
मंसिर ४ गतेपछि देशको निर्णायक शक्ति बन्ने महत्वकाङ्क्षा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेकपा एमालेसँग देशका तीन जिल्लामा चुनावी तालमेल गरेको छ । त्यसमध्ये एक हो बाँके, जहाँ राप्रपा महामन्त्री डा. धवल शमशेर राणा चुनावी प्रतिस्पर्धामा छन् ।
एमालेसँग देशव्यापी चुनावी तालमेल गरेको जसपाका प्रभावशाली नेता इस्तियाक राईसँग धवलको प्रतिस्पर्धा हुँदैछ । तर, प्रतिनिधि सभातर्फ बाँके २ मा भने एमाले र जसपाको तालमेल छैन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा दुई पार्टीबीच चुनावी तालमेल गर्नका लागि राप्रपाले बाँकेमा धवललाई सघाउनुपर्ने शर्त राखेको थियो । जसका कारण एमालेसँग कैयौं स्थानमा तालमेल हुँदा पनि इस्तियाकले एमालेको ‘मुबारक’ पाएनन् ।

२०७४ सालमो स्थानीय तह निर्वाचनमा नेपालगञ्ज उपमहानगरको मेयर जितेर धवलले राप्रपाको नाक जोगाइदिएका थिए । मेयर छँदा खेलेको भूमिकाका कारण धवल नेपालगञ्ज र सिंगो बाँके जिल्लामा परिचित छन् । स्थानीयहरू उनलाई भ्रष्टाचार नगर्ने नेताकोरूपमा चिन्छन् । दुईपटक नेपालगञ्जको मेयर रहेको समयमा उनले कैयौं सुधारका काम गरेका थिए ।
नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोजीका स्थानीय मतदाता सन्तोष थापा राप्रपा पार्टीभन्दा पनि बाँकेमा धवलशमशेर ब्राण्ड रहेको बताउँछन् । ‘पार्टी भन्दा पनि व्यक्तिगत प्रभावका कारण धवलले बाँकेमा चुनावी रौनक तताइरहेका छन् । उनको मुख्य प्रतिस्पर्धा जसपाका इस्तियाक राइसँग हुने सम्भावना ज्यादा छ’ थापाले लोकान्तरसँग भने ।
नेपालगञ्जमा भेटिएका जसपाका एक नेताले सांसद हुँदा गरेको कामका कारण मतदाताले इस्तियाकलाई रोज्ने बताउँछन् ।
त्रिपक्षीय प्रतिस्पर्धामा स्वतन्त्रको चुनौती
बाँके–२ मा एमाले समर्थित राप्रपा उम्मेदवार, जसपा उम्मेदवार र सत्ता गठबन्धनका उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा छ । २०७४ सालको प्रतिनिधि सभा चुनावमा यो क्षेत्रबाट जसपाका इस्तियाक राईले चुनाव जितेका थिए । यो क्षेत्रबाट उनले विगतमा चुनाव जित्दै आएका छन् । नेपालगञ्जका ठूला भवनमा उनले आक्रामक प्रचार गरिरहेका छन् ।

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सुदिप नरसिंह राणा चुनावी मैदानमा छन् । यसपटक रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार र अन्य स्वतन्त्र उम्मेदवारले गठबन्धनका उम्मेदवारलाई चुनौती दिएका छन् ।
नेपाली कांग्रेसकी स्थानीय नेतृ अनिता हमाल सुशील कोइरालाले शुरू गरेको विकासको अभियानलाई निरन्तरता दिन कांग्रेसले चुनाव जित्ने दावी गरिन् । ‘नेपाली कांग्रेस आफैमा बलियो छ, त्यसैमाथि सत्ता गठबन्धनका दलको समर्थन छ । स्थानीय तह निर्वाचनमा पाएको मत पनि एउटा आधार हो’ हमालले भनिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद अग्रहरी घण्टी चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा छन् । लामो समय अष्ट्रेलिया बसेर फर्केका अग्रहरी टेलिकम इन्जिनियर हुन् । ‘पूराना राजनीतिक दलप्रति मतदातामा रहेको आक्रोशको भोट स्वतन्त्र पार्टीका उम्मेदवारले पाउने सम्भावना छ, उनले पाउने भोटले समीकरण फेरबदलल हुन पनि सक्छ’ सन्तोषले विश्लेषण गरे ।
प्रदेश सभामा उठेका बुवा सुरेन्द्र हमालको चुनाव प्रचारमा हिडेकी श्रीया हमाल राणा प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धनका सबै उम्मेदवारले चुनाव जित्ने दावी गरिन् । ‘मतदाताबाट धेरै राम्रो रेस्पोन्स पाएका छौं, हामीले चुनाव जित्नेमा कुनै शंका छैन’ श्रीयाले भनिन् ।
गत स्थानीय तह निर्वाचको वडा तहको मतमा कांग्रेस पहिलो, एमाले दोस्रो र जसपा तेस्रो स्थानमा छन् । कांग्रेसले १८ हजार ३७ मत पाउँदा एमालेले १५ हजार ४७८ र जसपाले १३ हजार ८०९ मत पाएका थिए । राप्रपाले ८ हजार ४९४ मत पाउँदा माओवादीले ६ हजार ८५९ र नेकपा एसले ८२१ मत पाएका थिए । स्थानीय तह निर्वाचन र प्रतिनिधि सभाको सन्दर्भ फरक भएकोले पुरानो जनमतको आधारमा विश्लेषण गर्न नमिल्ने मतदाताहरुको भनाई छ ।
के भन्छन् मतदाता ?
स्थानीयहरू सम्मानस्वरुप धवलशमशेरलाई ‘राजा’ सम्बोधन गर्छन् । मेयर रहेको समयमा होस या नरहेको समयमा पनि उनी समाजसेवामा सक्रिय हुन्छन् । त्यही कारण मूलधारमा दललाई पाखा लगाएर उपमहानगरको मेयरमा राप्रपालाई जिताएका थिए ।
नेपालगञ्ज–४ पिपल चौताराका सञ्जय कौशल प्रतिनिधिसभामा ‘धवल राजा’को सम्भावना धेरै देख्छन् । ‘इस्तियाक राइ र धवल शमशेर राणाबीच कडा टक्कर होला जस्तो देखिन्छ, सत्ता गठबन्धन पनि बलियो रहेकोले यसै भन्न सकिन्न’ कौशलले भने ।

नेपालगञ्ज–२ बागेश्वरी टोलका सन्तोषकुमार गुप्ता पनि मुख्य प्रतिस्पर्धा धबल र इस्तियाकको हुने बताउँछन् । ‘केन्द्रीय मन्त्री भएर इस्तियाकले बाँकेका विकास गरेका छन्, मेयर भएर गरेको कामका कारण मतदाताले धवललाई पनि रुचाएका छन्’, गुप्ताले भने ।
नेपालगञ्जको बागेश्वरी टोलका मतदाता मनिष श्रीवास्तव स्थानीयमाझ धवलको धवी भ्रष्टाचार विरोधी नेताकोरुपमा स्थापित भएको बताउँछन् । ‘जतिबेला राप्रपाको राजनीति ओरालो लागेको थियो चुनाव जितेर इतिहास रचेका थिए, राजनीतिक दल भन्दापनि व्यक्ति हेरेर मतदाताले धोट दिने सम्भावना छ’ श्रीवास्तबले भने ।
बाँके क्षेत्र नम्बर २ हिन्दु र मुस्लिम समुदायका मतदाता मिश्रित क्षेत्र हो । उपमहानगर भए पनि यहाँका कतिपय बस्ती धेरै विकट र पिछडिएका छन् । त्यहाँका मतदाताको भोट चुनाव जित्नको लागि निर्णायक हुन्छ ।
नेपालगञ्ज ४ का स्लाम शेख नेपालगञ्जको विकासका लागि इस्तियाक राईले राम्रो काम गरेको बताउँछन् । उनको भनाइमा समर्थन जनाउँदै नेपालगञ्ज-११ का स्लाम खानले धवल र इस्तियाकबीच प्रतिस्पर्धा रहेको बताए ।

नेपालगञ्जको बीपी चोकमा बाँके–२ को चुनावी नतिजाको सम्भावनाबारे स्थानीय तीनजना मतदाताबीच कुराकानी चलिरहेको थियो । नेपालगञ्ज १० भृकुटीनगरका विजय मण्डल धवल र इस्तियाकबीत नै मुख्य प्रतिस्पर्धा रहेको बताए । ‘हुन त यहाँ सत्ता गठबनधन पनि छ, स्थानीय चुनावमा गठबन्धनले नै मेयर जितेको थियो । मतदाताको कुरा सुन्दा धवल र इस्तियाकबीच नै प्रतिस्पर्धा हुने ठानिएको छ’ मण्डलले भने ।
नेपालगञ्ज–१ धम्बोजीका उमेश सापकोटा मेयर छँदा गरेको कामका कारण धवलको सम्भावना रहेको बताउँछन् । ‘यहाँका मतदाताले राजनीतिक दल भन्दा पनि सक्षम व्यक्तिलाई हेरिरहेका छन् । त्रिपक्षीय प्रतिस्पर्धामा धवल अगाडि जस्तो देखिन्छन्’ सापकोटाले भने ।
नेपालगञ्ज–११ का रमेशकुमार डबगर मेयर छँदा गरेको काम र व्यक्तिगत लोकप्रियताका कारण प्रतिस्पर्धामा धवल अगाडि रहेको बताउँछन् ।
नेपालगञ्जकै अर्को एक चियापसलमा यस्तै चुनावी गफ भइरहेको थियो– सौभाग्य थापा, शिखर श्रेष्ठ र सन्तोष थापाबीच । ‘इस्तियाक र धवलबीच रोचक भिडन्त छ, निवर्तमान मेयर भएकोले स्थानीयबीच धवलको लोकप्रियता कायम छ’, थापाले नेपालगञ्जको मनोविज्ञान सुनाए ।

चुनाव जितेर यहाँका अधुरा काम पूरा गर्छु
‘जितेगा भाइ जितेगा, हलो सूर्य जितेका’को नारा लगाउँदै एमाले र राप्रपाको टोली प्रचामा हिँडेको छ । धवलको क्षेत्रमा रहेको प्रदेश सभामा दुवै एमालेका उम्मेदवार छन् । एमालेबाट राम्रो सहयोग पाइरहेकोले चुनाव जित्नेमा आफू ढुक्क रहेको धवलले बताए ।
‘यहाँका जनताले मलाइ माया गर्छन, जनताको मायालाई मैले जतन गरेर राखेको छु । मेयर बन्दा कुनै पनि दाग धब्बा नलागी दुईपटक नगरपालिकालाइ नमुना बनाएको छु’ राणाले भने, ‘मैले कामले प्रमाणित गरेरे देखाएकोले । प्रतिनिधि सभा सदस्यको लागि नेपालगञ्ज र डुडुवाका जनताले देशको सेवा गर्न दिनु हुनेछ भन्ने विश्वासमा छु ।’

धवलको चुनाव प्रचारका लागि ह्वील चेयरमा हिडिरहेका प्रज्वल शाहीले नेपालगञ्जको विकासका लागि धवल आवश्यक रहेको बताए । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरू भोट माग्न घरघरमा पुगेका छन् । बहुपक्षीय प्रतिस्पर्धाले यहाँको चुनावी माहौललाई रोमाञ्चक बनाइदिएको स्थानीयको प्रतिक्रिया छ ।
भिडियाेमा हेर्नुहाेस् धवल शम्शेरसँगकाे कुराकानी
तस्वीरमा हेर्नुहाेस् नेपालगञ्जकाे चुनावी राैनक





