०४ साउन २०८३, सोमबार
प्रतिनिधिसभा निर्वाचन

आचारसंहिताविपरीत किसान श्रेष्ठको चुनावी फण्डा– फ्रीमा विदेश पठाइदिने भनेर धमाधम अन्तर्वार्ता

असोज ३०, २०७९
आचारसंहिताविपरीत किसान श्रेष्ठको चुनावी फण्डा– फ्रीमा विदेश पठाइदिने भनेर धमाधम अन्तर्वार्ता

बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ)ले मतदाता प्रभावित पार्नका लागि नि:शुल्क वैदेशिक रोजगारीमा पठाइदिने भन्दै अन्तर्वार्ता सञ्चालन गर्न लगाएका छन् ।

बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ स्थित बीएस पार्टी प्यालेसमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले आइतवार अन्तर्वार्ता सञ्चालन गर्न लगाएका हुन् ।

श्रेष्ठ पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री पनि हुन् । सोही आधारमा वैदेशिक रोजगारदाता कम्पनीहरूसँगको सम्बन्धको बलमा मतदाता आकर्षित गर्नका लागि उनले अन्तर्वार्ता सञ्चालन गराएका हुन् ।

श्रेष्ठले ललितपुरको ग्वार्कोस्थित इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रालिसँग सहकार्य गरेर आइतवार अन्तर्वार्ता गर्न लगाएका हुन् ।

आइतवार मधेशका विभिन्न जिल्लासहित पहाडका कतिपय जिल्लाबाट युवाहरू अन्तर्वार्ता दिनका लागि त्यहाँ पुगेका छन् । तर, अन्तर्वार्ता दिन गएका अन्य जिल्लाका युवा भने यत्तिकै फर्किएका छन् ।

फ्री भिसा, फ्री टिकट, फ्री मेडिकल सुविधासहित मलेसिया जान पाइने भदै सर्लाही रामनगर- २ का ओजिन्द्र यादव बिहानै मोटरसाइकल चढेर त्यहाँ पुगेका थिए । तर, त्यहाँ पुगेपछि मात्र अन्य जिल्लाका युवाका लागि उक्त अवसर नभएको थाहा पाए ।

'निवर्तमान मन्त्री श्रेष्ठले युवाहरूलाई फ्री भिसा फ्री टिकटमा नै मलेसिया पठाइदिने भएकाले आज परवानीपुरमा अन्तरवार्ता छ भन्ने सूचना मैले राति मात्र पाएँ,' यादवले भने, 'तर त्यहाँ अन्तर्वार्ता दिनका लागि पुग्दा बारा जिल्लाका मानिसले मात्र अन्तर्वार्ता दिन पाउने भन्दै मेरो अन्तर्वार्ता नै लिएनन् ।

बारा- ४ कै युवालाई विशेष ग्राह्यता दिइएको र नभए पनि कम्तिमा पनि बारा जिल्लाको हुनैपर्ने भन्दै अन्य जिल्लाबाट आएकालाई अवसर नदिइएको उनले खुलाए ।

सर्लाही मलंगवाकै असी अन्सारी पनि अन्तर्वार्ता दिन पुगेका थिए, तर उनको पनि अन्तर्वार्ता लिइएन ।

'मलेसियाको सेकारिता सिन कलम प्लास्टिक इन्डस्ट्रिज कम्पनीका मालिक पनि आउने भनेर हामीले सूचना पाएका थियौं,' अन्सारीले भने, 'तर त्यहाँ पुगेपछि बारा जिल्लाका युवा मात्र अन्तर्वार्तामा सहभागी हुन पाउने भन्दै मसहित अन्य जिल्लाबाट आएका सयौं युवाको अन्तर्वार्ता नै लिइएन ।'

केहीदिन अघि मात्र श्रेष्ठले रौतहटको गौरमा यसैगरी वैदेशिक रोजगारीका लागि म्यानपावर कम्पनीलाई बोलाएर अन्तर्वार्ता लिन लगाएका थिए । महोत्तरीको जलेश्वर नगरपालिकाका सञ्जय साह त्यहाँ पनि पुगेका थिए । तर त्यहाँ पुग्दा पनि रौतहट जिल्लाका युवालाई मात्र उक्त अवसर दिइएको उनले बताए ।

'गौरमा जाँदा पनि अन्तर्वार्तामा सहभागी हुन दिइएन,' साहले भने, 'आज परवानीपुर पुग्दा पनि सहभागी हुन दिइएन ।'

स्थानीय एक पत्रकारका अनुसार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट- १ मा उम्मेदवार भएकाले गौरमा पनि यसैगरी अन्तर्वार्ता लिइएको थियो ।

'उक्त अन्तर्वार्ताको सबै व्यवस्थापन निवर्तमान मन्त्री तथा निवर्तमान सांसद किसान श्रेष्ठले नै गर्नुभएको थियो,' उनले लोकान्तरसँग भने, 'आज आफ्नै मतदातालाई प्रभावित पार्नका लागि उहाँले फेरि अन्तर्वार्ता लिन लगाउनुभएको छ ।'

तस्वीर : स्थानीय पत्रकार राधेश्याम पटेल

टुरिस्ट उम्मेदवारको आरोप लागेका श्रेष्ठले चुनाव जित्नकै लागि खास गरेर बारा- ४ का युवाहरूलाई विशेष प्राथमिकता दिएर उक्त अन्तर्वार्ता सञ्चालन गराएको उनले बताए ।

'हामीले उक्त म्यानपावर कम्पनीका एडमिन अफिसर विवेक शर्मालाई सोध्दा पनि निवर्तमान सांसद श्रेष्ठका स्वकीय सचिव जगत श्रेष्ठको निर्देशनमा नै परवानीपुरको ठाउँ तथा लोकेसन तोकिएको बताउनुभयो,' ती पत्रकारले लोकान्तरसँग भने ।

सोही क्षेत्रका नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान सांसद इकबाल मियाँ पनि निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रभावित पार्न श्रेष्ठले चुनावी हत्कण्डा अपनाएको बताउँछन् ।

'श्रेष्ठकै निर्देशनमा मतदातालाई प्रभावित पार्नेगरी उहाँले अन्तर्वार्ता लिन लगाएको मैले थाहा पाएपछि त्यस विषयमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, निर्वाचन अधिकृत समेतलाई जानकारी गराइसकेको छु,' उनले लोकान्तरसँग भने, 'त्यस विषयमा यहाँको प्रशासन, निर्वाचन अधिकृत आदिले कारवाही नगरे म आफैं प्रमुख निर्वाचन आयुक्तलाई पनि जानकारी गराउनेछु ।'

सत्ता गठबन्धनका उम्मेदवारहरूको पोस्टर नै झुन्ड्याएर अन्तर्वार्ता सञ्चालन गर्नुले पनि किसान श्रेष्ठको संलग्नता पुष्टि भएको उनको जिकिर छ । हाकाहाकी निर्वाचन आचारसंहिताविपरीत काम भइरहँदा पनि निर्वाचन आयोग मौन रहनु दु:खद् रहेको उनी बताउँछन् ।

यस विषयमा श्रेष्ठसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् । उनको मोबाइलमा फोन गर्दा उनका सहयोगी विकास साहले फोन उठाएर श्रेष्ठ मिटिङमा व्यस्त रहेको तथा कुराकानी गराउन नसकिने प्रतिक्रिया दिए ।

श्रेष्ठ यसअघि तनहुँ-१ बाट निर्वाचित भएका थिए । नेकपा एमालेबाट टिकट पाएका श्रेष्ठले २०७४ सालको चुनावमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका थिए ।

पछि नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादी हुँदा उनले समाजवादी रोजेका थिए ।

सत्ता गठबन्धनबाट तनहुँ-१ मा यसपटक नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई टिकट दिइएपछि उनले बारा- ४ बाट टिकट पाएका हुन् ।

श्रेष्ठले बारामा एउटा प्लास्टिक फ्याक्ट्री किनेका थिए । पछि उनले त्यो फ्याक्ट्री बेचेर बाराकै सिमरास्थित क्लासिक होटलमा लगानी गरेको मियाँले बताए ।

'उक्त होटलमा २० प्रतिशत शेयर उनको छ । सिमरा-४ मै श्रेष्ठले १० बिघा जग्गा किनेर भैंसीपालनदेखि विभिन्न फार्महरू सञ्चालन गरेका छन्,' मियाँले थपे, 'त्यसबाहेक करीब ५ बिघाजति सरकारी ऐलानी जग्गा पनि उहाँले अतिक्रमण गरेर व्यापार व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ ।'

अन्तर्वार्ताका लागि भन्दै धेरै युवाहरू शनिवार नै पुगिसकेका थिए । शनिवार राति देखि नै त्यहाँका लजहरू भरिभराउ छन् । फोटोकपी पसलहरूलाई काम गर्न भ्याइनभ्याइ भएको छ । होटलहरूमा समेत खाना खानका लागि युवाहरूको भीडभाड बढेको छ ।

विभिन्न जिल्लाबाट सयौंको संख्यामा युवाहरू त्यहाँ पुगे पनि बारा जिल्लाका युवालाई मात्र प्राथमिकता दिइएपछि युवाहरू निराश भएका छन् । 'बस चढेर आउँदा जाँदा, होटलमा बस्दा आदि समेत गरेर कम्तिमा ५ हजार रुपैयाँ जति खर्च भयो,' एक युवाले भने, 'पहिले नै बारा जिल्लाका मानिसलाई मात्र अन्तर्वार्ता लिइने भनेको भए यत्रो खर्च र दु:ख गर्नु पर्दैनथ्यो । बेक्कारमा आइएछ ।'

 

 

salt training

कमेन्ट गर्नुहोस्