१० साउन २०८३, आइतबार

दशैंले सिर्जना गरेकाे व्यस्तता : दुर्गा मूर्ति बनाउन र पण्डाल सजाउन भ्याइनभ्याइ

दशैंले सिर्जना गरेकाे व्यस्तता :  दुर्गा मूर्ति बनाउन र पण्डाल सजाउन भ्याइनभ्याइ

दसैँमा दुर्गा पूजाको रौनक जताततै छ । विभिन्न स्थानमा ठूलाठूला पण्डाल सजाइएका छन् । घटस्थापनाको दिनदेखि नौ रातसम्म जाग्राम बसेर देवी दुर्गा भगवतीको पूजा आराधना गरिँदैछ । पण्डालमा भगवती दुर्गाले महिषासुरको बध गर्दै गरेका ठूला मूर्तिसहित विभिन्न देवी देवताका स्वरूपहरु राखिएका छन् ।     
     
केही वर्ष पहिलासम्म सहरबजारमा मात्र देखिने दूर्गामूर्तिका पण्डालहरू अहिले गाउँरदेहातसम्म छ्यापछ्याप्ती सजाइएका छन् । दसैँको बेला माटो आदिबाट बनाइएका दुर्गा भगवतीको मूर्ति सजाएर पूजा गर्ने प्रचलन जताततै बढेको छ । मूर्ति बनाउने र पण्डालमा लगेर सजाउनेसम्मको काम मूर्तिकार आफैँले गर्छन् ।   
     
घटस्थापनाका दिन दुर्गा भगवतीको मूर्ति स्थापना गरेर सप्तमीमा उनको आँखाबाट पट्टी खोल्ने काम हुन्छ । महिषासुरलाई सप्तमीको दिन दुर्गा भवानीले मारेको हुनाले सो दिन मूर्तिको आँखा खोल्ने परम्परा छ । त्यसपछि दशमीको दिन दुर्गा भवानीको मूर्तिलाई नजिकैको नदीमा लगेर विसर्जन गरिन्छ ।     
     
हिन्दू धर्मावलम्बीले आफ्नो परिवारसँग बसेर भव्यरूपमा मनाइने दसैँका बेला मूर्तिकारहरु पण्डालहरुको शोभा बढाउनेतर्फ जुटेका छन । अर्डरअनुसारको मूर्ति बनाएर त्यसमा रङ भरेर पण्डालमा लगेर ‘फिटिङ’ गरिदिनेसम्मको काम उनीहरूले गर्छन् । धेरैजसोले ती सबै काम आफ्नै ठाउँमा गरी बिक्री गर्छन् ।     
     
मूर्तिहरु खासगरेर जेठ महिना वा त्यस अगावैबाट दुर्गापूजाका लागि बुकिङ सुरू हुन्छ । असार साउनदेखि मूर्ति बनाउनका लागि बिस्तारै कच्चापदार्थ जस्तै माटो, बाँस, पराल, गहना, कपडा, अस्त्रशस्त्र लगायतका सजावटी सामानको किनमेल शुरू हुन्छ । त्यपछि मूर्तिलाई आकार दिने, रङरोगन र सजाउने काम हुन्छ ।     
     
कोटहीमाई गाउँपालिका–३ मर्यादपुर, रुपन्देही बस्ने मूर्तिकार रामकेवल भर भन्छन्, “मलाई यस वर्ष दश थान दूर्गामूर्तिका लागि कन्फर्म अर्डर मिलेको थियो । उहाँहरू ठूला मूर्ति किन्ने, पण्डाल सजाउने र पूजा गर्ने सोख राख्नुहुन्छ । त्यही भएर पहिलै अर्डर गर्नुहुन्छ । बाँकी मूर्तिहरू दसैँका बेला नै बुकिङ र बिक्री हुने गर्दछन् ।”     
     
विगत २५ वर्षदेखि मर्चवारको मर्यादपुरमा माटाका मूर्ति बनाउनु हुने रामकेवल भरले दसैँमा दुर्गा भगवती र तिहारमा लक्ष्मीका मूर्ति बनाउँदै आइरहेका छन । पहिला केही स्थानमा मात्रै सीमित पूजा अहिले धेरै स्थानमा फैलिएको उहाँको भनाइ छ । दुर्गामूर्ति मात्रै बिक्री गरेर कम्तीमा डेढ लाख रूपैयाँ कमाउने गरेको उनी बताउँछन् ।     
     
“दसैँका बेला नवरात्रभर दुर्गा भगवतीको नौ रूपमा पूजा हुन्छ । पण्डालमा भने दुर्गाको महिषासुर मर्दिनी स्वरूपको पूजा हुन्छ । हातमा त्रिशूल, शङ्ख, चक्र र गदा समाउँदै गरेकी देवी दुर्गाको चरणमा महिषासुर रहेको हुन्छ । देवीको वाहन सिंहका साथै सरस्वती, लक्ष्मी, गणेश र कार्तिकेयको मूर्ति पनि पण्डालमा लगाइएका हुन्छन्”, उनले भने ।     
     
भारत कोलकातामा चार वर्ष लगाएर मूर्ति बनाउने काम सिकेका रामकेवलले मूर्ति बिक्री गरेर सातजनाको परिवार राम्रैसँग पालेको बताए । उनको २२ वर्षीय छोरा राजेश्वर राजभरले पनि काम सिकेका छन भने उनीसँग अन्य छ जना कालिगडले मूर्ति बनाउने काम गर्छन् । उनले भने, “दसैँपछि अब तिहारमा लक्षमीपूजाका लागि मूर्ति बनाउनेछु ।”     
     
रामकेवलले छोरा राजेश्वरलाई मात्र होइन अन्य धेरै कालिगड तयार पारेका छन् । नजिकै कोटहीमाइ–४ तुनिहवामा नवदुर्गा एवं लक्ष्मी मूर्ति कला केन्द्रका सञ्चालक धर्मेन्द्र, राम मोहन, दशरथ, गौतम, बगाहे र अनिल हरजिन पनि उनकै चेला हुन् ।     
     
बीस वर्षसम्म मूर्ति बनाउने काम रामकेवलबाटै मर्यादपुरमा सिकेका धर्मेन्द्र हरिजन विगत तीन वर्षदेखि नवदुर्गा एवं लक्ष्मी मूर्ति कला केन्द्रका मालिक भएका छन ।  यस वर्ष १० हजारदेखि २० हजारसम्म प्रतिसेट मूर्ति बिक्री भएको उनले बताए । रामविकास चौधरी ररासस

salt training

कमेन्ट गर्नुहोस्