
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सांस्कृतिक वैभवलाई विश्वसामु चिनाउन आवश्यक रहेको बताएकी छन् । सोमवार काठमाडौंमा राष्ट्रिय कविता महोत्सव २०७९ का विजेता कविहरूलाई पुरस्कार वितरण गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले परापूर्व कालदेखिका ज्ञानग्रन्थ र विज्ञानको महत्वलाई उजागर गर्न आवश्यक रहेको बताइन् । उनले नेपाली समाजका युगौंदेखि रहँदै आएका लोकसाहित्य एवं साहित्यिक कृतिहरूलाई संकलन गरी बाहिर ल्याउनुपर्ने आवश्यक रहेको बताइन् ।
राष्ट्रपति भण्डारीले नेपाली सिर्जनाहरू पनि विश्व साहित्यको उत्कृष्ट कोटीमा पर्नसक्छन् भन्ने कुरालाई अनुवादमार्फत विश्वसामु पुर्याएर प्रमाणित गर्नु आजको आवश्यक्ता रहेको बताइन् ।
‘नेपाली भूमि ज्ञान भूमि हो । यस भूमिमा लुकेर बसेको सांस्कृतिक वैभवलाई बाहिर निकालेर विश्वसामु चिनाउन अझै धेरै कामहरु गर्न बाँकी छ । यो भूमिमा अनेकौँ कालदेखिका ज्ञानग्रन्थ, विज्ञानको महत्वलाई उद्घाटन गर्नुपर्छ । नेपाली समाजका युगौंदेखि रहँदै आएका लोकसाहित्य एवं साहित्यिक कृतिहरुलाई संकलन गरी बाहिर ल्याउनुपर्ने छ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘नेपाली सिर्जनाहरू पनि विश्व साहित्यको उत्कृष्ट कोटीमा पर्नसक्छन् भन्ने कुरालाई अनुवादमार्फत विश्वसामु पुर्याएर प्रमाणित गर्नुपर्छ ।’
राष्ट्रपति भण्डारीले कविता महोत्सवले अन्तर पुस्ताको सम्बन्धलाई स्थापना गर्ने र नयाँ पुस्तालाई सिर्जना कर्ममा समर्पित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।