२३ असार २०८३, मंगलबार
संकटमा प्याराग्लाइडिङ

दुर्घटनापछिको चासो– प्याराग्लाइडिङ बन्दको निर्णय अल्पकालीन कि दीर्घकालीन ?

कात्तिक २, २०७९
दुर्घटनापछिको चासो– प्याराग्लाइडिङ बन्दको निर्णय अल्पकालीन कि दीर्घकालीन ?

नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय सिजनमै पोखराको प्याराग्लाइडिङ उडान ३ दिनदेखि बन्द गरेको छ । 

आइतवार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धी नेपाली सेनाका निसिम थापाले प्याराग्लाइडिङ उडाउने क्रममा ज्यान गुमाएपछि प्राधिकरणले देशैभरको उडानमा रोक लगाएको हो । 

प्राधिकरणले नियमित, व्यवस्थित र सुरक्षित उडान गराउने भन्दै पोखरा मात्रै नभएर देशैंभरको प्याराग्लाइडिङ उडानलाई अनिश्चितकालीन समयसम्म रोकेको छ । 

प्राधिकरणको यो निर्णयले हाल देशैभरका ८३ कम्पनीका ३८० पाइलट फुर्सदिला भएका छन् । पोखरामा मात्रै ७० वटा प्याराग्लाइडिङ कम्पनीले गर्ने दैनिक ३५० वटासम्म उडान प्रभावित भएको छ ।

पोखरा पुगेका नेपालीदेखि विदेशीसम्मको रोजाइ सराङकोट पुग्ने र साहसिक हवाइ खेलकुदमा सहभागी हुने हुन्थ्यो । आकाशमै उडेर पोखराको दृश्यावलोकनको मज्जा लिने गरेका थिए ।

हाल पर्यटकीय सिजन भएकाले साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकले देशैभर प्याराग्लाइडिङ उडान गर्न पाएका छैनन् ।

पर्यटकीय सिजनमै पोखरामा प्याराग्लाडिङ रोकिनुले यस क्षेत्रमा आबद्ध हजारभन्दा बढीको प्रत्यक्ष रोजगारी प्रभावित हुने भएको छ । 

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करीब सकिएको छ । यो विमानस्थल आगामी १ जनवरी २०२३ बाट सञ्चालन गर्ने निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरणले  गरिसकेको छ ।

विमानस्थल सञ्चालन गर्न सराङकोटबाट फेवातालमाथि उड्ने प्याराग्लाइडिङ हवाइ रुटमै पर्ने भएकाले यसलाई हटाउनुपर्ने तर्क उड्डयन प्राधिकरणको छ । 

प्राधिकरणले प्याराग्लाइडिङ व्यवसायीलाई विकल्प खोज्न आग्रह गरिसकेको भएपनि व्यवसायी भने पोखराको सौन्दर्य मासेर बाहिर जान नसक्ने अड्डी कसेरै बसिरहेका थिए । पोखराबाट प्याराग्लाइडिङ उडान हटाउँदा देश विदेशबाट आइपुग्ने पर्यटकको साहसिक पर्यटनमा रुचि हुने साहसिक हवाइ खेल रोकिन्छ ।

नेपाल हवाइ खेलकूद संघका अध्यक्ष सुशील भट्टले भने ‘पोखराको सौन्दर्य मासेर प्याराग्लाइडिङ विस्थापित गर्न सकिँदैन । यसलाई जोगाउन सकिने भएकाले हटाउने कुरा कुनै पनि बहानामा मान्य हुँदैन ।’

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जहाज मिस एप्रोच वा ओभरसुट (अवतरण गर्नै लाग्दा आकाशतर्फ नै उड्नुपर्ने अवस्था)मा दायाँतर्फको प्याराग्लाइडिङ भएकोतिर जहाज जान सक्छ । 

यस्तो अवस्थामा जहाज दायाँतर्फ नगएर बायाँतर्फ मात्रै जाने व्यवस्था गर्ने हो भने विमानस्थल सञ्चालन हुने र प्याराग्लाइडिङ पनि जोगिने नेपाल हवाई खेलकुद संघका अध्यक्ष भट्टको दाबी छ । 

प्राधिकरणले भने अन्तर्राष्ट्रिय उडानमा जोखिम लिन नहुने भन्दै प्याराग्लाइडिङ हटाउनैपर्ने दाबी गरिरहेको छ । यद्यपि अहिलेसम्म कुनै निर्णय भइसकेको छैन ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले विमानस्थल सञ्चालनको तयारी हुँदै गरेकाले पछिल्लो दुर्घटना प्याराग्लाइडिङको उडान रोक्न बहाना भएको स्वीकार गरे । 

पोखरामा प्याराग्लाइडिङको व्यवस्थित सञ्चालन, व्यवस्थापन र सुरक्षासम्बन्धी विषयमा अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय अध्ययन समिति गठन भएको छ ।

अध्ययन समितिको सुझावका आधारमा अगाडि बढिने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला बताउँछन् । अन्य सरोकारवालासँग सुझाव लिने क्रम जारी रहेको उनको भनाइ छ ।

‘प्राधिकरण प्याराग्लाइडिङ रोकेर चुप लागेर बसेको छैन । सम्बन्धित सरोकारवाला निकायसँगको छलफल र आवश्यक सुझाव लिने क्रममा पनि छ,’ निरौलाले भने ।

पोखरामा भइरहेको साहसिक खेलकुदका गतिविधि हवाई रुटमा पर्ने भएकाले अब के गर्ने भनेर थप अध्ययन गरेर उपयुक्त निर्णय लिनकै लागि अहिले सबै उडान रोकिएको दाबी उनको छ । निरौला यो उडान बन्द अल्पकालीन हो कि लामोसमय जान्छ भन्ने विषयमा अहिले नै भन्न नसकिने बताउँछन् । 

प्राधिकरणले देशैभरको प्याराग्लाइडिङ रोकेर थप व्यवस्थित गर्न चाहेको उनको भनाइ छ । निरौलाका अनुसार अहिलेको भन्दा थप व्यवस्थित कसरी हुन्छ भन्ने विषयमा आवश्यक गृहकार्य भइरहेको छ । 

उनले भने, ‘पहिले उडान प्रतिबन्ध लगाएका छौं । अब थप अध्ययन गर्ने विषयमा आवश्यक प्रक्रिया अगाडि बढ्छ ।’ 

अहिलेलाई पोखरा मात्रै नभएर देशैभरको प्याराग्लाइडिङ उडानमा रोक लगाउनुले प्राधिकरण सुरक्षित र जिम्मेवार प्याराग्लाइडिङका उडानमा प्रतिबद्ध भएको भन्ने देखिएको निरौलाको दाबी छ । 

उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको र सोही अनुसार कार्यान्वयन गर्न सबै जिल्लामा परिपत्र समेत गरेका छ । 

थप निर्णय गर्ने विषयमा प्राधिकरणले आवश्यक तयारी भइरहेको जनाएको छ । प्याराग्लाइडिङको उडानमा प्रतिबन्धसँगै उडान सुरक्षाबारे शुक्ष्म अध्ययन शुरू भइरहेको पनि प्राधिकरणका अधिकारीको भनाइ छ ।

पोखराका प्याराग्लाइडिङका व्यवसायीले भने २० वर्षदेखिको साहसिक पर्यटनको सौन्दर्यलाई मास्न नहुने भन्दै लबिङ गर्न थालेका छन् ।

सोमवार प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्देशनसहितको पत्र पाएसँगै उडान खुलाउन व्यवसायी लागेका हुन् । ब्लू होराइजन प्याराग्लाइडिङका प्रबन्धनिर्देशकसमेत रहेका सुशील भट्ट पनि उडान रोक्नु समस्याको समाधान नभएको बताउँछन् । 

प्याराग्लाइडिङको व्यावसायिक उडान भएपछिको पछिल्लो  १२ वर्षमा १७ जनाले दुर्घटनाकै कारण ज्यान गुमाएका छन् । दुर्घटना पर्नु र भवितव्यका कारण आइपर्ने समस्यालाई व्यवस्थित गर्दै मानवीय क्षति हुन नदिने गरी काम गर्दै अगाडि बढ्नुपर्ने बुझाइ यस क्षेत्रका व्यवसायीको छ । 

पोखरामा मात्रै पोखराका प्याराग्लाइडिङले दैनिक ३० लाख रुपैयाँको कारोवार गर्ने र राज्यलाई ७ लाख भन्दा बढी कर नै तिरिरहेको छ । 

हवाई खेलकुद एउटा साहसिक पर्यटनको क्षेत्र हो । यो क्षेत्रमा आइपर्ने समस्या समाधान गर्ने जाने हो रोक्नु उपयुक्त नभएको बुझाइ यस क्षेत्रका व्यवसायीको छ ।

व्यवसायीका अनुसार सुरक्षित हवाई यातायात पनि विभिन्न प्राविधिक समस्या आइरहने वा दुर्घटना नै हुने गर्छ । 

दुर्घटना हुन नदिने प्रण सबैले गर्ने हो तर उडानै रोक्ने काम व्यावहारिक र समस्या समाधानको बाटो नभएको तर्क यस क्षेत्रका व्यवसायीको छ । 

१० जिल्लामा उडान अनुमति आकर्षण पोखरामा मात्रै

उड्डयन प्राधिकरणले हाल देशैभरका विभिन्न १० जिल्लामा साहसिक हवाइ खेलकुदको अनुमति दिएको छ । यस्तो अनुमति लिनेमा कास्की, सुनसरी, पाल्पा, काठमाडौं, मकवानपुर, स्याङ्जा, तनहुँ, नुवाकोट, इलाम र संखुवासभामा छन् । 

हालसम्म प्राधिकरणले उडान अनुमति दिएका यस्ता हवाई खेलकुदको संख्या ८३ वटा छन् । यीमध्ये ६१ वटाले नियमित उडान गरिरहेको र कम्पनी नवीकरण गराइरहेका छन् । हाल विभिन्न २२ वटा कम्पनी भने नवीकरण नभएका र उडानसमेत नगरेको प्राधिकरणले जानकारी दिएको छ । 

यस्तो उडान अनुमति लिनेमा सबैभन्दा बढी पोखरामा ७० कम्पनी छन् । अन्य कम्पनीहरूमध्ये धरानमा ३ वटा, पाल्पा र काठमाडौंमा २/२ वटा छन् । बाँकी ६ जिल्ला मकवानपुर, स्याङजा, तनहुँ, नुवाकोट, इलाम र संखुवासभामा १/१ कम्पनी रहेको पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्