
रामबाबु गुरुङको निर्देशन रहेको फिल्म ‘फूलबारी’को फस्टलुक सार्वजनिक गरिएको छ ।
निर्माण टिमले फस्टलुक स्वरुप फिल्मको पोष्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक पोष्टरमा फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई, बिपिन कार्की, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के र अरुणा कार्कीलाई प्रस्तुत गरिएको छ ।
बिपिन पोष्टरमा फरक गेटअपमा प्रस्तुत छन् । उनलाई पाको उमेरको व्यक्तिको रुपमा पोष्टरमा देख्न सकिन्छ ।
उपेन्द्र सुब्बाको लेखन रहेको ‘फूलबारी’मा कमल किशोर मलपानीको कथा एवं अवधारणा छ ।
यशोदा फिल्मस्को ब्यानरमा सामाजिक कथामा फिल्म निर्माण भएको हो ।
अभिभावक र सन्तानबीचको सम्बन्धको कथामा फिल्म निर्माण भएको बताइएको छ ।
फूलबारीमा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको छ ।
मणिराम पोखरेल कार्यकारी निर्माता रहेको फिल्ममा मनिष ढकाल निर्माताको रुपमा छन् ।
‘कबड्डी ४’ प्रदर्शनको छोटो समयमै रामबाबुले ‘फूलबारी’ निर्देशन गरेका हुन् ।
प्रदर्शनरत ‘के घर के डेरा’पछि दयाहाङ र बिपिनलाई दर्शकले यस फिल्ममा हेर्न पाउने भएको हुन् ।
‘हेभी वेट’ प्रतिस्पर्धा
‘फूलबारी’ले फागुनको ५ गतेका लागि प्रदर्शन मिति तय गरेको छ ।
उक्त मितिमा अन्य दुई फिल्महरू ‘परदेशी २’ र ‘लण्डन टु पेरिस’ पनि प्रदर्शनमा आउँदैछन् ।
सफल फिल्मको सिरिज ‘परदेशी २’लाई प्रतिक्षित रुपमा हेरिएको छ ।
यता, साम्राज्ञी राज्यलक्ष्मी शाह लामो समयपछि ‘लण्डन टु पेरिस’मार्फत दर्शकमाझ आउँदै गर्दा उक्त फिल्म पनि विशेष छ ।
दुई फिल्मले प्रदर्शन मिति तोकिसकेको अवस्थामा ‘कबड्डी’ फेम्ड निर्देशकको फिल्म पनि सोही मितिमा आउने भएपछि फिल्म वृत्तमा चासोका रुपमा हेरिएको छ ।
उक्त प्रतिस्पर्धालाई धेरैले ‘हेभी वेट’ प्रतिस्पर्धाका रुपमा हेरेका छन् ।