
ललितपुरकी एक ५५ वर्षीया महिला टेष्टट्युब बेवी पद्दतीबाट आमा बन्न सफल भएकी छन् । नर्भिक आईभीएफ सेन्टरमा एक वर्षको उपचारपछि ललितपुरकी विमला रजकले स्वस्थ सन्तानलाई जन्म दिन सफल भएकी हुन् । शल्यक्रियामार्फत शनिवार बच्चा निकालिएको र हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य छ ।
‘बढ्दो उमेरमा गर्भाधारण गरी सन्तान जन्माउनु जोखिमपूर्ण मानिन्छ’, नर्भिक आईभीएफ सेन्टरकी वरिष्ठ टेष्टट्युव बेवी विशेषज्ञ डा. नुतन शर्माले भनिन्, ‘तर, पनि नर्भिक आइभिएफको उच्च जोखिम व्यवस्थापन र उत्कृष्ट उपचार प्रक्रियाबाट सहजै रुपमा आईभीएफमार्फत ती महिलालाई आमा बनाउन सफल भयौँ, यसमा हामी सबै खुसी छौँ ।’
‘३० वर्षीय छोराको आकस्मिक निधन भएर विक्षिप्त बनेको हाम्रो परिवारमा २७ वर्षपछि छोराको रुपमा अर्काे सन्तान आउँदा खुसीको सीमा छैन’, विमलाले भनिन् ।
नर्भिक आईभीएफमा उपचारका लागि आएका रजक दम्पत्तिले पहिलो प्रयासमै आईभीएफ पद्दतिबाट सन्तान जन्माउन सफल भएको डा. शर्माले जानकारी दिइन् । श्रीमतीको उमेर ५५ वर्ष र श्रीमानको उमेर ६८ वर्षको छ ।
नेपालको सन्दर्भमा उमेर बढ्दै जाँदा महिलाको हर्माेनमा आउने परिवर्तन, पाठेघरको अवस्था र विभिन्न स्वास्थ्य समस्याका कारण यो उमेरमा आईभीएफ पद्दतिबाट सन्तान जन्माउनु चुनौतीपूर्ण भए पनि आधुनिक सुविधा र दक्ष जनशक्तिका कारण सम्भव भएको डा. शर्माले बताइन् ।
यसअघि पनि नर्भिक आइभिएफ सेन्टरमा उपचारपछि ५४ वर्षीया काठमाडौंकी एक महिलाले आईभीएफ पद्दतिबाट जुम्ल्याहा सन्तान जन्माएकी थिइन् ।
‘बढी उमेर समूहको भएका महिलालाई हामीले शुरुवातदेखि नै उच्च जोखिम समूहमा राखेर उपचार गर्छाैँ’, डा. शर्माले भनिन्, ‘पछिल्लो सफलताले पनि बढ्दो उमेर मात्र सन्तान प्राप्तिमा बाधक होइन भन्ने पुष्टि गरेको छ । तर, सन्तान प्राप्तिको चाहना भएकाहरूले समयमै चिकित्सकसँग परामर्श गर्न जरुरी हुन्छ ।’