
थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ ।
बाँके र बर्दियामा मात्रै करीब ४ हजार सिकलसेलका बिरामी छन् ।
बर्दियाको जनस्वास्थ्य अधिकृत कृष्णगोपाल चौधरीका अनुसार बर्दियाको बारबर्दिया नगरपालिका–११ फच्कहवाका पशुराम चौधरीलाई सिकलसेल एनेमिया रोगले निकै समस्या बनाएको छ । उपचारका लागि उनको लाखौं रकम खर्च समेत भएको छ ।
करीब ४० वर्ष उमेरका चौधरीलाई जन्मिँदै सिकलसेल रोग भएको हो ।
नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै थकित भएका पशुरामको आर्थिक अवस्था नाजुक भइसकेको छ । पछि भेरी अस्पताल नेपालगञ्जमा जाँच गराउँदा उनलाई सिकलसेल एनेमिया भएको थाहा भयो । पशुरामलगायत थुपै्र मानिस बारबर्दिया नगरपालिकामा सिकलसेलका बिरामी छन् ।
बारबर्दियामा स्थानीय तहमा २०७४ सालमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि बारबर्दियाका सबै स्थानीयको निःशुल्क रगत परीक्षण गरी तथ्यांक संकलन गरिएको पूर्व नगर प्रमख दुुर्गाबहादुर थारूले बताए । उनले बारबर्दियामा सिकलसेलका बिरामीको स्वास्थ्य जाँचका लागि नगर अस्पताल समेत आफूले निर्माण गरेको सुनाए ।
त्यसैगरी बाँके स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य शुरू भएपछि दुवै रोगका बिरामी बढ्दै गएको देखिएको छ । पालिकामा थारू समुदायका ९ र १० कक्षामा अध्ययनरत विद्यार्थी र अन्य बिरामीको जेठ १६ देखि असार १० गतेसम्म परीक्षण गरिएको थियो । अझै पनि स्क्रिनिङ जारी रहेको उनले जानकारी दिए ।
कतिपय बिरामीमा त विभिन्न शारीरिक समस्या देखिएपछि छिटो निको हुने आसमा निजी अस्पताल र मेडिकल धाउँदा लाखौं खर्च भएको र त्यस्ता शारीरिक समस्या निको पनि नभएको बताउँछन् ।
सिकलसेल एनेमियाका बिरामीलाई सरकारले १ लाख रुपैयाँसम्म निःशुल्क उपचार गर्छ भन्ने कुराको समेत जानकारी नहुँदा विभिन्न अस्पताल र मेडिकल कलेजमा सास्ती खेपिरहेका छन् ।