
नेपाल एयरलाइन्सको जहाजमा टायर फेर्न ढिलो हुँदा दिल्ली उडान ५ घण्टा ढिलो भएको छ ।
निगमको ९ एन–एएलजेड कलसाइनको वाइडबडी ए–३३० जहाजको टायर फेर्न बुधबार दिउँसो करीब साढे १ बजेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको छ ।
सोही समयमा दिल्ली उड्नुपर्ने जहाज प्राविधिक कारण उडान ढिलो भएको निगमका एक उच्च अधिकारीले बताए । उनकाअनुसार, जहाजमा आउने प्रविधिक समस्या समाधान गर्न समय लाग्दा उडानमा ढिलो भएको हो ।
निगमले नियमितरूपमा परिवर्तन गर्नुपर्ने पछाडिको टायर निगम व्यवस्थापनले फेर्न नसक्दा उडान नै रोकिने अवस्था आएको हो । यस्तो समस्या उड्डयन क्षेत्रको लागि सामान्य हुने भए पनि नेपाल एयरलाइन्सको भने जहाज संख्या नै कम भएका कारण उडान नै प्रभावित हुन पुगेको उनको भनाइ छ ।
निगमको उक्त जहाजबाट २७० जना यात्रु लिएर दिल्ली जानुपर्ने थियो । उडान ढिलो हुँदा अब साँझ ५ बजे मात्रै उडान हुने निगमले बताएको छ ।
निगमको कमजोरीका कारण उडान प्रभावित हुँदा यात्रु भने ५ घण्टासम्म विमानस्थलमै अलपत्र परेका छन् ।