०४ साउन २०८३, सोमबार
दशैं टिकटको चटारो

दशैंलाई गाडीको टिकट नखुल्दै हवाईतर्फ प्याक : सस्तो टिकट खुल्दैन, महंगो पनि धमाधम बूकिङ

भदौ १५, २०७९
दशैंलाई गाडीको टिकट नखुल्दै हवाईतर्फ प्याक : सस्तो टिकट खुल्दैन, महंगो पनि धमाधम बूकिङ

हिन्दू नेपालीहरूको महान् चाड बडादशैं शुरू हुन एक महिना पनि बाँकी नरहँदा स्थलमार्ग हुँदै घर फर्किने सवारीहरूको टिकट बूकिङ खुल्ने सुरसार छैन । तर, हवाई मार्ग हुँदै यात्रा गर्नेका लागि भने केही गन्तव्यको टिकट प्याक भइसकेको छ ।

काठमाडौंबाट पूर्वको तुम्लिङटार जाने हवाई यात्रुका लागि टिकट सकिइसकेको छ भने कर्णालीको सुर्खेत जाने टिकट पनि पाउन मुश्किल छ । यी गन्तव्यमा बुद्ध एयरले मात्रै उडान गर्छ ।

तुम्लिङटार र सुर्खेतमा बुद्धको दैनिक एक–एक उडान छ । उडान संख्या थोरै भएकाले पनि चाँडै टिकट सकिएको बुद्ध एयरले जानकारी दिएको छ ।

काठमाडौंबाट जाने दुर्गम गन्तव्यमा उडान नै कम छ । दुर्गम उडान गर्नेमा तारा, सीता, समिट र नेपाल वायुसेवा निगम छन् ।

दशैंका लागि अनलाइन प्रणालीबाट सम्बन्धित वायुसेवाले जतिबेला पनि लिन पाइने गरी टिकट बूकिङ खुला राखेका कारण एक महिना बाँकी हुँदा चल्तीका गन्तव्यमा पनि ५० प्रतिशत अकुपेन्सी भइसकेको छ । 

काठमाडौंबाट दशैंमा बाहिरिने आमनेपाली हवाई यात्रुका लागि धमाधम टिकट बूकिङ भइरहेको हो ।

दशैंको सुरसार नै नगरेका सर्वसाधारणले जहाजबाट जाने तयारी गरेका छन् भने तिनका लागि सामान्य अवस्थामा जस्तो सस्तोमा टिकट पाइँदैन ।

वायुसेवा कम्पनीहरूले एक त आम्दानीको उपयुक्त मौसम भएको र अकातिर यात्रुको खडेर नहुने भएकाले सस्तो टिकटका लागि बिक्री नै खुला गर्दैनन् । 

दशैंको फूलपातिको अघिल्लो दिन र त्यसको एक महिना अगाडि भदौको टिकट शुल्क हेर्दा दोब्बरसम्म अन्तर परेको छ । अहिले यात्रुहरू कम हुँदा प्रत्येक उडानमा सीमित कोटामा सस्तो टिकट पनि उपलब्ध छ ।

तर, दशैंको समयमा वायु सेवा कम्पनीहरूले लिन मिल्नेसम्मको अधिकतम शुल्क लिने गरेका छन् ।

काठमाडौंबाट बाहिरिने यात्रुको चाप हुने र मागे जति टिकट दिनै नसक्ने भएकाले सस्तो टिकट दिएर यात्रु आकर्षित गर्नुपर्ने अवस्था नरहेको वायु सेवा कम्पनीका कर्मचारीहरू बताउँछन् ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने चाडबाड लागिसकेको भएपनि अझै हवाई यात्रुको अकुपेन्सी अपेक्षाअनुसार बढ्न नसकेको तर्क गरे । उनले भने, ‘बूकिङ अनलाइनबाट खुली नै रहेको छ । वायुसेवा कम्पनीले ठूला जहाजबाट सेवा दिइरहेकाले पनि टिकट नै नपाउने अवस्था भने छैन ।’

अनलाइन प्रणाली भएकाले यात्रुले जहिले टिकट लिए पनि पाउने अवस्था रहेको दाबी सम्बन्धित वायुसेवाको छ ।

अनलाइन प्रणालीमा हवाई उडानका लागि ४/५ महिनापछि (जनावरी तथा फेब्रुअरी)सम्मको टिकट पनि लिन पाउने व्यवस्था छ ।

जतिपछिको टिकट भयो उति सस्तो पाइन्छ । तर, यो नियम दशैंबाहेक अरू बेलामा मात्र लागू हुने गरेको छ ।

पहिलाजस्तो एकमहिना अगाडि मात्रै खुला हुने र टिकट लिन यात्रुको भीड लाग्ने अवस्था नरहेको यती एयरलाइन्सका प्रवक्ता बर्तौलाले बताए । 

गत वर्ष कोरोना महामारीले दुःख दिएकाले स्थल मार्गको तुलनामा हवाई टिकटमा चाप पर्ने गरेको थियो ।

अहिलेसम्मको उडान तालिका अनुसार दशैंलाई टिकट पाउने अवस्था भएकाले नै थप उडानको तयारी नभएको बर्तौलाले बताए ।

उनका अनुसार अहिले ठूला जहाज भएकाले दैनिक १५/१६ हजार यात्रुलाई सेवा दिन सक्ने क्षमता बनेको छ ।

दशैंका समयमा किन सस्तो टिकट उपलब्ध नगराएको भन्ने प्रश्नमा वायु सेवा कम्पनीहरूको आफ्नै तर्क छ ।

काठमाडौंबाट जाँदा भरिभराउ भए पनि फर्किँदा रित्तै हुने भएकाले सस्तो टिकट उपलब्ध गराउन नसकिएको बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले बताए ।

उनले भने, ‘यात्रुको बूकिङ उत्साहजन नै भएकाले सबैजसो गन्तव्यमा नर्मल (महंगो) भाडादरमै यात्रुले टिकट लिन थालिसकेका छन् ।’

दशैंअगाडि काठमाडौंबाट बाहिरिने र दशैं सकिएपछि भित्रिने यात्रुको चाप हुन्छ । एकतर्फी यात्रु हुने हुँदा सामान्य अवस्थामा जसरी सस्तो टिकट उपलब्ध गराउन नसकिएको उनको दाबी छ ।

नियामकले तोकिदिएको अधिकतम भाडाको सीमाभित्रै रहेर सबै वायुसेवाले सेवा दिने गरेको कर्णले बताए ।

गुण एयरलाइन्सका वरिष्ठ मार्केटिक निर्देशक प्रज्ज्वल थापा भने अरू बेला यात्रु खोज्दै हिँड्नुपर्ने भए पनि चाडबाडका बेला यात्रुहरू आफैं आउने गरेको बताए । 

यात्रुको खर्च गर्ने क्षमता बढेको, स्थालमार्गको तुलनामा छिटो र सहज सेवा लिन सकिनेदेखि विभिन्न बाध्यताले जहाज चढ्नेसम्मका कारण अहिलेको नर्मल समयमा पनि वायुसेवाको अकुपेन्सी ९५ प्रतिशतसम्म हुने गरेको उनले जानकारी दिए ।

दशैंको घटस्थापनाको दिनदेखि टीकाको दिनसम्म भने काठमाडौंबाट बाहिर जाने टिकट पाउनै गाह्रो हुन्छ । फर्कँदा पनि टीकाको भोलिपल्टदेखि पूर्णिमाको दिनसम्म यात्रुको चाप बढी हुने देखिए पनि विगतका वर्षजस्तो टिकटै नपाउने अवस्था भने अहिले न्यून रहेको थापा बताउँछन् ।

सरकारले हवाई इन्धनको शुल्क बढेकाले यो दशैंमा विगतको भन्दा यात्रुलाई टिकट महंगो भने लाग्छ तर वायुसेवा कम्पनीले भने कम मार्जिनमै काम गरेर सेवा दिइरहेको दाबी पनि वायुसेवा कम्पनीहरूको छ ।

हवाई टिकटमा इन्धनको हिस्सा नै ४० प्रतिशतभन्दा बढी हुने गरेको छ । इन्धनको शुल्क घटाउने हो भने अहिले पाइरहेको गन्तव्यमा जति पैसा तिर्नुपर्छ त्यो भन्दा करीब आधा सस्तोमै टिकटको सेवा दिन सकिने थापा बताउँछन् ।

इन्धनको शुल्क सस्तो हुँदा र यात्रु आकर्षिक गर्नुपर्ने बेला वायुसेवाले सस्तोमै टिकट उपलब्ध गराएको सम्बन्धित वायुसेवाको भनाइ छ ।

यसअघि काठमाडा–पोखराको हवाई टिकट २ हजार रुपैयाँमा नै पाइने अवस्था थियो । अहिले इन्धनकै मूल्य बढेको र एकतर्फी यात्रु हुने हुँदा यो गन्तव्यमा न्यूनतम भाडा नै ३९ सय रुपैयाँ छ ।

दशैं शरूरु भएपछि भने यस्तो टिकटदर न्यूनतम नै ५८६० हुन्छ । यो गन्तव्यमा वायुसेवाले अधिकतम ६९८५ रुपैयाँसम्म भाडा लिने गरेका छन् । 

पोखरा आन्तरिक वायुसेवा लागि सबैभन्दा बढी उडान हुने क्षेत्र हो । पोखरामा श्री, गुण, यती र बुद्ध एयरले नियमित उडान गर्ने गरेका छन् । 

यी वायुसेवामा पनि सबैभन्दा बढी उडान बुद्ध एयरको हुन्छ । यो वायुसेवाले भने हालका लागि न्यूनतम ५३८५ रुपैयाँसम्मका टिकट फिर्ता हुँदैनन् भने ५७१५ रुपैयाँदेखि ६९८५ रुपैयाँसम्मका टिकट मात्रै फिर्ता हुने सम्बन्धित वायुसेवा कम्पनीले जानकारी दिएका छन् । 

शहरी क्षेत्रका प्रमुख गन्तव्यमा जान कति लाग्छ ? (न्युनतम र अधिकतम भाडा रु.मा)

salt training

कमेन्ट गर्नुहोस्