२६ असार २०८३, शुक्रबार

पाल्पाको ऐतिहासिक ‘सन्तोष चलचित्र मन्दिर’: स्तरोन्नति भएर सञ्चालनमा आउँदै

साउन ५, २०७९
पाल्पाको ऐतिहासिक ‘सन्तोष चलचित्र मन्दिर’: स्तरोन्नति भएर सञ्चालनमा आउँदै

 पाल्पा सदरमुकाम तानसेनमा रहेको ‘सन्तोष चलचित्र मन्दिर’लाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याइने भएको छ । 

जिल्लाकै एकमात्र चलचित्र हल कोरोना महामारी शुरू भएसँगै ०७६ को चैतदेखि बन्द अवस्थामा छ । नेपालकै पुरानोमध्येको हल अब स्तरोन्नतिसहित सञ्चालनमा आउने भएको हो । 

हलका सञ्चालक सर्जुमान लिगलले स्तरोन्नतिको काम शुरू भएको जानकारी दिए । ‘पहिलेकै अवस्थामा चल्ने देखिएन । हलमा दर्शक तान्न केही आरामदायी र सुविधायुक्त चाहिने भयो । त्यसैले केही लगानी गरेर स्तरोन्नति गर्दैछौँ’ लिगलले लोकान्तरसँग भने, ‘स्तरोन्नतिको काम शुरूवात गरिसकेका छौँ । हल सञ्चालन हुन ५/६ महिना लाग्ला ।’ 

धेरै खर्च गर्ने मनस्थितिमा भने उनी छैनन् । ‘काठमाडौं, बुटवलजस्तो धेरै खर्च गरेर चलाउने ठाउँ पाल्पा होइन । चल्दा पनि चल्दैन’ लिगलले भने ।  

हलका सिटहरू परिवर्तन गर्ने, साउण्ड सिस्टम स्तरीय बनाउने, स्क्रिन परिवर्तन गर्नेलगायत हललाई अलिकति ‘मेटेनेन्स’ गरेर नयाँ ढंगले सञ्चालनमा ल्याइने लिगलले बताए । वि.स. २०२४ सालमा सर्जुमानका बुवा समाजसेवी स्वर्गीय भूयूमान लिगलले लाइसेन्स लिएर सिल्खानटोलमा रहेको मोहनकन्या स्कूलमा चलचित्र देखाउन शुरूवात गरेका थिए । 

दिउँसो पढाइ हुने स्कूलमा साँझको समय चलचित्र चल्थ्यो । उक्त समय नेपाली चलचित्रहरू भने विरलै आउँथ्यो । ३० को दशकदेखि विशालबजारमा ‘सन्तोष चलचित्र मन्दिर’ सञ्चालनमा आएको हो । ‘कान्छी’, ‘सिन्दुर’लगायतका थुप्रै चलचित्रहरू यस हलमा महिना दिनभन्दा बढी चलेका छन् । 

एक दशकअघिसम्म हलमा चलचित्र हेर्न दर्शकको बाक्लो भीड लाग्ने गर्दथ्यो । चलचित्र हेर्न पाल्पा मात्र नभई छिमेकी जिल्लाका गाउँगाउँबाट समेत मानिसहरू तानसेन आउँथे । त्यसले तानसेन बजारको चहलपहल समेत बढाउँथ्यो । 

२०७२ सालतिरबाट भने दर्शकहरू क्रमशः घटेको हल सञ्चालक लिगल बताउँछन् । त्यसयता दर्शकको उपस्थिति पातलो हुँदा कोरोनाअघि नै हल बन्द हुने अवस्थामा पुगिसकेको थियो । ‘कोरोना अघिदेखि नै संकटमा चलिरहेको थियो । हलमा दर्शकको उपस्थिति नै निकै कम हुने गरेको थियो’ लिगलले भने, ‘त्यतिबेला नै अब समयानूकूल बनाउनुपर्छ भनेका थियाँ । कोरोना महामारी शुरु भएर बन्द भयो । अहिले कोरोना मत्थर भएपछि स्तरोन्नतिको काम थालेका हौँ ।’ 

सुनसान बन्दै गएको जिल्लालाई गुल्जार बनाउन सबै क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउँदै आफ्नो तर्फबाट हल स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन लागेको लिगलले बताए । 

‘पहिले–पहिले पाल्पा आउनेहरू चलचित्र हेर्न जाने भनेर समेत आउँथे । त्यसबेला बजार गुल्जार देखिन्थ्यो’ उनले भने, ‘त्यो बेला मनोरञ्जनको साधन पनि हल थियो । अहिले त हातहात, घरघरमा मनोरञ्जनका साधनहरू पुग्यो । तर पनि, हल चलायो भने दर्शकका रुपमा आउँदा तानसेनमा पनि केही चहलपहल हुने, हल पनि चलिराछ भन्ने देखिन्छ भनेर स्तरोन्नति गर्न लागेका हौँ ।’ 

पाल्पामा सञ्चालनमा रहेको एकमात्र हल बन्द भएपछि कतिपय चलचित्रप्रेमी पाल्पाबासीहरू चलचित्र हेर्न बुटवल पुग्ने गरेका छन् । बारुदखान निवासी विज्ञान बज्राचार्य आफू साथीहरूसँग बुटवल पुगेर ‘कबड्डी ४’ चलचित्र हेरेको बताए । 

पाल्पा चलचित्र छायाँकनका निर्देशक एवं निर्माताको नजरमा भने विगतदेखि नै पर्दै आएको जिल्ला हो । पछिल्लो समय पनि पाल्पामा एकपछि अर्को चलचित्रहरू छायाँकन हुँदै आएका छन् । पाल्पामा छायाँकन गरिएको ‘परदेशी २’ दशैंमा प्रदर्शनमा आउँदैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्