
नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार विरोध खतिवडालाई एक स्थानीयले झापड हानेका छन् ।
खतिवडा गठबन्धनकोतर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । उनी पूर्व मन्त्री पनि हुन् ।
मकवानपुरको मनहरी गाउँपालिका–४ मा भोट माग्न गएका खतिवडा गाडीबाट ओर्लनसाथ स्थानीय पुरुषोत्तम खड्काले झापड हानेको बताइएको छ ।
उम्मेदवारमाथि अभद्र व्यवहार गरेको आरोपमा खड्कालाई इलाका प्रहरी कार्यालय नेवारपानीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा बुझाएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताए ।
‘उम्मेदवारमाथि अभद्र व्यवहार भएको भन्ने सुचना प्राप्त भएपछि एक जनालाई नियन्त्रणमा के भएको हो भन्ने विषयमा जाँचबुझ गरिरहेका छौं’, कार्कीले लोकान्तरसँग भने ।
खड्काले खतिवडामाथि किन हातपात गरेको भन्ने खुलेको छैन ।