फेदेखि मेडिकल व्यवसायी सुनिल शर्मासम्म पनि उम्मेदवारीका लागि लबिङमा छन् ।

सत्ता गठबन्धनमा पार्टीभित्रका आकांक्षीको व्यवस्थापनभन्दा जटिल दलहरूबीचको भागबण्डा छ । 

स्थानीय तह निर्वाचनमा कांग्रेसले सोचेअनुसार परिणाम ल्याउन सकेन ।

अघिल्लोपटक ५ वटा स्थानीय तह मात्र जितेको एमालेले यसपालि ९ वटामा जीत हात पार्दा कांग्रेस खुम्चिन पुग्यो । मोरङमा गठबन्धन खासै प्रभावकारी हुन सकेन ।

स्थानीय निर्वाचनको नतिजाले एमाले आत्मविश्वासी बनेको छ । कांग्रेसलाई भने पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन गर्दै सहयात्री दलहरूसँग प्रभावकारी तालमेल गर्ने चुनौती छ ।

मोरङमा अघिल्लोपटक दुई सीट जितेको माओवादी केन्द्रले यसपालि पनि सोही संख्यामा दाबी गरेको छ । एकीकृत समाजवादी र जसपालाई पनि मिलाउनुपर्ने चुनौती कांग्रेसलाई छ ।

मोरङ क्षेत्र नम्बर १ मा पुरानै प्रतिस्पर्धीको दाबी, एमालेमा शिवमाया पनि आकांक्षी

मोरङको क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट एमालेका घनश्याम खतिवडाले चुनाव जितेका थिए । 

उनी तमोर डाइभर्सनलाई चिसाङ खोलामा मिसाएर पूर्वी मोरङको खेतीयोग्य जग्गामा सिँचाइ सुविधा उपलब्ध गराउने चुनावी एजेन्डा लिएर जनतामाझ गएका थिए ।

माओवादीसँग गठबन्धन गरेर चुनावमा होमिएका खतिवडा ३७ हजार ५२४ मत ल्याएर विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिगबहादुर लिम्बूले ३१ हजार ४३६ मत प्राप्त गरेका थिए ।

कांग्रेसबाट लिम्बू नै उम्मेदवारका रूपमा दोहोरिने सम्भावना छ ।

२०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा लिम्बूले एमालेका घनश्याम खतिवडा र माओवादीका वर्षमान पुन ‘अनन्त’ दुवैलाई पराजित गरेका थिए ।

२०६४ देखि लगातार ३ निर्वाचनमा उम्मेदवार बनेका लिम्बू २०७० मा मात्र विजयी भए । यसपटक पनि उनी नै उम्मेदवारका रूपमा दोहोरिने सम्भावना रहेको कांग्रेसका एक नेताले बताए ।

एमालेबाट बहालवाला सांसद घनश्याम खतिवडाले नै दोहोरिने आकांक्षा राखेका छन् । तर, उनलाई पार्टीभित्रैबाट पूर्व सभामुख शिवमाया तुम्बाहाम्फेको चुनौती सामना गर्नुपर्नेछ ।

उपसभामुख हुँदै कानून मन्त्री समेत बनेकी तुम्बाहाम्फे त्यही क्षेत्रकी हुन् । उनले उम्मेदवार बन्ने आकांक्षा राखेको चर्चा एमालेभित्र छ ।

मोरङ क्षेत्र नम्बर २ मा मीनेन्द्रलाई सुजाताको चुनौती !

मोरङ क्षेत्र नम्बर २ मा अघिल्लोपटक कांग्रेसका मीनेन्द्र रिजालले चुनाव जितेका थिए । उनले वाम गठबन्धनका एमाले उम्मेदवार ऋषिकेश पोखरेललाई पराजित गरेका थिए ।

रिजालले ३५ हजार ८ सय १९ मत प्राप्त गर्दा पोखरेलले ३४ हजार १४ मत पाए ।

यो कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला चुनाव लड्ने गरेको भूगोल हो ।

गिरिजाबाबुको पुण्यभूमिलाई नमूना क्षेत्र बनाउँछु भन्दै चुनावमा होमिएका रिजाल तत्कालीन वाम गठबन्धनका उम्मेदवारलाई हराउन सफल भए ।

मीनेन्द्र रिजाल

उनले चिसाङ, डाँस र बक्राहा खोलाले धेरै क्षति पुगेको बताउँदै गिरिजाप्रसाद कोइरालाले शुरू गरेको काम पूरा गर्ने बताएका थिए ।

यसपटक रिजाललाई उनै गिरिजाबाबुकी सुपुत्री सुजाता कोइरालाको चुनौती छ । पार्टीभित्र सुजाताले टिकटका लागि लबिङ तीव्र बनाएकी छन् ।

सुजातालाई बाइपास गरेर जान सक्ने अवस्था पनि नरहेको कांग्रेसका स्थानीय नेता कार्यकर्ता बताउँछन् । रिजालको दाउ सुजातालाई समानुपातिकमा बस्न ‘कन्भिन्स’ गरेर टिकट हत्याउनेमा केन्द्रित छ ।

एमालेबाट भने पोखरेल नै उम्मेदवारका रूपमा दोहोरिने सम्भावना छ । अघिल्लोपटक पराजित भएकाले सहानुभूतिको मत समेत उनले पाउन सक्ने एमालेका कतिपय कार्यकर्ता बताउँछन् ।

मोरङ क्षेत्र नम्बर ३ मा एमालेभित्र प्रतिष्ठाको लडाईं 

मोरङ क्षेत्र नम्बर ३ मा अघिल्लोपटक वाम गठबन्धनका एमाले उम्मेदवार भानुभक्त ढकालले कांग्रेसका सुनिलकुमार शर्मालाई पराजित गरेका थिए ।

ढकालले ४२ हजार ४ सय १३ मत प्राप्त गर्दा शर्माले ४० हजार ५ सय ७ मत प्राप्त गरेका थिए । यस क्षेत्रमा पुरानै प्रतिस्पर्धीहरूले दोहोरिने आकांक्षा राखेका छन् ।

शर्मा मेडिकल व्यवसायी हुन् । अघिल्लोपटक गठबन्धनसँग झिनो मतान्तरले हारेकाले यसपटक आफूले बाजी मार्ने उनको दाबी छ । सोही कारण पनि शर्मा नै उम्मेदवारका रूपमा दोहोरिने सम्भावना छ ।

शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई समेत आफूले जित्ने हिसाबकिताब सुनाइसकेको चर्चा कांग्रेसवृत्तमा छ ।

तर, स्थानीय चुनावमा मोरङ– ३ कांग्रेसका लागि सुखद् रहेन । यस क्षेत्रमा पर्ने ४ वटै स्थानीय तहमा एमालेले जितेको छ । बेलबारी, सुन्दरहरैँचा र पथरी शनिश्चरे नगरपालिका तथा कानेपोखरी गाउँपालिकामा एमालेले जीत हात पारेको छ । यसमध्ये बेलबारीमा उपप्रमुखचाहिँ कांग्रेसले जितेको छ ।

शर्मा स्थानीय चुनावमा पार्टीलाई चुनाव जिताउन भनेर निकै खटेका थिए । तर परिणाम अपेक्षित आएन ।

उनलाई पार्टी संस्थापन पक्षबाट दिलिप गच्छदारले चुनौती दिने तयारी गरेका छन् । देउवा पक्षको भएकैले आफूले टिकट पाउने आशामा गच्छदार देखिन्छन् ।

भानुभक्त ढकाल

मोरङ ३ मा एमालेभित्र रोचक प्रतिस्पर्धा छ । खोला फर्काउने भन्दै जनतामाझ गएर चुनाव जितेका ढकालले तीन–तीन मन्त्रालय सम्हाल्दा पनि केही नगरेको भनेर एमालेकै गुरु बरालले प्रचार गरिरहेका छन् ।

अझ रोचक त के भने बेलबारी र पथरीशनिश्चरे नगरपालिकामा टिकट वितरणका क्रममा यी दुई नेताबीच प्रतिष्ठाको लडाईं नै चलेको थियो ।

ढकाल पुरानैलाई दोहोर्‍याउन चाहन्थे भने बरालले नयाँ ल्याउनुपर्छ भन्दै लबिङ गरेका थिए ।

बेलबारीमा निवर्तमान मेयर ज्ञानेन्द्र सुवेदी र पथरीशनिश्चरेमा दिलिपकुमार राईलाई दोहोर्‍याउँदा चुनाव जित्न सकिने ढकालको दाबी थियो । 

बरालले भने १० बुँदे पक्षधर (माधव नेपालको साथ छाडेका) नेताहरूलाई टिकट दिन नहुने भन्दै लबिङ गरे । ती दुवैसँग बरालको राम्रो सम्बन्ध छैन ।

अन्ततः बरालले भनेजस्तै नयाँ उम्मेदवार तोकिए । चुनाव पनि एमालेले जित्यो । त्यसयता बरालले प्रतिनिधि सभामा उम्मेदवार बन्ने तयारी तीव्र बनाएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको समकक्षी समेत भएकाले आफूले टिकट पाउने उनको आकांक्षा छ ।

मोरङ ३ मा एकीकृत समाजवादीका चन्द्र गुरुङले पनि दाबी गरेका छन् । यस क्षेत्रबाट एमालेका ३ पूर्व सांसद एकीकृत समाजवादीमा लागेका छन् ।

क्षेत्र नम्बर ४ मा गुरुराजको दाबी 

गत चुनावमा मोरङको क्षेत्र नं. ४ मा तत्कालीन वाम गठबन्धनका माओवादी उम्मेदवार अमनलाल मोदी विजयी भएका थिए । 

मोदीले कांग्रेस नेता महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । मोदीले ३३ हजार ४२९ मत ल्याउँदा आचार्यले २६ हजार ८०० मत मात्रै पाए ।

यसपटक मोरङ ४ मा सत्ता गठबन्धनका लागि चुनौती छ । अघिल्लोपटक जितेको क्षेत्र भएकाले माओवादीले दाबी गरेको छ भने कांग्रेसलाई पनि पार्टीभित्रै आकांक्षीको व्यवस्थापन गर्न चुनौती छ ।

कांग्रेसमा आचार्यलाई युवा नेता गुरुराज घिमिरेले चुनौती दिएका छन् । 

नेविसंघका पूर्व सभापति समेत रहेका घिमिरेले शुरूमै उम्मेदवारी घोषणा गरेका हुन् ।

‘मोरङ ४ कांग्रेसको उद्गम थलो हो । नेताले निर्वाचन क्षेत्रको ख्याल नगर्दा मात्र कांग्रेसले हारेको हो । यो क्षेत्रमा कांग्रेसको साख फर्काउने लक्ष्य छ,’ घिमिरेले भन्ने गरेका छन् ।

यो क्षेत्रमा विराटनगर महानगरपालिकाका निवर्तमान मेयर भीम पराजुलीले पनि दाबी गरेका छन् । 

एमालेबाट यस क्षेत्रमा विनोद ढकाल उम्मेदवार बन्ने सम्भावना छ । अघिल्लोपटक विराटनगर महानगरपालिकाको मेयरमा पराजित भएका ढकाल एमाले मोरङका प्रभावशाली नेता हुन् ।

यस क्षेत्रमा जीवन घिमिरे पनि टिकटका लागि दौडमा छन् । 

मुख्यमन्त्रीको उम्मेदवार बनाएको खण्डमा भने उनी प्रदेशमै दोहोरिने सम्भावना पनि रहेको निकटस्थहरू बताउँछन् ।

यस क्षेत्रमा प्रदेश कमिटी सदस्य महेश भट्टराईको पनि दाबी छ ।

क्षेत्र नम्बर ५ मा पनि गठबन्धनलाई भागबण्डाको सकस

मोरङ ५ मा अघिल्लोपटक वाम गठबन्धनका माओवादी उम्मेदवार शिवकुमार मण्डल विजयी भएका थिए ।

उनले २२ हजार ९४५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार अमृतकुमार अर्यालले १९ हजार १ सय ५३ मत ल्याए ।

वि.सं २०६४ को संविधान सभा निर्वाचनमा यही भूगोलबाट तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए ।

२०७० सालको संविधान सभा निर्वाचनमा यादव नेपाली कांग्रेसका अमृतकुमार अर्यालसँग पराजित भए । 

२०७० सम्म मोरङमा ९ वटा क्षेत्र थियो । अहिले ६ वटा क्षेत्रमा सीमित भएको छ ।

यो क्षेत्रमा पनि माओवादीले दाबी गरेको छ । गठबन्धनका लागि यो क्षेत्र पनि भागबण्डाका लागि चुनौतीपूर्ण छ । 

शिवकुमार मण्डल

मण्डलले विराटनगरलाई प्रदेशको राजधानी बनाउने र रंगेली–विराटनगर क्षेत्रभित्र औद्योगिक क्षेत्र विकास गर्ने एजेन्डा अगाडि सारेका छन् ।

माओवादीसँग तालमेलमै अप्ठ्यारो पर्ने अवस्था आए अर्याललाई कांग्रेसले समानुपातिकमा राख्न सक्ने चर्चा पनि छ । 

कांग्रेसमा अर्याललाई चुनौती दिने अन्य उम्मेदवार अगाडि आएका छैनन् । फरक–फरक पार्टीका भएपनि अर्याल र मण्डलबीच सम्बन्ध सुमधुर नै रहेको बताइन्छ ।

यस क्षेत्रबाट एमालेमा भने योगचन्द्र मण्डल उम्मेदवार बन्ने चर्चा छ । मण्डल जीवन विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष हुन् ।

जीवन विकासबाट लिएको ऋणको ब्याजमा छुट दिएर चुनाव जित्न सक्ने हिसाब उनले एमाले नेताहरूलाई सुनाएका छन् ।

माओवादी छाडेर एमालेमा लागेका दिलिप बगडियाले सोही लघुवित्तबाट लिएको ऋण तिरिदिएकाले रंगेलीमा चुनाव जितेको आरोप विपक्षीले लगाउने गरेका छन् ।

क्षेत्र नम्बर ६ मा शेखर र लालबाबु नै प्रतिस्पर्धी 

मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेसबाट हेभीवेट उम्मेदवार शेखर कोइराला दोहोरिने पक्कापक्की छ ।

पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार रहेर देउवालाई कडा टक्कर दिएका कोइराला लामो समयदेखि आफ्नो निर्वाचन क्षेत्रमै सक्रिय छन् ।

अघिल्लोपटक वाम गठबन्धनका एमाले उम्मेदवार लालबाबु पण्डितसँग झिनो मतले पराजित भएका कोइराला त्यसयता निरन्तर जनताको घरदैलोमा छन् ।

कहिले स्वास्थ्य जाँच गर्नेदेखि कहिले जनताका समस्या सुनेर त्यसको समाधानमा सघाउने काम शेखरले गरिरहेका छन् । पार्टी र सत्ता गठबन्धन दुवैमा शेखरलाई उम्मेदवार बन्न खासै चुनौती देखिएको छैन । 

बीचमा शेखर कोइराला

राष्ट्रिय सभाका पूर्व सदस्य रमेशजंग रायमाझीले कांग्रेसभित्र टिकटको दाबी गरेका छन्, तर शेखरलाई छाडेर पार्टीले उनलाई टिकट दिने सम्भावना नगण्य रहेको कांग्रेस कार्यकर्ताहरू नै बताउँछन् ।

शेखर आफ्नो क्षेत्रमा मात्र नभएर सिंगो जिल्लामा नै पार्टीको साख फर्काउने मिसनमा लागेको उनका निकटस्थहरू बताउँछन् ।

अघिल्लोपटक लालबाबुले ३३ हजार ९४१ मत प्राप्त गर्दा शेखरले ३३ हजार २६६ मत ल्याएका थिए ।

त्यतिबेला लालबाबु कहिले ट्याम्पो त कहिले साइकल चढेर चर्चित भएका थिए । सामान्य प्रशासन मन्त्री छँदा डीभी तथा पीआरवाला कर्मचारीविरुद्ध कडा रूपमा उत्रिएको लाभ पनि उनलाई चुनावमा भएको थियो ।

विराटनगरलाई प्रदेशको राजधानी बनाउँदै ग्रेट विराटनगरको योजना लिएर उनी चुनावी मैदानमा गएका थिए । विराटनगरदेखि चिनियाँ नाका किमाथांकासम्म जोड्ने कोशी राजमार्गको निर्माणलाई तीव्रता दिने लालबाबुको योजना थियो ।

एमालेबाट यसपटक पनि लालबाबु नै उम्मेदवारका रूपमा दोहोरिने सम्भावना छ ।

कतिपयले मोरङबाट यसपालि प्रचण्डका ज्वाइँ जीवन आचार्य पनि उम्मेदवार बन्न सक्ने चर्चा गरेका छन् । 

तर, माओवादीलाई अघिल्लोपटक जितेका दुई क्षेत्र आफ्नो भागमा पार्न नै चुनौती रहेकाले उनको सम्भावना क्षीण रहेको माओवादीकै नेता/कार्यकर्ता बताउँछन् ।


salt training

कमेन्ट गर्नुहोस्