२४ असार २०८३, बुधबार
प्रतिनिधिसभा निर्वाचन

महेश बस्नेतको प्रचार शैली : विजयी र्‍यालीको झल्को दिने चुनावी घरदैलो [फोटो/भिडियो]

महेश बस्नेतको प्रचार शैली : विजयी र्‍यालीको झल्को दिने चुनावी घरदैलो [फोटो/भिडियो]

समय : आइतबार दिउँसो २ बजे ।
स्थान : सूर्यविनायक नगरपालिका– ४ दधिकोट ।

चोकमा ३०/४० जनाको हाराहारीमा एमालेका कार्यकर्ताहरू थिए । हातमा फूलमाला र पार्टीको झण्डा लिएर उभिइरहेका उनीहरूले प्रतीक्षा गर्दै थिए, महेश बस्नेतको । 

भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका बस्नेतको त्यहाँ घरदैलो कार्यक्रम हुने तयारी थियो । 

स्पिकरमा घन्किन थालिसकेको थियो, ‘शहर–शहरमा ओली, गाउँ–गाउँमा ओली ।’ बस्नेतको आगमन हुन केही ढिला भयो । 

उनी करीब ३ बजे सोही क्षेत्रका प्रदेशसभा उम्मेदवार किरण थापासँगै आइपुगे । त्यतिञ्जेलसम्म कार्यकर्ताहरूको संख्या बढेर डेढ सय हाराहारी पुगिसकेको थियो ।

त्यहाँ रहेका कार्यकर्ताहरूले बस्नेत र थापालाई फूलमाला लगाइदिए । 

अनि नारा लगाउन थाले–

नेकपा एमाले जिन्दावाद !
महेश दाई, हाइहाइ !
किरण दाइ, हाइहाइ !
भोट के मा ? सूर्यमा ।
भक्तपुरले के भन्छ ? महेश बस्नेत ले भन्छ । इत्यादि । 

खासमा महेश र किरणको घरदैलो कार्यक्रम विजयी र्‍यालीको झल्को दिने खालको थियो । महेश र किरण अघिअघि, नेता कार्यकर्ताहरू नारा लगाउँदै नेता कार्यकर्ताहरू पछिपछि ।

सडकमा अघि बढ्दै गर्दा बीच–बीचमा रोकेर फूलमाला लगाइदिनेबाहेक अन्यसँग उम्मेदवारहरूले भेटेनन् । घर–घरमा पनि पुगेनन् ।

र्‍याली अगाडि बढ्दै गयो । त्यत्तिकैमा ६०/६२ वर्षीय एक व्यक्ति अगाडि आए । उनले दुबो, सयपत्री, गोदावरी फूल दिँदै शुभकामना दिए । 

बस्नेतलाई उनको शुभेच्छा गज्जब लागेछ क्यारे, अगाडि रहेका 'क्यामेरा पर्सन'लाई भिडियो खिच्न आग्रह गर्दै ती व्यक्तिलाई फेरि शुभकामना दिनुस् भनेर आग्रह गरे ।

हातमा रहेको दुबो देखाउँदै उनले भने, ‘यो दुबोजस्तै मौलाउनू’ । फेरि सयपत्री फूल देखाउँदै भने, ‘सयपत्रीजस्तै फक्रिनू’ । अर्को गोदावरी फूल देखाउँदै थपे, ‘यो गोदावरी जस्तै ढकमम्क भएर संसदमा छाउनू, यही छ शुभकामना !’ 

र्‍याली अगाडि बढ्दै गयो । बीचबीचमा मतदाताहरू सडकमा आएर बस्नेत र थापालाई फूलमाला लगाइदिँदै शुभकामना दिन्थे । यत्तिकैमा हर्षचोक पुग्दै गर्दा वृद्ध दम्पती फूलमाला लिएर बसिरहेका थिए । 

उनीहरूले बस्नेत र थापालाई फूलमाला लगाइदिए । शुभकामना दिए । उनीहरू रहेछन्, हर्षचोक निवासी ८६ वर्षीय खड्गप्रसाद दाहाल र ७५ वर्षीया विष्णुमाया दाहाल ।

उहाँहरूलाई के भनेर शुभकामना दिनुभयो ? लोकान्तरको प्रश्नमा वृद्ध दम्पतीले जवाफ दिए, ‘विजयी हुनुहोस् । राम्रो काम गर्नुहोस् । विकास गरिदिनुहोस् भन्यौं ।’

र्‍याली अमरहल पुल, फलामे पुल, ल.कलेज, हिल्चोक उकालो, चित्रपुर, गाम्चा चोक हुँदै अगाडि बढ्यो । भक्तपुर क्षेत्र नं. २ मा यसअघि पनि महेश बस्नेतले चुनाव जितेका थिए ।

यहाँ यसपटक नेपाली कांग्रेसबाट दुर्लभ थापा क्षेत्री प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन् । उनलाई माओवादी, नेकपा एससहित गठबन्धन सहयात्री दलहरूको साथ छ ।

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा भक्तपुर २ बाट कांग्रेसले २५ हजार ७६४, एमालेले २४ हजार २८६, नेमकिपाले ४ हजार ९२५, राप्रपाले ४ हजार १७२, नेकपा एसले १ हजार २ सय २ र माओवादी केन्द्रले १ हजार ४५ मत पाएका थिए ।

हेर्नुहोस्, भिडियो :

थप तस्वीर :

salt training

कमेन्ट गर्नुहोस्