
जापानबाट लोकप्रिय हुन शुरू भएको सेतो मसला अर्थात् अजिनोमोटो अहिले विश्वभर प्रचलित छ । यो मसला एक प्रकारको रसायन अर्थात् प्रशोधन गरिएको वस्तु हो, जसले जिब्रोमा बस्ने खालको पृथक स्वाद प्रदान गर्दछ । यो चिनी जस्तो देखिने सेतो मसलाको रसायनिक नाम मनोसोडियम ग्लुटेमेड हो, जसलाई छोटकरीमा एमएसजी पाउडर पनि भनेर चिनिन्छ ।
अजिनोमोटो गुलियो या मीठो स्वादको हुँदैन, किनभने उत्पादन प्रक्रियाले चिनीलाई ग्लुटामिक एसिडमा परिणत गरिसकेको हुन्छ । नून र नूनको बारेमा सोच्नुहोस् त धेरै खानेकुराहरू नुनिलो स्वादमा हुन्छन् तर तपाईंको जिब्रोमा १ चुट्की नूनले तपाईंलाई नूनको शुद्ध स्वाद दिन्छ ।
अजिनोमोटो आफैंमा कुनै स्वाद छैन तर खानामा हाल्दा अचम्मको स्वाद दिन्छ । अजिनोमोटो ग्रूपले एक शताब्दीभन्दा लामो समयदेखि अजिनोमोटो भनेर चिनिने गन्धविहीन सेतो क्रिस्टलीय पाउडर उत्पादन गर्दै आएको छ र आज यो संसारभरका भान्साहरूमा प्रयोग हुन्छ ।
आजिनोमोटोको विषयमा अझै धेरैमा भ्रम छ, यो सेवन गर्यो भने यावत् रोगहरू लाग्नसक्छ तर भारतको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसनले यसलाई सामान्यतया खान मिल्ने भनि खाद्य सामग्रीको रूपमा वर्गीकरण गरेको छ । यसबाट अजिनोमोटोलाई खराब मसला भन्ने भ्रमको अन्त्य भएको छ । तसर्थ अजिनोमोटो प्रयोग गर्दा थोरै मात्रामा प्रयोग गर्नुपर्छ । अधिक मात्रामा प्रयोग गर्नुहुन्न र नियमित रूपमा सेवन गर्नु पनि हानिकारक हुनसक्छ । भन्नुको मतलब चिनी पनि धेरै सेवन गर्दा विष सावित हुनसक्छ भने जस्तै हो ।
जापान, चीन, हङकङ लगायतका देशले उनीहरूको अधिकांश खानाको परिकारमा अजिनोमोटो प्रयोग गरिएको हुन्छ तर कति मात्रामा खानामा मिलाउने भन्ने विषयमा उनीहरू पहिलादेखि नै सचेत छन् । विश्वभरमा चाइनिज र जापानिज खानाको पारखी करोडौं छन् र यी देशको प्रतिनिधित्व गर्ने खाना चल्ने रेस्टुरेन्ट मज्जाले चलेका पनि छन् । चाइनिज किचनमा अजिनोमोटो एक अभिन्न अंगको रूपमा राखिन्छ र सीमित मात्रा मिलाएर प्रयोग गरिन्छ ।

कुन खानामा कति हाल्ने र कति समयको अन्तरालमा खाने भन्ने उनीहरू प्रस्ट छन् । अजिनोमोटोमा क्याल्सियम, सोडियम र केही मात्रामा आइरन पनि पाइन्छ । यसमा भिटामिन, प्रोटिन र बोसोको मात्रा हुन्न । यदि तपाईं चाइनिज खानाको सोखिन र पारखी हुनुहुन्छ भने तपाईंलाइ धेरैको सल्लाह हुनेछ, यो धेरै नखानुस्, यसको पछाडि चाइनिज खानामा अजिनोमोटो हुन्छ भनेर हो तर प्राविधिक रूपमा अजिनोमोटो सोडियम र ग्लुटामिक एसिडबाट बनेको मिश्रित (यौगिक) हो र सुगर बीट, उखु, मकै वा पिडालु (कासवा) जस्ता बोट–बिरुवामा आधारित सामग्रीहरूद्वारा तयार गरिन्छ । यो प्राकृतिक रूपमा पाइने एमिनो एसिड हो र यसलाई एसियाली खाना जस्तै चाउचाउ, सूप, फ्राइड राइस आदिमा प्रयोग गरिन्छ ।

अजिनोमोटो कसरी खाने ? कति खाने ?
अजिनोमोटोको मुख्य घटक एमएसजी (मोनोसोडियम ग्लुटामेट) को सुरक्षाका विषयमा एफडीए (अमेरिकन फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन) र अमेरिकन केमिकल सोसाइटी (एसीएस) द्वारा पुष्टि गरिएको छ कि यो मसला मात्रा मिलाएर खादा कुनै विकार हुन्न । अजिनोमोटो समूहको उत्पत्ति आदर्शद्वारा व्यक्त गरिएको छ कि ‘राम्रो खानुहोस्, राम्रोसँग बाँच्नुहोस् ।’ र समूहको नामको उत्पादन अजिनोमोटोको उत्पत्ति डा. इकेडाको जापानी जनताको पोषण र कल्याणमा सुधार गर्ने चाहनाबाट भएको हो । अजिनोमोटोले संसारभरका मनपर्ने खानाहरू बढाउन जारी राख्दा त्यो इच्छालाई साझा र अन्तर्राष्ट्रियकरण गरिएको मानिन्छ ।

अन्तिम उत्पादनको स्वाद बढाउनका लागि प्रशोधनको क्रममा खानामा सयौं सामग्रीहरू थपिन्छन् र तीमध्ये एक अजिनोमोटो पनि हो । तत्काल खान मिल्ने इन्स्ट्यान्ट चाउचाउ उत्पादनहरू, मसलाहरु, ससहरूमा, केचप, बारबिक्युससमा, प्रशोधित मासुहरूमा, विभिन्न सुपहरूमा, फ्रोजेन मिलहरूमा, विभिन्न स्न्याक्स र चिप्सहरूमा, फास्टफूड परिकारमा अजिनोमोटो प्रयोग गरिएको हुन्छ । यस्ता खालका खानाहरू नियमित रूपमा पटक–पटक खादा स्वास्थ्यमा हानिकारक पनि हुनसक्छ । तसर्थ अजिनोमोटोको प्रयोग गर्दा सीमित परिकारमा र जतिसक्दो कमै प्रयोग गर्दा उत्तम मानिन्छ । यद्यपि केही विशेषज्ञहरूले तर्क गर्छन् कि यसले सम्भावित खतरनाक साइड इफेक्टहरू हुनसक्छ र विशेषगरी जब दीर्घकालीन रूपमा खपत गरिन्छ भने ।