
‘विष्णु माझीको गीत र भूकम्प उस्तै हो । कतिबेला आउँछ कसैलाई पत्तो हुँदैन’ केही साताअघि भिडियो निर्देशक स्मृति तिमिल्सिनाले लोकान्तरसँग भनेकी थिइन् । निर्देशक तिमिल्सिनाले भनेजस्तै विष्णु माझीको यस वर्षको तीज गीत सार्वजनिक भएको छ– उही गुपचुप रुपमै ।
लोकदोहोरीकी चर्चित एवं रहस्यमयी गायिका विष्णुले यसवर्ष गतवर्षको हिट गीत ‘चरी जेलैमा’को भाग-२ ल्याएकी हुन् । बुधबार साँझ सार्वजनिक ‘चरी जेलैमा २’ गीतमा विष्णुको एकल स्वर छ । श्रीमान सुन्दरमणि अधिकारीको शब्द÷संगीत, बिनोद बाजुरालीको एरेन्ज रहेको गीतमा महिमा आचार्यको कोरस गायन छ । गीतमा ‘चरी जेलैमा’कै संगीत सुन्न सकिन्छ । केही शब्दहरु समेत गतवर्षकै गीतको प्रयोग गरिएको छ ।
गीतको भिडियोमा यसअघिकै मोडल ललिता पौड्यालकै अभिनय छ । विष्णुमा अधिकांश गीतको भिडियोमा उनै ललिताको अभिनय रहँदै आएको छ । साथमा सुन्दरमणिले अभिनय गरेका छन् ।
शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणिले नै भिडियोको निर्माण एवं निर्देशन गरेका हुन् । ‘चरी जेलैमा’मा जस्तै यस गीतमा पनि तीज संस्कृतिको अन्तर्यलाई झल्काउँदै विवाहित चेलीको वेदनालाई प्रस्तुत गरिएको छ । खासगरी श्रीमान खराव पर्दा चेलिले पाउने पीडाहरुलाई गीतमा व्यक्त गरिएको छ । गतवर्षकै कथालाई यसमा निरन्तरता दिईएको हो । भिडियोलाई थुप्रै कोरसका साथ तामझामका साथ खिचिएको छ ।
शम्भु चालिसेको छायाँकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् । भिडियो सुन्दरमणिको आफ्नै सपना म्युजिक इन्डष्ट्रिजको युट्युबमार्फत सार्वजनिक भएको हो ।
गुपचुप सार्वजनिक
विष्णु माझी जति रहस्य छिन्, उनका गीत पनि उत्तिकै रहस्यमणी तरिकाले सार्वजनिक हुने गरेका छन् । अधिकांश कलाकारहरुले गीत रेकर्डिङका तस्वीरहरु सार्वजनिक गर्छन् । भिडियो छायाँकनका तस्वीरहरु सार्वजनिक हुने गरेका छन् । अहिले त पोष्टर र टिजर समेत सार्वजनिक गर्ने लहर सुरु भएको छ । यस्तोमा विष्णुको गीत भने सरप्राइजका रुपमा युट्युबमा सार्वजनिक हुने गर्छ । यस गीत पनि सोहीअनुरुप सार्वजनिक भएको हो ।
‘पुलतीको भट्टी’ भाग १८
‘चरी जेलैमा-२’ गीत ‘पुलतीको भट्टी’ भाग-१८ का रुपमा सार्वजनिक गरिएको हो । उनले हरेक वर्ष पुतलीको ‘पुलतीको भट्टी’को नयाँ भागका रुपमा तीज गीत ल्याउँदै आएकी छिन् । २०६१ सालदेखि हरेक तीजमा ‘पुलतीको भट्टी’को नयाँ भाग सार्वजनिक हुँदै आएको छ । यसअर्थमा विष्णुले एउटा तीज गीतको धेरै भाग ल्याउने गायिकाका रुपमा समेत रेकर्ड बनाएकी छिन् । निरन्तर रुपमा यति धेरै भागसम्म अरु कुनैपनि तीज गीत सार्वजनिक भएका छैनन् ।
कस्तो होला ‘चरी जेलैमा २’ ?
विष्णु माझीको तीज गीतहरुमध्ये गतवर्षको ‘चरी जेलैमा’ सर्वाधिक हिट मानिन्छ । गीतले १३ दिनमै युट्युबमा १ करोड भ्युज पाएको थियो । सर्वप्रथम उक्त गीतको शब्द र संगीतले नै धेरैको ध्यान तानेको थियो । सोहीकारण पनि यसवर्षको तीजमा सोही गीतको संगीतमा ‘चरी जेलैमा’ ल्याएको हुनुपर्छ । यस गीतका शब्दहरु पनि उत्तिकै मार्मिक छन् । सार्वजनिक भएको छोटो समयमै भिडियोले राम्रो भ्युज पाएको छ । प्रतिक्रियाहरु प्नि राम्रो आईरहेका छन् । यसवर्ष बजार तताउने तीज गीतहरु धेरै पनि आएका छैनन् ।
यसवर्षको विष्णु माझीको ‘चरी जेलैमा २’ले स्रोता÷दर्शकको ध्यान तान्न सक्छ । तर, विगतकै संगीत र केही शब्दहरु समेत समावेश गरिएकाले त्यत्तिको हिट भने हुन गाह्रो हुने संगीतकर्मीहरु बताउँछन् । एक निर्देशकले लोकान्तरसँग भने, –‘गतवर्षको गीत त्यस्तो हिट भएको थियो । यसवर्ष पनि विष्णु माझीको गीत विशेष नै आउँछ भन्ने थियो । केही विशेष त छ । तर, सोचेको जस्तो आएन ।’