
एमाले युवा नेता ठाकुर गैरे कांग्रेस महामन्त्री गगन थापा, नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्री सँगसँगै विद्यार्थी राजनीतिमा उदाएका नेता हुन् । थापा दुईपटक सांसद, मन्त्री हुँदै पार्टीको शक्तिशाली महामन्त्रीमा पदमा पुगे । ठाकुरपछि अनेरास्ववियुको अध्यक्ष भएकी झाँक्री सांसद भइन् । एमाले विभाजनपछि शहरी विकास मन्त्री भइन् ।
तर, ठाकुर गैरे पार्टीको आन्तरिक गुटबन्दीको शिकार बनिरहे । आफ्नो गृहजिल्ला पाल्पामा आफूभन्दा ‘सिनियर’ नेता तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले सधैँ चुनाव लागि अवसर पाउँदा उनी वञ्चित हुनुपर्यो । अहिले एमाले विभाजनपछि पाण्डेय नेकपा एकीकृत समाजवादीमा लागेसँगै गैरेले बल्ल पहिलो चुनाव लड्ने टिकट पाएका छन् ।
पाल्पा–२ मा युवा नेता गैरे पहिलोपटक र पाण्डेय छैठौं पटक उम्मेदवार बनेर मैदानमा उत्रिएका छन् ।
संसदीय राजनीतिमा पहिलोपटक आउन लागेका एमाले पोलिटब्यूरो सदस्य गैरे र पुराना नेता पाण्डेयबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
यसअघि राजनीतिक ‘स्पेस’ खोजिरहे पनि सबै निर्वाचनमा पाण्डेयलाई गैरेले सघाउँदै आएका थिए । प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचन आउँदो मंसिर ४ गते हुँदैछ ।
गैरेले राष्ट्रिय स्वाधीनताको आन्दोलनको अगुवाई गर्दै आएका नेताको पहिचान बनाएका छन् । विगतमा गैरेलाई पाल्पा–२ मा टिकट दिनुपर्ने आवाज उठ्दै आएको थियो । तत्कालीन एमाले नेता माधव नेपालको जोडबलमा पाण्डेयलाई टिकट दिइँदै आइएको थियो ।
निवर्तमान सांसद पाण्डेय नातामा माधव नेपालका सम्धी हुन् । गठबन्धनका उम्मेदवार पाण्डेयले अहिले, कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चालाई रिझाउँदै मत माग्न थालेका छन् ।
२०७० सम्म पाल्पामा ३ वटा निर्वाचन क्षेत्र थिए । २०५१, २०५६, २०६४, २०७० मा पाण्डे पाल्पा–२ बाट उम्मेदवार हुँदै आए । स्थानीय तह पुनःसंरचनापछि जिल्लामा २ निर्वाचन क्षेत्र कायम भयो ।
पाण्डेयले २०७० मा पनि पाल्पा–२ कायम भएको यही क्षेत्रबाट टिकट ल्याएर चुनाव जिते । यसपटक पनि उनले सत्ता गठबन्धनका तर्फबाट टिकट ल्याएका हुन् ।
पाण्डेय २०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार लीला सोमैसँग पराजित भएका थिए ।
पाण्डेयले पाल्पा चारपटक जीत हाँसिल गरेका छन् । तीन दशकदेखि राजनीतिमा सक्रिय पाण्डे मन्त्री भएका नेता हुन् ।
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरूको मत परिणाम हेर्दा यो क्षेत्रमा एमाले सबैभन्दा ठूलो दल हो ।
वडाध्यक्षको मत हेर्दा यो क्षेत्रमा एमालेले ३० हजार ५३६ मत पाएको छ । कांग्रेसले २९ हजार ३९, माओवादीले ४ हजार ३१३ र एकीकृत समाजवादीले ४३३ मत मात्रै पाएको देखिन्छ ।
गठबन्धनको मत नै आफ्नो जीतको आधार भएको पाण्डेय दाबी गर्छन् । ‘मैले जिल्लाबाट निर्वाचित भएपछि जिल्लामा के–के गरें पाल्पाली जनतालाई सबै थाहा छ । म मन्त्री हुँदा युरेनियम अन्वेषण र पाल्पालाई प्राविधिक शिक्षाको हवदेखि लुम्बिनी र पाल्पालाई पर्यटनसँग जोड्दैछु,’ पाण्डेयले लोकान्तरसँग भने ।
पाल्पा–२ विगतदेखि एमालेको पकड रहेको र युवा नेता भएकाले गैरेको जीत सहज रहेको एमाले जिल्ला अध्यक्ष धनेन्द्र घिमिरे दाबी गर्छन् ।
‘गैरे यो पटक जिल्लामा नयाँ अनुहारसँगै लोकप्रिय चुनावी एजेन्डा अगाडि सारेका उम्मेदवार हुन् । जनताको रोजाइमा गैरे परेका छन्,’ अध्यक्ष घिमिरेले लोकान्तरसँग भने ।
२०७४ अघि पाल्पाको क्षेत्र नम्बर ३ हुँदा २०४८ र २०७० मा पश्चिम भेगमा कांग्रेसले जितेको थियो । त्यसबाहेक २०५१ मा एमाले उपाध्यक्ष विष्णु पौडेल, २०५६ मा यादवबहादुर रायमाझी, २०६४ मा कूलप्रसाद नेपालले एमालेबाट निर्वाचन जितेका थिए ।
तीन क्षेत्र भएका बेला २०४८ र २०७० सालमा भने कांग्रेसका हरिप्रसाद नेपालले चुनाव जितेका थिए ।
साविकको पाल्पा– ३ कांग्रेस र एमालेबीच झिनो मतान्तरमा जीत/हार हुने क्षेत्र हो । संघीयतापछि भने जिल्लाको साविक पाल्पा– २ को केही भागलाई १ र केही भागलाई साविक पाल्पा ३ मा मिसाएर नयाँ क्षेत्र बनाइएको छ ।
पाण्डेयलाई यसपटक चुनाव जित्न त्यति सहज छैन । नेपाली कांग्रेसले क्षेत्र नं. २ बाट प्रदेशसभा २ (१) मा मात्र उम्मेदवारी दिएको छ । २ (२) मा माओवादी केन्द्रका उम्मेदवार छन् ।
परीक्षण हुन बाँकी उम्मेदवार भएकाले पनि गैरेले उनलाई कडा टक्कर दिने अनुमान गरिएको छ । गैरे एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष हुँदै पार्टीको केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्य बनेका नेता हुन् ।
संगठनात्मक भोट कम रहेकाले एकीकृत समाजवादीका पाण्डेयलाई निर्वाचन जित्न कांग्रेस र माओवादीको भरोसा छ । केही मत राष्ट्रिय जनमोर्चाको पनि छ ।
२०७४ मा प्रतिनिधिसभा क्षेत्र नं. २ बाट उम्मेदवार बनेका पाण्डेय ३४ हजार ८९९ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका उम्मेदवार हरि नेपालले २४ हजार ५५४ मत पाएका थिए ।
पाल्पाका सबै राजनीतिक दलहरूले मृत्युमार्गको उपमा पाएको सिद्धबाबा सडक खण्डलाई चुनावी एजेण्डा बनाए पनि अहिलेसम्म यो सडकलाई सुरक्षित बनाउन नसकेको भन्दै जनताहरू रुष्ट रहेका छन् ।