०२ साउन २०८३, शनिबार

टीकापुर प्रादेशिक अस्पतालमा शय्याको अभाव हुँदा उपचारमा समस्या

टीकापुर प्रादेशिक अस्पतालमा शय्याको अभाव हुँदा उपचारमा समस्या

दैनिक बिरामीको चाप बढ्न थालेपछि कैलालीको  टीकापुर प्रादेशिक अस्पतालमा शय्याको अभाव हुन थालेको छ ।

५१ शय्याको अस्पतालमा दैनिक ५०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । मौसमको परिवर्तनसँगै अस्पतालमा सेवा विस्तार भएपछि बिरामीको संख्यामा वृद्धि भएको हो ।

‘हामीसँग अस्पतालमा ५१ शय्या मात्रै छन् । बिरामीको चापलाई अहिलेको शय्या संख्याले थेग्न सक्ने अवस्था छैन,’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले भने, ‘प्रदेश सरकारसँग १०१ शय्याको अस्पताल बनाउनको लागि प्रस्ताव पेश गरेका छौं । त्यसको कार्यान्वयन छिटो हुन सकेन भने अस्पतालको सेवा नै प्रभावित हुनसक्ने देखिएको छ ।’

उनले कञ्चनपुरदेखि सुर्खेतसम्मका बिरामी अस्पतालमा उपचारको लागि आउने गरेका छन् । अस्पतालमा विशेषज्ञ सेवा थपिँदै गएपछि निजी अस्पतालभन्दा सस्तोमा उपचार हुने भएपछि अस्पतालमा टाढाका बिरामी पनि अस्पताल पुग्ने गरेको अध्यक्ष सोडारी बताउँछन् ।

ल्याप्रोसकोपी सेवा, फिजिसियन, स्त्रीरोग सेवा, बालरोग विषेशज्ञ सेवा, हाडजोर्नी विशेषज्ञ सेवा लगायतका सेवा अस्पतालमा भएपछि टीकापुर बाहिर नेपालगञ्ज, धनगढीसम्म उपचारका लागि पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । टीकापुरमै उपचार पाइन थालेपछि चर्को एम्बुलेन्स खर्च, त्यहाँको बसाइँ खर्च बचेको अस्पतालमा उपचारका लागि आएका सेवाग्राही विक्रम चौधरी बताउँछन् ।

प्रदेशको शहरी विकास कार्यक्रम अन्तर्गत अस्पतालले व्यवस्थित पार्किङको व्यवस्थापन गरेको छ । अस्पतालको बाहिर सडकमा सवारी पार्किङले दुर्घटनाको जोखिम बढाएको बताउँदै पार्किङस्थल निर्माण भएपछि अस्तव्यस्त सवारीसाधन देखिन छाडेको अध्यक्ष सोडारीले बताए ।

उनले भने, ‘पहिलेको भन्दा अस्पताललाई व्यवस्थापन गर्दै लगेका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्