०९ साउन २०८३, शनिबार

भैरहवा विमानस्थल चलाउन मुस्किल, जजिराको दैनिक उडान एक महिना पनि टिकेन !

असोज २६, २०७९
भैरहवा विमानस्थल चलाउन मुस्किल, जजिराको दैनिक उडान एक महिना पनि टिकेन !

भैरहवाको गौतमबुद्ध विमानस्थल सञ्चालनमा गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई मुश्किल परिरहेको छ ।

विमानस्थल निर्माण र जग्गा अधिग्रहणसहितमा ३२ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । विमानस्थल सञ्चालनमा आएको ५ महिनासम्म पनि एउटा मात्रै अन्तर्राष्ट्रिय वायुसेवाको उडान हुनु, त्यसमा पनि तालिका कटौती हुनु र नयाँ वायुसेवाको रुचि कम हुनुले प्राधिकरणलाई थप कठिनाइ हुने देखिएको छ । 

यो विमानस्थल सञ्चालनसँगै २ जेठबाट उडान शुरू गरेको कुवेतको वायुसेवा जजिराले एक महिनामा नै उडान तालिका कटौती गरेको छ । सातामा ३ वटा उडानबाट शुरू गरेको जजिराले दैनिक उडान गरेको एक महिनामा नै प्राविधिक कारण देखाएर उडान सातामा २ वटामा झरेको छ ।  

जजिराले उडान शुरू गरेको ४ महिनापछि ३१ भदौबाट दैनिक उडान शुरू गरेको थियो । दैनिक उडान शुरू गरेको तीन सातामात्रै पुगेको  छ ।

जजिराले दैनिक उडान शुरू गरेको एक महिना नपुग्दै असोज २६ (बुधवार)बाट दैनिक उडान रोकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए ।

उनका अनुसार आजैबाट दैनिक उडान कटौती भएको छ ।

अब यसले ३ दिन पछि (२९ असोज)लाई मात्रै उडान राखेको छ । दाहालले भने, ‘वायुसेवाले अपरेसन रिजन देखाएको छ । थप कारण स्पष्ट भने पारेको छैन् ।’ 

उडान कटौती गर्नुमा यात्रु नहुनु र अरू समस्या समेत देखिएको दाबी दाहालको  छ ।

वायुसेवा कम्पनीको आफ्नै कारण हुनसक्ने र दैनिक उडान कटौती केही समयलाई मात्रै हुने दाहालको विश्वास छ । त्यसपछि पुनः उडान सुचारु हुन सक्ने दाहालले बताए ।

भैरहवाबाट उडानमा देखिएका केही प्राविधिक समस्या समाधान गर्दै अगाडि बढ्नुपर्ने चुनौती छ । भैरहवामा श्रम कार्यालय खुलेको भएपनि दोहोर्‍याएर जानेलाई मात्रै श्रम स्वीकृति दिइएको छ । पहिलोपटक जानेलाई श्रम स्वीकृति दिइएको छैन । 

भारतीय नागरिकको नो अब्जेक्सन लेटर (एनओसी), हवाई रुट व्यवस्थापनमा सहजता हुन नसक्दा पनि अपेक्षा अनुसारको उडान भैरहवाबाट हुन नसकेको दाहालले बताए । 

यो विमानस्थलमा आगामी १३ कात्तिकदेखि हंगेरीको बिज एयरलाइन्सले उडान गर्ने इच्छा देखाएको छ । यसले संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधावी–काठमाडौं हप्तामा ३ वटा उडान गर्ने तय भइसकेको छ । यो समयमा दैनिक उडान गरिरहेको जजिराले उडान कटौती गर्नुलाई गम्भीर रूपमा हेरिएको छ ।

भैरहवाबाट उडानमा अन्य निकाय र राज्य विभिन्न संयन्त्रले सहजीकरण नगरिदिएको गुनासो प्राधिकरणको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला भैरहवाबाट उडान गर्न सबै पक्षलाई सहजीकरण नगरिदिँदा समस्या भएको बताउँछन् । 

उनले राज्यका सबै पक्षको सहयोगले विमानस्थल सञ्चालन सहज हुने भएकाले सोहीअनुसार सहजीकरण गरिदिन आग्रह गरे । निरौलाले भने, ‘प्राधिकरणले आफूले गर्नुपर्ने दायित्व पूरा गरिरहेको छ । विमानस्थल चलाउने विषय बनाएर मात्रै हुँदैन । राज्यका सबै निकायको सहयोग पनि चाहिन्छ ।’

प्राधिकरणले भने यो विमानस्थल सञ्चालन गर्न वायुसेवाले १५ नोभेम्बरदेखि पाउने विन्टर शेड्युल स्वीकृति गर्दा भैरहवा उडान गर्ने योजना पनि पेश गर्नुपर्ने बाध्यात्मक व्यवस्था गर्ने बताएको छ । यस्तो व्यवस्था अनुसार प्राधिकरणले काठमाडौंमा दैनिक २ भन्दा बढी उडान गर्ने वायुसेवालाई एउटा उडान भैरहवामा गर्नुपर्छ भनेको छ । यो विषयमा सम्बन्धित वायुसेवा सकारात्मक रहेको दाबी निरौलाको छ । 

उनका अनुसार भैरहवाबाट उडान बढाउनका लागि श्रम स्वीकृतिमा सहजीकरण, वायुसेवा निगमले प्राधिकरणले भनेजस्तै ग्राउन्ड ह्यान्डलिङ छूट, यातायातले यात्रुलाई सहज आवतजावतको सुविधा दिनेसहितको व्यवस्था गर्नुपर्ने अवस्था छ ।

राज्यको विदेशी ऋण लिएर सञ्चालन गरेको यो राष्ट्रिय गौरवको आयोजनामा अन्य निकायको सहयोग नहुँदा अहिले केही चुनौती देखिएको पनि निरौलाले बताए ।

 

salt training

कमेन्ट गर्नुहोस्