०५ साउन २०८३, मंगलबार
प्रतिनिधिसभा निर्वाचन

धनकुटामा काका–भतिज प्रतिस्पर्धामा: बीपीको तस्वीर राखेर सूर्यबहादुरको नाम लिँदै सुनिल !

कात्तिक २०, २०७९
धनकुटामा काका–भतिज प्रतिस्पर्धामा: बीपीको तस्वीर राखेर सूर्यबहादुरको नाम लिँदै सुनिल !

पाँचपटक प्रधानमन्त्री भएका स्व. सूर्यबहादुर थापाका छोरा र भतिजा प्रतिस्पर्धीका रूपमा चुनावी मैदानमा उत्रिएका छन् ।

सूर्यबहादुरका छोरा सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन् भने भतिजा कुमारबहादुर थापा राप्रपाबाट उम्मेदवार छन् ।

उनीहरू आ–आफ्ना चुनावी एजेन्डासहित भोट माग्दै मतदाता फकाउने काममा व्यस्त छन् ।

कुमार सूर्यबहादुरका दाजुका छोरा हुन् । सुनिल बीपीको फोटो राखेर पिताजीको विरासत थाम्ने योजनाका कुरा गर्छन् भने भतिजा कुमार काकाको फोटोमा माल्यार्पण गर्दै मतदाता भेट्न घरदैलोमा छन् ।

रोचक कुरा दुवैजनाको चुनावी एजेन्डा एउटै छ– सूर्यबहादुर थापाले छाडेका अधुरा विकास निर्माणका काम पूरा गर्ने । 

पाँचपटक प्रधानमन्त्री भएका सूर्यबहादुरले राजनीतिक उत्तराधिकारीका रूपमा छोरा सुनिल थापालाई अगाडि बढाए । बुवाको निधनपछि सुनिल राप्रपा परित्याग गरेर कांग्रेसमा लागे । 

बुवाले छाडेका अधुरा काम पूरा गर्ने आफ्नो लक्ष्य रहेको भन्दै सुनिल भोट मागिरहेका छन् ।

‘सूर्यबहादुरले गर्ने भनेका अधुरा विकास निर्माणका काम पूरा गर्ने दायित्व कांग्रेसको पनि हो,’ कांग्रेस धनकुटाका सभापति दिनेश राईले भने, ‘तर हाम्रो नेता नभएकाले हामीले कार्यक्रमस्थलमा उहाँको फोटो राख्दैनौं ।’

बीपी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका केन्द्रीय सभापतिको मात्रै फोटो राख्ने गरेको उनले बताए । सूर्यबहादुर पनि कुनै समय कांग्रेसकै नेता रहेकाले सम्मान भने गर्ने गरेको उनको भनाइ छ ।

यता कुमार थापा भने सुनिलले एकपटक चुनाव हार्दैमा पार्टी छाडेकाले सूर्यबहादुरको नाम लिनु नहुने बताउँछन् । 

‘उहाँले राप्रपाको विचार नै छाडेकाले सूर्यबहादुरको विरासत थाम्ने  भनेर भन्नु नै गलत हो,’ उनले भने, ‘उहाँको विरासत थाम्ने हामी हो ।’ सूर्यबहादुरले धनकुटाका लागि उठाएका एजेन्डा कांग्रेस र एमालेले बिर्सिँदा विकासमा धनकुटा पछाडि परेको उनको भनाइ छ ।    

मुख्य प्रतिस्पर्धी तीनैजना एकै ठाउँका

धनकुटा प्रतिनिधिसभाका एक मात्रै निर्वाचन क्षेत्र हो भने प्रदेशसभामा दुई निर्वाचन क्षेत्र छन् ।

सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । धनकुटामा प्रतिनिधिसभा सदस्यका लागि सातजनाले उम्मेदवारी दिएका छन । सातमध्ये तीनजना तत्कालीन मुगा गाविस निवासी हुन् । सूर्यबहादुरको घर पनि मुगा नै हो । 

प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका सुनिलबहादुर थापा, नेकपा  एमालेका उम्मेदवार राजेन्द्र राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उम्मेदवार कुमारबहादुर थापाको घर मुगा नै हो ।

प्रतिनिधिसभा  समानुपातिकमा सिफारिश भएका जनता समाजवादीका नेता अर्जुन थापा र प्रदेशमा सिफारिश भएकी नेपाली कांग्रेसकी नेत्री इन्दिरा थापासमेत मुगाकै हुन् ।

तत्कालीन मुगा गाविसलाई जिल्ला राजनीतिमा धेरै पहुँच राख्ने क्षेत्रका रूपमा चिन्ने गरिन्छ । 

स्थानीय चुनावको मतमा गठबन्धनभन्दा एमाले अगाडि

स्थानीय तहको  मतका आधारमा धनकुटामा सत्ता गठबन्धन भन्दा एमाले गठबन्धन बलियो देखिएको छ ।

नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ मा गठबन्धन दलहरूको मतभन्दा बढी मत पाएको छ ।

वडाध्यक्षहरूले पाएको मत हेर्दा कांग्रेसले २८ हजार १८२, माओवादी केन्द्रले ५ हजार ४५८, नेकपा एकीकृत समाजवादीले १ हजार ७२८ मत ल्याएका छन् ।

सबैको मत जोड्दा ३५ हजार ३६८ पुग्छ । एमाले एक्लैको मत ३६ हजार ३३६ छ ।

जनता समाजवादी पार्टीले भने २ हजार २९२ मत ल्याएको छ ।

अहिले जसपा धनकुटामा कुनै गठबन्धनमा पनि गएको छैन । प्रतिनिधिसभामा जसपाले  उम्मेदवार नउठाए पनि प्रदेशमा भने उम्मेदवार उठाएको छ ।

जसपाका नेता रकम चेम्जोङ प्रदेश सभाका उम्मेदवार छन् । यो मत कता जाने भन्ने टुंगो नभएकाले पनि यसैले जित्छ भन्ने अवस्था नरहेको धनकुटाका नेताहरू बताउँछन् ।

धनकुटामा माओवादी नेता हेमराज भण्डारी स्वतन्त्र उम्मेदवार बनेपछि गठबन्धनलाई थप असर पुग्ने नेताहरूको विश्लेषण छ ।

स्थानीय निर्वाचनमा एमालेले ६० वडामध्ये ३१ वटा वडा जितेको छ । कांग्रेसले २६, माओवादीले २ र जसपाले १ वडा जितेका छन् ।

७ स्थानीय तहमध्ये ३ पालिकामा एमाले र ४ पालिकामा कांग्रेसले जितेका छन् । स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।

गठबन्धनमा आबद्ध दलका नेताहरूले स्थानीय तहको मत परिणामका आधारमा चुनावी अंकगणित भन्न नमिल्ने बताउँछन् । 

गठबन्धन हुँदा धेरै मत बदर भएको कांग्रेस जिल्ला सभापति दिनेश राईले बताए । उनले उम्मेदवार नै नभएको ठाउँमा पनि चुनाव चिह्न रहेकाले स्थानीय तहमा घाटा भएको बताए ।

अहिले त्यो मतसहित जोड्दा एमालेभन्दा गठबन्धन ३ हजार मतले माथि रहेको उनको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्