११ साउन २०८३, सोमबार

डेंगुको उच्च जोखिममा बर्दिबास

कात्तिक ८, २०७९
डेंगुको उच्च जोखिममा बर्दिबास
प्रतिकात्मक तस्वीर

मुलुकभर तिहारको चहलपहल बढिरहेका बेला महोत्तरीमा भने डेंगुको जोखिम बढेको छ ।

महोत्तरीको बर्दिबास अस्पतालमा मात्रै कात्तिक लागेदेखि २० जना संक्रमित पुष्टि भएका छन् ।

साउनदेखि कात्तिकको पहिलो सातासम्म बर्दिबास नगर क्षेत्रमा डेंगु संक्रमितको संख्या १४० पुगेको नगर जनस्वास्थ्य शाखाका प्रमुख सुरेश पासवानले जानकारी दिए ।

‘साउनमा पहिलोपटक २ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो, हालसम्म यो संख्या १४० पुगेको छ,’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णा महर्जनले भने । यो बर्दिबास अस्पतालमा पुष्टि भएका संक्रमितको संख्या मात्रै हो । बर्दिबासमा आधा दर्जनभन्दा बढी निजी अस्पतालले पनि डेंगु परीक्षण गर्दै आएका छन् । 

अस्पतालमा मात्रै गत साउनमा २६ जना, भदौमा १२४ जना, असोजमा २३९ जना र कात्तिक ७ गतेसम्म ४९ जनाको जाँच गरिएको थियो । जसमा साउनमा २ जना, भदौमा २४ जना, असोजमा ९४ जना र जारी कात्तिक ७ गतेसम्म २० जनामा संक्रमण पुष्टि भएको अस्पतालको भनाइ छ ।

चाडपर्वमा भीडभाड बढ्ने र सरसफाइमा उचित ध्यान नपुग्दा डेंगु फैलाउने ‘आडेस’ नामक लामखुट्टेको संख्या बढेकाले संक्रमण फैलिएको अस्पतालको भनाइ छ । बर्दिबास विगत ५ वर्षयता डेंगुको उच्च जोखिममा रहेको क्षेत्र हो । 

पछिल्ला ४ वर्ष न्यून संख्यामा मात्र डेंगु संक्रमित भेटिए पनि २०७४ मा डेंगुको आतंक नै फैलिएको थियो । २०७४ साउनदेखि असोज मध्यसम्म बर्दिबास नगर क्षेत्रमा नै ८४७ जनामा संक्रमण पुष्टि भएको नगर कार्यपालिका कार्यालय बर्दिबासको जनस्वास्थ्य शाखाले जानकारी दिएको छ । 

नगर क्षेत्रमा डेंगु संक्रमितको संख्या बढ्दै गएपछि बर्दिबास नगरपालिकाले सरसफाइ अभियान सञ्चालन गरेको छ । नगरभित्रका सबै १४ वटा वडामा वडाअध्यक्षको संयोजकत्वमा डेंगु सार्ने ‘आडेस’ लामखुट्टेका बासस्थान सरसफाई गर्ने, लामखुट्टेका लार्भा नष्ट गर्ने र किटनासक औषधी छर्ने अभियान सञ्चालन गरिएको नगर प्रमुख प्रल्हादकुमार क्षत्रीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्