१० साउन २०८३, आइतबार
मेसी कि यामल ?

को बन्ला वर्षको उत्कृष्ट खेलाडी ? विश्वकप फाइनलले बदल्न सक्छ बालोन डी'ओरको दौड ?

साउन २, २०८३
काठमाडौं
को बन्ला वर्षको उत्कृष्ट खेलाडी ? विश्वकप फाइनलले बदल्न सक्छ बालोन डी'ओरको दौड ?

न्यूयोर्क न्यू जर्सी स्टेडियममा आइतबार राति जब स्पेन र अर्जेन्टिना फिफा विश्वकप २०२६ को उपाधिका लागि मैदान उत्रिनेछन्, खेलाडीहरूको मस्तिष्कमा ऐतिहासिक विश्वकप ट्रफी उचाल्नेबाहेक अन्य कुनै सोच हुने छैन । तर, यो फाइनलको नतिजा केवल नयाँ विश्व विजेता घोषणा गर्ने कुरामा मात्र सीमित हुने छैन, यसले सन् २०२६ को प्रतिष्ठित 'बालोन डी'ओर'को विजेता को बन्ने भन्ने कुराको पनि फैसला गर्न सक्नेछ ।

लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको एकछत्र वर्चस्वको युग सकिए पनि हालका वर्षहरूमा बालोन डी'ओरको विजेता को बन्ने भन्ने कुराको सामान्य अनुमान पहिले नै हुने गर्दथ्यो । तर, सन् २०२६ को दौड इतिहासकै सबैभन्दा कडा र फरक देखिएको छ। यस पटक थुप्रै दाबेदारहरू मैदानमा छन् र उपाधिको छिनोफानो फाइनल खेलको अन्तिम मिनेटसम्म पनि कता ढल्किने हो भन्न सकिने अवस्था छैन।

फुटबल इतिहास र तथ्याङ्कले के देखाउँछ भने, कुनै पनि खेलाडीले सोही वर्ष च्याम्पियन्स लिग वा कुनै ठूलो अन्तर्राष्ट्रिय ट्रफी (विश्वकप, युरो कप, कोपा अमेरिका) नजिती बालोन डी'ओरको शीर्ष स्थानमा पुग्न निकै कठिन हुन्छ। विगतका १९ वटा बालोन डी'ओर अवार्डमध्ये केवल चार पटक मात्र यस्ता खेलाडीले अवार्ड जितेका छन् जसले ती ठूला उपाधि जितेका थिएनन्। ती चारमध्ये तीन पटक मेसी (२०१०, २०१२, २०१९) र एक पटक रोनाल्डो (२०१३) ले यो असम्भव जस्तो देखिने उपलब्धि हासिल गरेका थिए।

यो स्थापित ट्रेन्डका कारण ह्यारी केन, एर्लिङ हालान्ड, किलियन एम्बाप्पे, माइकल ओलिस, डेक्लान राइस र जुड बेलिङ्घम जस्ता खेलाडीहरूले क्लब र देशका लागि व्यक्तिगत रूपमा सानदार गोल गरे पनि बालोन डी'ओरको बलियो दौडमा पछि पर्ने सम्भावना बढेको छ। अर्कोतर्फ, सन् २०२५ को बालोन डी'ओर विजेता ओसमान डेम्बेले र उनका पेरिस सेन्ट जर्मेनका सहकर्मी खिचा कभारात्स्खेलियाले यस सिजन पनि च्याम्पियन्स लिग जितेका कारण उनीहरूको चर्चा जारी छ। तर, अहिले सबैको नजर विश्वकप फाइनलमा भिड्न लागेका दुई प्रमुख दाबेदार मेसी र लामिन यामलमा सोझिएको छ।

३९ वर्षको उमेरमा पनि मेसीले सन् २०११ मा पेप ग्वार्डिओलाको बार्सिलोनामा छँदा जस्तै जादुमयी प्रदर्शन गरिरहेका छन् । अमेरिकी क्लब इन्टर मियामीका लागि उनको प्रदर्शन उच्च छँदैछ, जारी विश्वकपमा ८ गोल र ४ असिस्ट गर्दै उनले अर्जेन्टिनालाई लगातार दोस्रो पटक फाइनलमा पुर्‍याएका छन्। मेसी हाल गोल्डेन बुटको दौडमा एम्बाप्पे भन्दा एक असिस्टले अगाडि रहँदै शीर्ष स्थानमा छन् ।  यदि आइतबार अर्जेन्टिनाले जितेमा मेसी इतिहासमै आफ्नो देशलाई लगातार दुई पटक विश्वकप दिलाउने पहिलो कप्तान बन्ने छन्, जसले उनको नवौँ बालोन डी'ओरको सम्भावनालाई लगभग पक्का गर्नेछ।

१९ वर्षका युवा विङ्गर यामलले स्पेनलाई युरो २०२४ जिताउँदा जस्तो चम्किलो व्यक्तिगत तथ्याङ्क नदेखाए पनि उनी स्पेनिस टोलीका मुख्य कडी हुन् । बार्सिलोनाका लागि यो सिजन ४५ खेलमा २४ गोल र १८ असिस्ट गर्दै उनले उत्कृष्ट प्रदर्शन गरेका थिए, यद्यपि चोटका कारण उनले सिजनको अन्तिम महिना गुमाए । बार्सिलोनाले ला लिगा जिते पनि च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएकाले यामललाई विश्वको उत्कृष्ट खेलाडी बन्न आइतबार स्पेनले विश्वकप जित्नै पर्ने दबाब छ। उनी सन् २०२५ को बालोन डी'ओरमा दोस्रो स्थानमा रहेका थिए।

बायर्न म्युनिखका लागि ह्यारी केनले यस सिजन ५१ खेलमा ६१ गोलको अविश्वसनीय कीर्तिमान बनाए र टोलीलाई लिग तथा कपको डबल उपाधि दिलाए। तर, च्याम्पियन्स लिग र विश्वकप दुवैको सेमिफाइनलमा बेहोरेको पराजय उनका लागि प्रत्युत्पादक बन्न सक्छ। केनका सहकर्मी २४ वर्षे ओलिसले पनि सिजनमा २२ गोल र ३१ असिस्ट गर्नुका साथै विश्वकपमा सर्वाधिक ५ असिस्ट गरे पनि फ्रान्स सेमिफाइनलमा स्पेनसँग २-० ले पराजित हुँदा उनको सम्भावना कमजोर बनेको छ।

२७ वर्षका फ्रान्सेली स्ट्राइकर एम्बाप्पेले विश्वकपमा ८ गोल गर्नुका साथै ला लिगा र च्याम्पियन्स लिग दुवैमा सर्वाधिक गोलकर्ता बने। तर रियल म्याड्रिडसँगको ट्रफीविहीन सिजन र विश्वकपको सेमिफाइनलबाट बाहिरिनुले उनको पहिलो बालोन डी'ओरको सपना यस पटक पनि अधुरै रहने देखिन्छ। यस्तै, म्यानचेस्टर सिटीका हालान्डले प्रिमियर लिगमा तेस्रो पटक गोल्डेन बुट जिते पनि क्लबबाट एफए कप र काराबाओ कपमा मात्र चित्त बुझाउनु पर्यो। २८ वर्षपछि नर्वेलाई पहिलो पटक विश्वकपमा पुर्‍याएर ७ गोल गरे पनि ठूलो ट्रफीको अभाव उनलाई खड्किनेछ।

बालोन डी'ओर विजेता डेम्बेलेले पिएसजीबाट लिग वान र च्याम्पियन्स लिग जितेका छन् भने विश्वकपमा ५ गोल र २ असिस्ट गर्दै आफ्नो सम्भावना जीवित राखेका छन्। पिएसजीकै कभारात्स्खेलियाले च्याम्पियन्स लिगमा १० गोल र ७ असिस्ट गरे पनि उनको देश जर्जिया विश्वकपमा छनोट हुन सकेन। जुड बेलिङ्घमले इङ्गल्यान्डलाई विश्वकपको सेमिफाइनलसम्म पुर्‍याए पनि चोटग्रस्त सिजन र ट्रफीको अभावले उनी दौडबाट बाहिरिएका छन्। आर्सनललाई प्रिमियर लिग जिताउन मुख्य भूमिका खेलेका डेक्लान राइस भने शीर्ष १० को दौडमा अटाउने अनुमान गरिएको छ। बीबीसी

salt training

कमेन्ट गर्नुहोस्