
पाँचौं विश्व संस्कृत दिवसको अवसरमा प्रा.डा. दीर्घराज घिमिरेलाई ‘संस्कृत विशेष सम्मान’ र रोहिणीराज तिमिल्सिनालाई १ लाख रुपैयाँ राशिको ‘आरुणि संस्कृत शोधवृत्ति’ प्रदान गरिएको छ ।
काठमाडौंको वाल्मीकि विद्यापीठ प्रदर्शनीमार्गमा सम्पन्न पाँचौं विश्व संस्कृत दिवस मूल समारोहमा उनीहरूलाई सम्माान र शोधर्वत्ति प्रदान गरिएको हो ।
संस्कृत क्षेत्रमा विशेष योगदान गरेका संस्कृत विश्वविद्यालयका प्रा.डा. दीर्घराज घिमिरेलाई ‘संस्कृत विशेष सम्मान’ प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अभ्यागत नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकूलपति आचार्य पूर्णचन्द्र ढुंगेलले सम्मानपत्र तथा दोसल्ला ओढाएर उनलाई सम्मान गरे ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, संस्कृत केन्द्रीय विभागका उपप्राध्यापक रोहिणीराज तिमिल्सिनालाई १ लाख रुपैयाँ राशिको ‘आरुणि संस्कृत शोधवृत्ति’ पनि प्रदान गरिएको छ । कार्यक्रमका सभापति तथा विश्वसंस्कृत दिवसका संकल्पकर्ता डा. निर्मलमणि अधिकारी तथा युगनिर्माण महिला समाज नेपालका उपाध्यक्ष चाँदनी विकले संयुक्तरूपमा १ लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै शोधवृत्ति प्रदान गरेका छन् ।
पाँचौं विश्व संस्कृत दिवसकै आवसर पारेर शोधवृत्ति प्राप्त गरेका रोहिणीराज तिमिल्सिनाद्वारा संस्कृत भाषामा अनुवाद एवं सम्पादन गरिएको पुस्तक ‘राज्यराष्ट्रम्’को लोकार्पण पनि गरिएको छ । प्रमुख अभ्यागत आचार्य पूर्णचन्द्र ढुंगेल, सम्मानित व्यक्तित्व प्रा.डा. दीर्घराज घिमिर, जरोकिलो महाअभियानका संकल्पकर्ता डा. निर्मलमणि अधिकारी, प्रकाशक संस्था सहृदयता सामाज नेपालका अध्यक्ष आचार्य तिलकप्रसाद लुइटेल, तथा अनुवादक एवं सम्पादक रोहिणीराज तिमिल्सिनाले पुस्तकको संयुक्त रूपमा लोकार्पण गरे ।
पुस्तकका मूल लेखक डा. निर्मलमणि अधिकारी, डा. गोविन्दशरण उपाध्याय र सुशील गौतम हुन् ।
कार्यक्रमका प्रमुख अभ्यात आचार्य पूर्णचन्द्र ढुंगेलले विश्व संस्कृत दिवस जस्तो कार्यक्रम निरन्तर आयोजना हुनु सुखद् भएको बताउँदै यसले लिएको उद्देश्य प्राप्तिको शुभकामना व्यक्त गरे । पाँचौं विश्व संस्कृत दिवसको अवसरमा ‘संस्कृत विशेष सम्मान’बाट सम्मानित व्यक्तित्व प्रा.डा. दीर्घराज घिमिरेले ‘मिमांसा दर्शने धर्मस्य स्वरूपम्’ विषयमा प्रवचन दिए ।
कार्यक्रमका सभापति जरोकिलो महाअभियान तथा विश्व संस्कृत दिवसका संकल्पकर्ता डा. निर्मलमणि अधिकारीले प्रत्येक वर्ष तिथि अनुसार श्रावणपूर्णिमा अर्थात् ऋषितर्पणीका अवसरमा विश्व संस्कृत दिवस भनेर नेपालमा औपचारिक मान्यताको निर्णय गर्न र यसलाई वैश्विक मान्यताका लागि संयुक्त राष्ट्रसंघ समक्ष पनि पेश गर्न सरकारसँग विगतदेखिको जरो किलो प्रतिष्ठान नेपालको माग दाहोर्याए । भारत, चीन र अन्य देशका सरकारहरूले पनि यस प्रक्रियामा मद्दत गर्ने आशा पनि उनले व्यक्त गरे ।
कार्यक्रममा प्रस्तावना मन्तव्य राख्दै विश्व संस्कृत दिवस कार्यपरिषद् संयोजक सहाप्रा.डा. माधवप्रसाद पाण्डेयले डा. निर्मलमणि अधिकारीको अगुवाईमा जरोकिलो प्रतिष्ठान नेपालले विश्व संस्कृत दिवस मनाउन आह्वान गरेको बताउँदै संस्थाले भविष्यमा पनि संस्कृत भाषालाई प्रवद्र्धन गर्ने विभिन्न कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । पोहोर चौथो विश्व संस्कृत दिवसको मूल समारोहमा केही विशेष योजनाहरू घोषणा गरिएअनुसार नै यस वर्ष विशेष सम्मान र आरुणि संस्कृत शोधवृत्ति प्रदान गरिएको बताए ।
अनलाइन गुरुकूल र प्रणव सहितका मन्त्रका अनुष्ठान सम्बद्ध क्रियाकलाप पनि सञ्चालन रहेका जानकारी दिए ।
कार्यक्रममा सनातन धर्म महासंघका अध्यक्ष डा. माधवप्रसाद लामिछाने, वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकाल, जयतु संस्कृतम्का महासचिव डा. नवराज कट्टेल, काठमाडौं विश्वविद्यालय भाषा तथा आमसञ्चार विभाग डा. रामचन्द्र पौडेल, त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र कलेज दर्शन शास्त्र विभागका डा. गोविन्दशरण उपाध्याय, इन्टरनेसनल फेडेरेसन अफ सनातन धर्मका प्रा.डा. अजय रिसाल, सहृदयता समाज नेपालका अध्यक्ष आचार्य तिलकप्रसाद लुइटेल, प्रा.डा जीवन अधिकारी, वालमिकि विद्यापीठका उपप्राध्यापक माधव प्रसाद घिमिरे, हिमवत् आर्ष प्रज्ञाका अध्यक्ष कल्पना सेवानी घिमिरे, डा.मुकुन्दप्रसाद लामिछने, संस्कृत केन्द्रय विगागका गोविन्द घिमिरे (आकाशनिलम्), श्यामकृष्ण सुवेदी जरो किलो प्रतिष्ठान नेपालका अध्यक्ष बलराम प्रजापतिले पनि संस्कृत भाषाको संरक्षण र प्रवद्र्धनको विषयमा मन्तव्य राखेका थिए ।

पाँचौं विश्व संस्कृत दिवसको मूल समारोहको आयोजनामा नेपालबाट नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठ, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभाग, काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभाग, जरो किलो प्रतिष्ठान नेपाल, जयतु संस्कृतम् संस्थाको सहकार्य रहेको छ ।
यसैगरी सनातन धर्म महासंघ नेपाल, सहृदयता समाज नेपाल, युगनिर्माण महिला समाज नेपाल, राष्ट्रिय हिन्दू एकता मञ्च र हिमवत् आर्ष प्रज्ञा पनि आयोजक समूहमा रहेका छन् । अन्तरराष्ट्रिय क्षेत्रबाट इन्टरनेसनल फेडेरेसन अफ् सनातन धर्म, सहृदयता इन्टरनेसनल यूएसए र नेपाली हिन्दू फोरम युके लगायतका संस्थाहरू पाँचौं विश्व संस्कृत दिवसका आयोजक रहेका छन् ।
प्रत्येक वर्ष तिथिअनुसार श्रावण पूर्णिमा अर्थात् ऋषितर्पणीका दिनमा मनाइने विश्व संस्कृत दिवसको प्रारम्भ जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा विक्रम संवत् २०७५ सालदेखि भएको हो । यस वर्ष पाँचौं विश्व संस्कृत दिवस नेपाललगायत करीब ३० देशमा साउन २६ गतेदेखि ५ दिनसम्म लगातार रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मनाइँदैछ ।