
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आइतवार हर्षोल्लासका साथ उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय दिइएको थियो ।
उम्मेदवारी मनोनयन दर्ताका क्रममा केही रोचक दृश्य देखिएका छन् । केही मुख्य घटनाक्रमलाई नियालौं:
प्रचण्ड जाँदा गोरखामा उल्लास
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
गोरखा- २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रचण्डले दिउँसो ३ बजेको समयमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी मनोनयनका लागि पुगेका 'प्रचण्ड'लाई गोरखामा भव्य स्वागत गरिएको थियो ।

पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पूर्व सहकर्मी समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई समेतलाई लिएर गोरखा पुगेका प्रचण्डलाई पार्टीका कार्यकर्ता र शुभचिन्तकले भव्य स्वागत गरे ।
समर्थकहरू प्रचण्डलाई स्वागत गर्न लाइन लागेका थिए ।
प्रचण्डलाई खादा र माला लगाउन चाहनेको ठूलो भीड जम्मा भएको थियो ।
पञ्चैबाजा समेत बजाएर प्रचण्डको स्वागत गरिएको थियो ।
अघिल्लोपटक चितवन- ३ बाट निर्वाचित प्रचण्ड यसपालि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका हुन् ।
गोरखा– २ मा अघिल्लोपटक डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ भिड्दा भट्टराईले बाजी मारेका थिए ।
उम्मेदवारी मनोनयनका लागि प्रचण्ड सडक मार्ग हुँदै गोरखा पुगेका हुन् ।
वारेसमार्फत देउवाको उम्मेदवारी, प्रतिस्पर्धीको निराहार व्रत
गृहजिल्ला डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
प्रधानमन्त्रीपत्नी आरजु राणा देउवाले वारेसमार्फत प्रधानमन्त्री देउवाको उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् ।
प्रधानमन्त्री देउवा डडेल्धुरा जान सम्भव नभएपछि आरजु उम्मेदवारी दर्ताका लागि डडेल्धुरा पुगेकी हुन् ।

डडेल्धुरामा एमालेले नेपाली कांग्रेस (बीपी)का कर्ण मल्ललाई समर्थन गरेको छ ।
सोही क्षेत्रमा स्वतन्त्र युवा उम्मेदवार सागर ढकालले पनि उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दर्तापछि ढकालले देशका लागि अब २ दिन निराहार व्रत बस्ने घोषणा गरेका छन् ।
झापामा ओलीको उम्मेदवारी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ताका लागि ओली शनिवार नै झापा पुगेका थिए ।
झापा ५ मा ओलीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पनि साथ छ ।
अघिल्लोपटक ओलीले यो क्षेत्रबाट भारी मतान्तरले चुनाव जितेका थिए ।
रुपन्देही– ५ मा एमालेका दुई उम्मेदवार !
रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा एमालेका तर्फबाट २ जनाको उम्मेदवारी दर्ता भएको छ ।
एमालेबाट खिमलाल भट्टराई र वासुदेव घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् ।
पार्टीको टिकट लगेर घिमिरेले ३ बजेर ५० मिनेट जाँदा उम्मेदवारी दर्ता गराएका थिए ।
भट्टराईले भने ४ बजेर ४५ मिनेट जाँदा उम्मेदवारी दिएका छन् ।
घिमिरे तिलोत्तमा नगरपालिकाका पूर्व मेयर हुन् भने भट्टराई राष्ट्रिय सभामा एमाले संसदीय दलका प्रमुख सचेतक रहेका थिए ।
भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सिधा आदेशमा उम्मेदवारी दर्ता गराएको फेसबूकमा उल्लेख गरेका छन् ।

'पार्टी अध्यक्ष आदरणीय कमरेड केपी शर्मा ओलीज्यूको सीधा आदेश, मेरो दिवंगत पिताजी, आमाको आशीर्वाद, पार्टी कार्यकर्ताको उत्कट माग, यहाँका जनता आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूको अगाध स्नेह र मायालाई शीरमा राखेर मैले रुपन्देही क्षेत्र ने ५ बाट संघीय सांसद पदमा उम्मेदवारी दिएको छु । रुपन्देही क्षेत्र नं ५ अर्थात् लुम्बिनी क्षेत्रको कायाकल्प मेरो संकल्प,' उनले फेसबूकमा लेखेका छन् ।
दुवैले आफू एमालेको आधिकारिक उम्मेदवार भएको दाबी गरेका छन् ।
तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिले तय भएको उम्मेदवारी रद्द गरिएको पत्र पठाएका छन् ।
भूलवश वासुदेव घिमिरेको नाममा पत्र पठाइएको भन्दै ओलीले खिमलाल भट्टराई आधिकारिक उम्मेदवार भएको उल्लेख गरेका छन् ।
रुपन्देही क्षेत्र नम्बर ५ का निर्वाचन अधिकृत चिन्तामणि शर्माले उम्मेदवारको दर्ता ढड्डामा घिमिरे र भट्टराईको दुवैजनाको नाम चढेको बताए ।
तर, उम्मेदवारको नाम सच्याएको पत्र आएकाले अब भट्टराई नै आधिकारिक उम्मेदवार रहने उनले उल्लेख गरेका छन् ।
‘पहिले दर्ता गरेकोलाई क्यान्सिल गरी भट्टराईको आधिकारिक उम्मेदवारीका लागि ५ बजेभित्र हामीलाई पत्र आएकाले अब एमालेको आधिकारिक उम्मेदवार भट्टराई नै हुनुहुन्छ,’ शर्माले भने ।
घनश्याम भुसाल गठबन्धनका उम्मेदवार
वाम नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
शनिवार एमाले परित्यागको घोषणा गरेका भुसालले निर्वाचन अधिकृतको कार्यालय देवदह शीतलनगर पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । उनलाई सत्तारुढ गठबन्धनले सघाउने भएको छ ।
शुरूमा नेकपा (माओवादी केन्द्र)कै चिह्नबाट चुनाव लड्ने गरी टिकट होल्ड भएपनि अन्तिम समयमा घनश्यामले स्वतन्त्र लड्ने निर्णय लिएका थिए ।

माओवादीको भागमा परेको यो क्षेत्रमा गठबन्धनले प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएको छैन ।
भुसालले आइतवार बिहान आफ्नै निवासमा पत्रकार सम्मेलन गरी आफूले स्वतन्त्र उम्मेदवारी दिने र त्यसलाई गठबन्धन सघाउने माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रतिबद्धता जनाइसकेको बताएका थिए ।
सत्ता गठबन्धनबाट प्रदेशसभातर्फ अब्दुल रज्जाक र विश्वनाथ यादवले उम्मेदवारी दिएका छन् । दुवैजना नेपाली कांग्रेसका हुन् ।
यो क्षेत्रमा एमालेबाट केन्द्रीय सचिव छविलाल विश्वकर्माले उम्मेदवारी दिएका छन् ।
पार्टीको टिकट छाडेर प्रभु साह बागी!
नेकपा एमालेका नेता प्रभु शाहले पार्टीको टिकट अस्वीकार गर्दै प्रतिनिधिसभा निर्वाचनमा रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेले उनलाई टिकट दिए पनि आफूले भनेका अन्य नेताले प्रदेशमा टिकट नपाएपछि साहले बागी उम्मेदवारी दिएका हुन् ।
आफूसँगै माओवादीबाट पार्टी प्रवेश गरेका अन्य नेतालाई एमालेले टिकट नदिएकोमा उनी असन्तुष्ट छन् ।
जेलमा रहेका रेशमको उम्मेदवारी, गच्छदारलाई पनि टिकट, आफताब आलमका छोरा मैदानमा
टीकापुर घटनामा जेलमा रहेका रेशम चौधरीले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
अघिल्लोपटक तत्कालीन राष्ट्रिय जनता पार्टीबाट कैलाली १ मा चुनाव जितेका रेशम आफैंले दर्ता गराउन लगाएको नागरिक उन्मुक्ति पार्टीबाट बर्दियामा उम्मेदवारी दिएका हुन् ।
स्थानीय चुनावअघि दर्ता भएको उनको पार्टीले कैलालीमा केही स्थानीय तह जितेको थियो ।
यस्तै, बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका कांग्रेस नेता विजय गच्छदारले सुनसरी ३ बाट उम्मेदवारी दिएका छन् ।
यसैगरी, इँटाभट्टामा जिउँदै मान्छे पोलेको आरोप लागेका निवर्तमान निलम्बित सांसद आफताब आलमले भने आफ्ना छोरा डा. फिरोदस आलमलाई प्रतिनिधिसभा सदस्यमा टिकट दिलाएका छन् ।
चौधरी, गच्छदार र आलम गएको प्रतिनिधिसभामा निलम्बित अवस्थामा थिए ।
प्रधानमन्त्रीमा शशांकको दाबी
प्रतिनिधिसभा निर्वाचनका लागि नवलपुर–१ बाट उम्मेदवारी दिँदै नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले अबको प्रधानमन्त्री आफू हुने बताएका छन् ।
उनले आफूले अन्तिमपटक चुनाव लड्न लागेको र कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार आफू हुने पनि बताए ।
उनले हरेक व्यक्तिसँग आत्मीय हुन चाहने भन्दै यसका लागि चुनावी मैदानबाट अगाडि बढेको पनि बताए ।
‘जसले हरेक व्यक्तिसँग आत्मीयता कामय गर्न सक्छ, उसले नै सक्षम नेतृत्व दिन सक्छ,’ डा. कोइरालाले भने ।
सूर्य चिह्न पाउँदा कमल थापा दंग
राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुर क्षेत्र नम्बर– १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन् । नेकपा एमालेको चुनाव चिह्न 'सूर्य'बाट चुनाव लड्ने गरी उनले उम्मेदवारी दिएका हुन् ।
उम्मेदवारी मनोनयन दर्ता गराएपछि अध्यक्ष थापाले एमालेको लोकप्रिय चिह्न 'सूर्य'बाट चुनाव लडन पाउँदा खुसी लागेको बताएका छन् ।

'देश र जनताको हितमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धताका साथ नेकपा (एमाले)को सहयोगमा मकवानपुर जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको छु ।
नेकपा (एमाले)को लोकप्रिय चिह्न 'सूर्य'बाट चुनाव लड्न पाउँदा खुसी लागेको छ । सबैको सद्भाव र सहयोगको निम्ति अपिल गर्दछु,' थापाले फेसबूकमा लेखेका छन् ।
उनी एमालेको सहयोगमा सो क्षेत्रबाट चुनावमा उठेका हुन् ।
भुइँ ढोगेर उम्मेदवारी दिने गोकुलका प्रतिस्पर्धी
काभ्रे क्षेत्र नम्बर २ का एमाले उम्मेदवार शिवप्रसाद हुमागाईंले उम्मेदवारी दर्ता गर्नुअघि भूमिमा ढोगेका छन् ।
सत्ता गठबन्धनका तर्फबाट टिकट पाएका कांग्रेस उम्मेदवार हुमागाईंले भूमिमा ढोगेर उम्मेदवारी दर्ताका लागि अगाडि बढेका हुन् ।

अघिल्लो निर्वाचनमा बर्दियामा वामदेवलाई हराएका सञ्जय गौतमले पनि यसैगरी भूमिमा ढोगेका थिए ।
हुमागाईं नेपाली कांग्रेस काभ्रेका पूर्व जिल्ला सभापति समेत हुन् । उनी कृष्ण सिटौला निकट मानिन्छन् ।
उम्मेदवार मनोनयनपछि हुमागाईं र उनका प्रतिस्पर्धी एमाले उम्मेदवार गोकुल बाँस्कोटाबीच जम्काभेट भएको थियो ।
भेटमा दुवैले हात मिलाएर सौहार्दता व्यक्त गरेका थिए ।

गोकुलले आफ्नो क्षेत्रमा विकास निर्माणका थुप्रै योजना भित्र्याएका छन् भने हुमागाईं पनि कांग्रेसका पुराना नेता हुन् ।
हुम्लाको मनोनयन काठमाडौंबाटै
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हुम्ला जिल्लाका उम्मेदवारहरूले काठमाडौंबाट नै मनोनयन दर्ता गराएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आइतवार मनोनयन दर्ता गर्ने समय दिइएको थियो ।
विगत हप्ता दिनदेखि परेको वर्षाका कारण दुर्गम हिमाली जिल्लाहरूमा हिमपात भइरहेकोले हवाई जहाज जान नसक्दा हुम्ला जिल्लाका उम्मेदवारहरूले भने निर्वाचन आयोगमा उपस्थित भएर मनोनयन पत्र दर्ता गराएका हुन् ।
प्रतिनिधिसभातर्फ नेकपा एमालेबाट दल रावलले उम्मेदवारी दर्ता गराएका छन् । मौसम खराबीका कारण जिल्लामा जान नसकेकाले पार्टीको औपचारिक पत्र र प्रतिनिधि करार गरेको पत्र निर्वाचन आयोगमार्फत सम्बन्धित निर्वाचन कार्यालयमा पठाएको रावलले बताए ।
उनले आफ्नो पार्टीको प्रतिनिधिसभा र प्रदेशसभामा पनि निर्वाचन आयोगमार्फत नै मनोनयन दर्ता गराएको जानकारी दिए ।
‘मौसम खराबीका कारण हेलिकप्टर, प्लेन जान सकेन । पार्टीको औपचारिक पत्र र प्रतिनिधि करार गरेको पत्र हामीले निर्वाचन कार्यालयमा पठाएका छौँ । गठबन्धनका साथीहरुले पनि यही गर्यौँ । दुवै प्रदेशको पनि गर्यौँ’, रावलले भने, ‘यो दुखद् बाध्यताको अन्त्य गर्न मेरो पहिलो एजेण्डा अब के हुन्छ भने सुर्खेतदेखि हिल्सा टु लेनको फास्टट्रयाक सडक ४०३ किलोमिटर छ । त्यो पुर्याउनको निम्ति नेपाल सरकारलाई म यदी संघको सांसद भएर हुम्ली जनताले सेवा गर्ने अवसर दिए भने म यो पूरा गर्छु ।’
त्यस्तै हुम्ला जिल्ला प्रदेशसभा ‘ख’ मा एमालेको तर्फबाट उम्मेदवार छक्कबहादुर लामाले पनि जिल्लामा हिमपातका कारण जान सम्भव नभएपछि काठमाडौंबाटै मनोनयन दर्ता गर्नुपरेको बताए ।
उनले भने, ‘हिमपात छ । बाटोघाटो छैन । प्लेन पनि उडिरहेको छैन । एक हप्ताभन्दा बढी भइसक्यो । त्यसैले हामीले यहीँबाट पार्टी टिकट र वारेसनामा पठाउन खोजेको ।’
सत्तारुढ गठबन्धनका उम्मेदवारले पनि काठमाडौंबाट नै मनोनयन दर्ता गराएका छन् ।