०२ साउन २०८३, शनिबार
सरसर्ती २४ घण्टा

सरकार र मिटरब्याजपीडितबीच ९ बुँदे सहमतिदेखि विष्णु पौडेल रिहासम्म

साउन २, २०८३
काठमाडौं
सरकार र मिटरब्याजपीडितबीच ९ बुँदे सहमतिदेखि विष्णु पौडेल रिहासम्म

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

चलचित्र मास्टर्नीको प्रचारात्मक गीतलाई लिएर विवाद बढिरहेका बेला गायक तथा सर्जक दुर्गेश थापाले पनि सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।

अभिनेत्री तथा निर्माता प्रियंका कार्कीले माफी मागेको केही समयपछि थापाले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै शिक्षक समुदाय र दर्शकको भावनामा ठेस पुगेकोप्रति दुःख व्यक्त गरेका हुन्।

थापाले चलचित्रको प्रचारका लागि तयार पारिएको उक्त गीतप्रति दर्शक, श्रोता तथा शुभचिन्तकबाट प्राप्त माया, समीक्षा, आलोचना र सुझावलाई खुलेर स्वीकार गरेको बताएका छन्। गीतको उद्देश्य कुनै पनि पेसा, व्यक्तित्व वा कसैको सम्मान र भावनामा चोट पुर्याीउने नरहेको उनको भनाइ छ।

उनले उक्त गीत विशुद्ध रूपमा चलचित्रको प्रचार–प्रसारलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको उल्लेख गर्दै केही शब्द र प्रस्तुतीकरणका कारण शिक्षक–शिक्षिका तथा गुरुजनको भावनामा ठेस पुगेको महसुस भएको बताएका छन्। त्यसप्रति आफू र सम्पूर्ण टिमका तर्फबाट हृदयदेखि नै क्षमायाचना गरेको उनले उल्लेख गरेका छन्।

थापाले शिक्षकहरू समाजका मार्गदर्शक, ज्ञानका दीप तथा सम्मानका पात्र भएको भन्दै उनीहरूप्रति आफ्नो सम्मान सधैं अटल रहने बताएका छन्।

विवादपछि प्राप्त सुझावलाई सम्मान गर्दै ‘मास्टर्नी’ गीत आफ्नो युट्युब च्यानल र अन्य सबै सामाजिक सञ्जालबाट आधिकारिक रूपमा हटाइएको जानकारी पनि उनले दिएका छन्।
००००
बर्डफ्लुको प्रभावका कारण घटेको कुखुराजन्य उत्पादनको खपत बढ्न थालेको छ । देशका विभिन्न ठाउँमा बर्डफ्लु देखिएपछि खपत घटेको थियो । यससँगै घटेको मूल्यसमेत बढ्न थालेको छ ।

बर्डफ्लुका कारण मासुको खपतमा गिरावट आएको थियो । अण्डामा कम प्रभाव परेको भन्दै पूर्ववत् अवस्थामा फर्किन थालेको किसान बताएका छन् ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले अण्डा र मासुको खपत पूर्ववत् अवस्थामा आउन थालेको बताए ।

उनका अनुसार दैनिक आठ लाख किलो हाराहारी मासु खपत हुने गरेकामा घटेर छ लाख किलोमा झरेको थियो । अहिले पुनःबढ्ने क्रम शुरू भएको छ ।
००००
सूचना तथा सञ्चार मन्त्रालयले नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणालीअन्तर्गत अघि सारेको १० बुँदे सुधारात्मक कार्ययोजनाअनुसार नेपाल टेलिकमको हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ सिम अनलाइनमार्फत प्राप्त गर्न सकिने सेवा बिहीबारदेखि सञ्चालनमा आएको छ ।

डिजिटल सेवा विस्तार, सेवा प्रवाहलाई सहज बनाउने र ग्राहकमैत्री प्रणाली विकास गर्ने उद्देश्यअनुसार टेलिकमले उक्त सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिए ।
००००
नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेश सत्ता सहकार्यमा दरार देखिएका बेला लुम्बिनी प्रदेशमा भने यही गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल अगाडि बढेको छ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश नेतृत्वले केन्द्रको निर्णयभन्दा फरक ढंगले प्रदेशको राजनीतिक अवस्था र यसअघि भएको सहमतिका आधारमा एमालेसँगको सहकार्य कायम राख्नुपर्ने धारणा राख्दै आएको छ।
००००
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्र बैंकमा राजनीतिक अभीष्ट साँधेर गभर्नरलाई पनि निजामती कर्मचारीजस्तै एउटा कार्यालयबाट अर्को कार्यालयमा सरुवा गर्ने र निकाल्ने जस्तो कार्य गर्न नहुने बताएका छन् ।

प्रतिनिधिसभाको अर्थ समितिले शुक्रबार सिंहदरबारमा आयोजना गरेको नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल कार्यक्रममा अर्थमन्त्री डा वाग्लेले राष्ट्र बैंकको गभर्नरलाई राजनीतिक हस्तक्षेप गरेको खण्डमा घातक परिणाम आउने बताए ।
००००
मिटरब्याजपीडित र सरकारबीच ९ बुँदे सहमति भएको छ । सहमतिसँगै विगत ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन स्थगित भएको छ।

गत असार २५ गते जनकपुरको त्रितियागाछीबाट शुरू भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि असार ३२ गते गृहमन्त्री सुधन गुरुङ र पीडित प्रतिनिधिबीच काठमाडौंमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो।
००००
विशेष अदालतले पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्ने आदेश गरेको छ ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले शुक्रबार यस्तो आदेश गरेको हो ।
विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार पौडेल  र व्यवसायी दीपक भट्टसहित १६ पक्षविरुद्ध दायर भएको सम्पत्ति शुद्धीकरण सम्बन्धी पूरक अभियोग पत्रको थुनछेक सुनुवाइपछि यो आदेश भएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलले व्यवसायी दीपक भट्टसँगको मिलेमतोमा 'श्रीराम टोवाको उद्योग प्रा.लि.'को शेयर न्यून मूल्यमा दीपक भट्टको कम्पनी 'हिमालयन एसेट म्यानेजमेन्ट प्रा.लि.' लाई दिलाई मतियारको भूमिका खेलेको आरोप लगाएको थियो । अदालतको आदेशसँगै उनी शुक्रबार नै रिहा भएका छन् । 
००००
नेपालको कानूनले पहिलोपटक बन्दीहरूको प्रजनन अधिकारलाई स्वीकार गरेको छ । कारागार नियमावली,२०८३ मा कैदी बन्दीको अधिकारसम्बन्धी थुप्रै नयाँ व्यवस्था गरेको छ ।

२०२० सालमा राजा महेन्द्रको पालामा बनेको कारागार नियमावलीलाई खारेज गरी अहिले नयाँ नियमावली जारी भएको हो ।
००००
बर्डफ्लु संक्रमण फैलिएपछि करिब एक महिनादेखि बन्द ललितपुरको जावालाखेलस्थित सदर चिडियाखाना शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।
५ असारदेखि बन्द चिडियाखाना संक्रमण नियन्त्रणमा आएपछि अवलोकनका लागि खुलाइएको हो ।
००००
सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानूनबमोजिम सम्पत्ति विवरण बुझाउन स्मरण गराएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) को प्रयोजनार्थ सङ्घीय संसद्का सदस्यहरूलाई आर्थिक वर्ष २०८२/८३ समाप्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको हो ।
००००
केही समययता निरन्तर घटिरहेको शेयर बजारमा शुक्रबार निकै ठूलो उछाल आएको छ ।
साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से ७९ दशमलव ७४ अंकले बढेर २६७७ दशमलव ५४ बिन्दुमा कायम भएको छ ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको बताएका छन् ।
पार्टीको नयाँ वेबसाइट तथा मोबाइल एप सार्वजनिकीकरण कार्यक्रममा शुक्रबार उनले एमाले परिस्थितिसँग आत्तिने र मात्तिने नगर्ने बताएका हुन् ।
००००
सरकारले करारमा कार्यरत कर्मचारी व्यवस्थापनका लागि सातबुँदे निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणबाट प्रभावित हुने करार कर्मचारीको व्यवस्थापनसम्बन्धी नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ ।

यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच उक्त समझदारीपत्रको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । हाल नेपाल औषधि लिमिटेडबाट ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन् ।
००००
बागमती प्रदेश सरकारका मन्त्रीहरूको कार्यविभाजन गरिएको छ। बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा कार्यविभाजन गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको छ। 

यसअघि गत वैशाखमा बागमती प्रदेश सरकारले प्रशासनिक खर्च घटाउन मन्त्रालयको संख्या कटौती गर्ने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयन भएसँगै बागमती प्रदेशका १४ मन्त्रालय घटाएर आठ मन्त्रालय कायम गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्