०३ साउन २०८३, आइतबार

यसवर्षका तीज गीतः सबैलाई उछिन्दै ‘झमझम झम्काना’ सर्वाधिक हिट

यसवर्षका तीज गीतः सबैलाई उछिन्दै ‘झमझम झम्काना’ सर्वाधिक हिट

आज हरितालिका तीज । हिन्दू नेपाली महिलाहरूले हर्षोल्लासका साथ तीज मनाउँदैछन् । तीज र संगीतबीच धेरै पहिलेदेखि विशेष साइनो छ । तीजमा गीतमार्फत महिलाहरूले आफ्ना पीडा एवं भावनाहरू अभिव्यक्त गर्दै आईरहेका छन् । 

समयसँगै पछिल्ला वर्ष तीज गीतको शब्द, शैलीहरू भने फेरिँदै गएका छन् । यद्यपि, हरेक वर्ष दर्जनौं तीज गीतहरू सार्वजनिक हुँदै आएका छन् । गतवर्ष ‘चरी जेलैमा’, ‘कुरा बुझ्न पर्च’जस्ता तीज गीतहरू निकै हिट भएका थिए । यसवर्ष सार्वजनिक तीज गीतहरू विगतमा जस्तो हिट हुन भने सकेनन् । यद्यपि, केही गीतहरूले भने युट्युबमा राम्रो भ्युज पाएका छन् । 

यसवर्ष सार्वजनिक भएकामध्ये ‘झमझम झम्काना’ सर्वाधिक हिट सावित भएको छ । भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको यस गीतले तीजको दिनसम्म युट्युबमा १ करोड ६० लाख भ्युज पाएको छ । युट्युबमा १ करोडभन्दा बढी भ्युज पाउने यसवर्षको एकमात्र तीज गीत बनेको छ, ‘झमझम झम्काना’ ।

पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा रहेको ‘छन त मै राम्रो छैन’ बोलको तीज गीतले युट्युबमा ७३ लाख बढी भ्युज पाएको छ । गतवर्ष सर्वाधिक हिट तीज गीत दिएकी विष्णु माझीको यसवर्ष सार्वजनिक ‘चरी जेलैमा २’ भने भ्युजको हिसाबले तेस्रो नम्बरमा रहेको छ । यो गीतले युट्युबमा ७२ लाख भ्युज पाएको छ । 

‘पाउमा पाउजु छैन बरिलै’ बोलको तीज गीतले युट्युबमा ६९ लाख भ्युज पाएको छ । यो चलचित्र ‘राधा’मा समावेश गीत हो । 

सज्जा चौलागाईँ र स्वस्तिका ढकालको स्वर रहेको गीतमा प्रियंका कार्की र सृष्टि श्रेष्ठ प्रस्तुत छन् । 

सूर्य खड्का र रचना रिमालको स्वर रहेको तीजलक्षित गीत ‘ढुंगेधारा’ले युट्युबमा ४९ लाख बढी भ्युज पाएको छ । यी बाहेक अन्य केही गीतहरूले समेत युट्युबमा राम्रो भ्युज पाएका छन् । तर, धेरै तीज गीतहरू अपेक्षित चल्न सकेनन् । कतिपय मौलिक तीज गीतहरूले समेत युट्युबमा भ्युजको खडेरी सामना गर्नुपरेको देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्