२३ असार २०८३, मंगलबार
प्रतिनिधिसभा निर्वाचन

प्रचण्ड–नेपाललाई कांग्रेस मत ट्रान्सफर नहुने चिन्ता: नेताभन्दा मतदाता फकाउने रणनीति

कात्तिक ३, २०७९
प्रचण्ड–नेपाललाई कांग्रेस मत ट्रान्सफर नहुने चिन्ता: नेताभन्दा मतदाता फकाउने रणनीति

सत्तारूढ गठबन्धनमा सीट बाँडफाँटका क्रममा दोलखा माओवादी केन्द्रले पायो । बाग्मती प्रदेशमा तुलनात्मकरूपमा माओवादी केन्द्रको जनाधार भएको निर्वाचन क्षेत्रमध्ये लिइन्छ, दोलखा ।

दोलखामा जनमतको हिसाबले माओवादी केन्द्र तेस्रो दल हो । २०६४ को संविधान सभा चुनावमा त्यसबेलाको दुवै निर्वाचन क्षेत्रमा माओवादीका उम्मेदवार विजयी भएका थिए । 

त्यसपछिको कुनै पनि चुनावमा दोलखाका माओवादीहरू प्रतिनिधिसभा सदस्य हुन पाएनन् । यसपटक दोलखामा माओवादीको क्रेज फर्काउने अभिलाषासहित पुष्पकमल दाहाल प्रचण्डको जोडबलमा दोलखा माओवादीको भागमा पर्‍यो ।

तर, माओवादी एक्लैको मत चुनाव जित्न पर्याप्त छैन । दोलखामा दोस्रो ठूलो दल रहेको कांग्रेसको मतमा माओवादीले चुनाव जित्नुपर्छ ।

गत स्थानीय तहको चुनावको मत हेर्दा दोलखामा कांग्रेसले ३३ हजार ४३९ मत पाएको छ । माओवादी केन्द्रले १७ हजार ३७५ मत पाएको छ । 

यो दुवै मत जोड्दा एमालेले पाएको मत भन्दा ११ हजार ९६४ मत हुन्छ । एमालेले ३९ हजार ५० मत पाएको थियो । 

यो अंक गणित हेर्दा दोलखामा माओवादीका उम्मेदवार गगांबहादुर कार्कीले सजिलै चुनाव जित्नुपर्ने हो तर, कार्की भने एमालेसँगको प्रतिस्पर्धामा सजिलै चुनाव जितिनेमा ढुक्क छैनन् । त्यसको एउटै चिन्ता हो, दोलखाका कांग्रेसले सर्लक्क माओवादीका उम्मेदवारलाई मत दिन्छन् ? दोलखा कांग्रेसका नेताहरूसँग पनि यसको स्पष्ट उत्तर छैन । 

दोलखा कांग्रेसका एक नेता भन्छन्, ‘स्थानीय तह चुनावमा आएको अन्तरविरोध नै हल भएको छैन । सबै कांग्रेसीले माओवादीलाई मत हाल्छन् त ? भन्ने प्रश्न हाम्रो पनि छ ।’

दोलखामा गठबन्धनका उम्मेदवार कार्कीले कांग्रेसको बढीभन्दा बढी मत कसरी आफ्नो पक्षमा ट्रान्सफर गराउने भन्ने चिन्ता व्यक्त गर्ने गरेको दोलखा माओवादीका नेताहरू बताउँछन् । 

उता गुल्मी– २ मा सत्तारूढ गठबन्धनको साझा उम्मेदवार छिन्, एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री । स्थानीय तह चुनावको मत हेर्दा गुल्मी– २ मा एकीकृत समाजवादीले जम्मा ६५८ मत मात्रै पाएको छ । एमाले ३१ हजार २५३ मतसहित पहिलो, कांग्रेस २९ हजार ८२१ मतसहित दोस्रो दल हो भने माओवादीले १८ सय ४१ मत पाएको छ । 

गठबन्धनको उम्मेदवार भएका कारण कांग्रेस र माओवादीले रामकुमारीलाई सर्लक्क मत दिने हो भने उनले चुनाव हारिन्छ कि भन्ने चिन्ता गर्नु नपर्ने हो । तर, गुल्मी– २ मा रामकुमारी चुनावी परिणामको हिसाबले ढुक्क भइसकेकी छैनन् । मतदाता रिझाउन उनले भगीरथ प्रयत्न गरिरहेकी छिन् । 

चुनावमा गठबन्धनभित्रको मत साझा उम्मेदवारको पक्षमा ट्रान्सफर हुँदैन कि भन्ने चिन्ता सम्बन्धित निर्वाचन क्षेत्रको उम्मेदवारलाई मात्रै होइन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको व्यवहार र अभिव्यक्तिमा बढी मात्रामा मुखरित भएको छ ।

पछिल्ला दिनमा आयोजना हुने चुनावी सभामा प्रचण्ड र नेपालले यस्तो चिन्ता दोहोर्‍याउने गरेका छन् । कांग्रेसका कार्यकर्ता र मतदातालाई हँसिया हथौडा र कलम चिह्नमा मत हाल्न उनीहरूले सार्वजनिकरूपमा फकाउने समेत गरेका छन् । 

माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवारहरूले कांग्रेसको मत आफ्नो पक्षमा ल्याउन साम, दाम, दण्ड, भेद सबै उपाय लगाइरहेका छन् । 

नेतृत्व तहमा मात्रै छलफल र विमर्श गरेर कांग्रेसको मत नआउने देखेपछि स्थानीयस्तरकै कार्यकर्ता र मतदातालाई फकाउने रणनीतिमा उम्मेदवारहरू लागेका छन् । 

गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको चुनावमा पनि कांग्रेसले माओवादीका उम्मेदवारलाई र माओवादीले कांग्रेसको उम्मेदवारलाई खुलेर मत नहालेको विश्लेषण गठबन्धनभित्र भएको थियो । 

त्यसको असन्तुष्टि नेताहरूले सार्वजनिकरूपमा अभिव्यक्त गरेका पनि थिए । संसदीय चुनावमा त्यस्तो प्रवृत्ति दोहोरिन नदिने बारेमा छलफल गरेका नेताहरूले गठबन्धनद्वारा आयोजित सभालाई शीर्ष नेताहरूबाट सम्बोधन गराउने उपाय अपनाइरहेका छन् । 

असोज २९ मा गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी र कांग्रेसले एकअर्कालाई आत्मसाथ गर्न असहज हुनु स्वाभाविक भएको तर, अहिले बाध्यात्मक अवस्था रहेको बताएका थिए ।

त्यसदिन प्रचण्डले भनेका थिए, ‘हिजो हामी इतिहासको एउटा कालखण्डमा आमनेसामने भिडन्त गरेका पार्टीहरू हौं । कांग्रेस र माओवादी मुख्यरूपमा । ती दुईवटा पार्टीहरूको बीचमा राजनीतिक भावनात्मक सम्बन्ध सुदृढ गर्न मैले अस्वाभाविक ठान्दिनँ । हिजोको घटनाक्रमलाई स्मरण गर्दा सजिलै एक अर्कालाई आत्मसाथ गर्न गाह्रो हुनु अनौठो कुरा चाहिँ होइन ।’

राजनीतिक दृष्टिकोण र सिद्धान्तका हिसाबले पूर्व र पश्चिम फर्किएका दलहरू चुनावी साँठगाँठका लागि मात्रै गठबन्धनको छातामा समेटिने गरेको भन्दै नेपालमा चुनावी गठबन्धन संस्कृतिको विरोध हुने गरेको छ । 

अर्कोतर्फ, सशस्त्र द्वन्द्वको समयमा माओवादी केन्द्रले सबैभन्दा बढी कांग्रेस कार्यकर्तालाई नै निशाना बनाएको भन्दै त्यसबेलाको पीडा अझै बिर्सिन नसकेको कतिपय कांग्रेसका नेताहरूले टिप्पणी गर्ने गरेका छन् । उम्मेदवार चयन र मनोनयनअघि कांग्रेसभित्रकै संस्थापनइतर खेमा माओवादी केन्द्रका नेताहरूप्रति उग्ररूपमा प्रस्तुत हुने गरेका थिए । 

यति पृष्ठभूमि राखेपछि प्रचण्डले कांग्रेसका मतदातालाई फकाउने प्रयास गरे । त्यसपछि उनले भने, ‘मैले कता–कता माओवादीले कसरी रुखमा भोट हाल्ने ? कांग्रेसले कसरी हँसिया हथौडामा भोट हाल्ने ? भनेको सुन्छु । त्यसो हो भने तपाईँहरूले विस्तृत शान्ति सम्झौताको महत्त्व बुझ्नुभएको छैन । गिरिजाबाबुसँग शान्ति सम्झौतामा मैले हस्ताक्षर गर्नु भनेकै मैले रुखमा भोट हाल्नु हो । उहाँले हँसिया हथौडामा भोट हाल्नु हो । अनि तपाईँहरू चाहिँ राजनेता भन्ने र अर्कोतिर भोट नहाल्ने भयो भने बुझेको ठहरिन्छ त ?’

यही कुरा उनले असोज ३० मा काठमाडौंको क्षेत्र नम्बर–२ मा आयोजित चुनावी सभामा दोहोर्‍याए । गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने गरी आयोजित कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘रुखले हँसिया हथौडामा, हँसिया हथौडाले रूखमा कसरी भोट हाल्ने भनेर प्रश्न आउने गरेको सुनेको छु । हामीले उहिल्यै हँसिया हथौडा र रूखलाई एक बनाइसकेका हौ । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा र मैले रूखमा भोट हाले बराबर हो ।’

यसरी हरेकजसो कार्यक्रममा प्रचण्डले कांग्रेसका मतदातालाई हँसिया हथौडामा मत हाल्न उत्पेरित गर्ने गरी फकाउन थालेका छन् । कांग्रेस कार्यकर्ताको मन जित्नका लागि स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको सन्दर्भ उल्लेख गरेर कांग्रेसका कार्यकर्तालाई भावनात्मकरूपमा उत्प्रेरित गर्ने प्रयास प्रचण्डले गरिरहेका छन् । 

माओवादी केन्द्रका आफ्ना उम्मेदवारहरूलाई स्थानीयस्तरमा कांग्रेसमा मत दिँदै आएका मतदातालाई भेटेर नै आफ्नो पक्षमा सकरात्मक गराउने प्रयास गर्न केन्द्रीय नेतृत्वले निर्देशन दिएको माओवादीका नेताहरू बताउँछन् । 

कात्तिक १ गते ललितपुरमा गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई सम्बोधन गर्न कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एउटै मञ्चमा उभिएका थिए ।

त्यस दिन पनि देउवालाई साक्षी राखेर प्रचण्डले गठबन्धनका उम्मेदवारको चुनाव चिह्नमा भोट हाल्न कांग्रेस हिच्किचाउन नहुने तर्क गरेका थिए । 

प्रचण्डले भने, ‘म तपाईंहरूलाई स्मरण गराउन चाहन्छु, हामीले धेरै पहिले नै रूख र हँसिया हथौडालाई एक बनाइसकेका हौं । जतिबेला हामीले शान्ति सम्झौता गर्‍यौं, त्यो बेला सात दलका तर्फबाट कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादीबाट मैले हस्ताक्षर गरेको थिएँ । त्यो भनेकै मैले रूखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप हाने बराबर हो ।’

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि कांग्रेस र माओवादीका कार्यकर्ता र मतदातालाई फकाउने गरी अभिव्यक्ति दिने गरेका छन् । ललितपुरमा गठबन्धनका दलले तयार गरेको मञ्चबाट नेपालले भने, ‘हामीबीच आपसी सहकार्य र समन्वयले मात्रै हामीलाई बलियो बनाउँछ । त्यसैले एक–अर्कालाई सहयोग गरौं । गठबन्धनका उम्मेदवार जिताउन सबै ठाउँमा सहयोग गरौँ ।’

प्रचण्ड र माधव नेपालको मनोभावना बुझेका कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि ललितपुरकै कार्यक्रमबाट कांग्रेस कार्यकर्तालाई जहाँ गठबन्धनको जुन चुनाव चिह्न छ, त्यसैमा मत हाल्न निर्देशन दिए । 

देउवाले भने, ‘अब को हँसिया हथौडा, को रूख, को कलम भन्ने नै छैन । कलम भएको ठाउँमा कलमलाई नै भोट हाल्ने, हँसिया हथौडा भएको ठाउँमा हँसिया हथौडामा नै भोट हाल्ने र रूख भएको ठाउँमा रुखलाई नै भोट हाल्ने । यत्ति भए पुगिहाल्यो नि !’

salt training

कमेन्ट गर्नुहोस्