
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भइरहँदा एक खेलाडीको मृत्यु भएपछि बन्द गरिएको प्याराग्लाइडिङ उडान एक सातापछि खुलेको छ । पोखरामा उडानका क्रममा नेपाली सेनाका खेलाडी निसिम थापाको मृत्यु भएपछि देशैभर बन्द गरिएको उडान खुला गरिएको हो । थापाको असोज ३० गते मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले दशैंभरको प्याराग्लाइडिङ उडान बन्द गरेकाे थियो ।
प्राधिकरणले नियमित, व्यवस्थित र सुरक्षित उडान गराउने भन्दै बन्द गराएको उडान आज (आइतवार)बाट खुलेको छ । ३० गते उडान बन्द गरेको ४ दिनपछि कात्तिक २ गते प्राधिकरणले उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय अध्ययन समिति गठन गरेको थियो ।
अध्ययन समितिले २ दिनमै विभिन्न ५ वटा सुझावसहित प्रारम्भिक प्रतिवेदन दिएको थियो । प्राधिकरणले उक्त प्रतिवेदनको सुझावलाई आधार बनाएको भन्दै शुक्रवार नै प्याराग्लाइडिङको उडान खुला गर्ने निर्णय गरेको थियो । उक्त निर्णय आजदेखि कार्यान्वय भएर पोखरासहित देशैभरको प्याराग्लाइडिङ उडान खुला भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
उनका अनुसार अध्ययन समितिले दिएको प्रतिवेदनको सुझावलाई कार्यान्वयन गर्ने गरी व्यवसायीलाई उडान सुरक्षित र व्यवस्थित गराउने शर्तमा खुला गरिएको हो । प्याराग्लाइडिङको उडान खुला गर्दा प्राधिकरणले तोकेका शर्त अनिवार्य पालना गर्नुपर्ने छ ।
प्राधिकरणले तोकेको शर्तमा व्यवसायिक रूपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र व्यवसावसायिक उडान बाहेक अन्य उडान गतिविधि नगर्ने, १५ दिनभित्र क्यान मेडिकल रिक्वायरमेन्ट पूरा गर्ने उल्लेख छ । मेडिकल रिक्वायरमेन्टका लागि डेजिग्नेटेड मेडिकल एक्जामिनरले परीक्षणमा योग्य ठहराएका पाइलटले मात्रै व्यवसयायिक उडान गर्न पाउने, यस्ता पाइलटले पोशाक लगाउनुपर्ने व्यवस्था भएको छ ।
व्यवसायिक उडानमा योग्य हुने ग्लाइडरहरूले १५ दिनभित्र एयर वर्दिनेस इन्स्पेक्टरको रोहवरमा परीक्षण गराई योग्य ग्लाइडरलाई मात्र व्यवसायिक उडान अनुमति दिने र पाइलटले रिफ्रेसर तथा आपतकालीन टेन्डम रेस्क्युको तालिम वर्षमा एकपटक लिनैपर्ने शर्तसमेत तोकेको छ ।
प्राधिकरणले तोकेको शर्त पालना १५ दिनभित्रै गर्ने र उडान सुरक्षालाई प्राथमिकतामा राखेर सेवा दिने प्रतिबद्धता गरेको नेपाल हवाई खेलकुद संघका अध्यक्ष सुशील भट्टले बताए । उनले भने ‘नियामक निकायले तोकेको शर्त पालना गरेर उडान गर्न व्यवसायी तयार भएकाले आइतवारबाटै देशैभरको प्याराग्लाइडिङ उडान शुरु भएको हो ।’ आजैबाट शर्त पालना गर्ने कम्पनीहरूले नियमित शुरु गरिसकेका छन् ।
यी हुन् प्याराग्लाइडिङ उडानका शर्त र कम्पनीकाे विवरण