भाइटीकाको दिन दिदीबहिनी एवं दाजुभाइ नहुनेले जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन छ ।
संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनले भने, ‘विक्रम संवत् २०३५ सालअघि रानीपोखरी भित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ ।’
विक्रम संवत् २०३५ सालपछि नियमितरूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । ७ वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि विक्रम संवत् २०७७ सालसम्म खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवं दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको हो ।
बालगोपालेश्वर मन्दिर भूकम्पपछि विक्रम संवत् २०७७ सालदेखि मात्र भक्तजनका लागि पुनः खुला गरिएको हो ।
भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । नेवार समुदायमा कूल परम्पराअनुसार कसैले आज र कसैले भोलि भाइटीका अर्थात् किजापूजा मनाउँछन् ।