
एनएमबि बैंकले बिदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली बिद्यार्थीहरुलाई लक्षित गरी डिजिटल भुक्तानीको लागी फ्लाइवायर कर्पोरेशनसँग द्विपक्षीय समझदारी गरेको छ ।
यो समझदारीसँगै एनएमबि बैंक फ्लाईवायरको तर्फबाट विश्व भरका १,७०० भन्दा बढी शैक्षिक संस्थाहरुमा भुक्तानीको लागी नेपालको एकमात्र बैंक भएको छ ।
नेपालबाट बिदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले फ्लाईवायर मार्फत अमेरिका, क्यानडा र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीको लागी कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सक्नेछन् ।
अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी गर्न चाहने नेपाली ग्राहकहरुका लागि परम्परागत भुक्तानी प्रक्रिया निकै झन्झटिलो र सुरक्षा जोखिमयुक्त थियोे ।
त्यसै गरी रकम प्राप्त हुने संस्थामा पनि ट्युशन शुल्कहरु सजिलै ट्रयाक गर्न र बिभिन्न मुद्रामा भएको भुक्तानी स्वीकार गर्न पनि गाह्रो हुने तथा धेरै कागजी प्रक्रियाहरु पुरा गर्नु पर्ने बाध्यता थियो ।
हाल एनएमबि बैंक र फ्लाईवायरले संगसंगै अन्तर्राष्ट्रिय शैक्षिक खर्चको भुक्तानीको लागी एक नयाँ प्रकारको उच्च डिजिटल प्रविधियूक्त सेवा प्रदान गर्न लागेका हुन् ।
‘फ्लाईवायरसँगको सहकार्यले हामी ग्राहकहरुको लागी विभिन्न जोखिमहरु हटाई एक सुव्यवस्थित भुक्तानी प्रदान गर्ने लक्ष्य राख्द्छौं । ग्राहकहरुको लागि अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानीको लागी एकद्वार समाधानको स्रोतले गर्दा महत्वपूर्ण हुनेछ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने ।