२२ असार २०८३, सोमबार
कीर्तिमानी महिला

इन्जिनियर तबस्सुम: संस्कृत विश्वविद्यालयबाट पीएचडी गर्ने एकमात्र मुस्लिम

बैशाख २२, २०८१
बुटवल
इन्जिनियर तबस्सुम: संस्कृत विश्वविद्यालयबाट पीएचडी गर्ने एकमात्र मुस्लिम

पश्चिम नेपालको प्रमुख शहर हो बाँकेको नेपालगञ्ज । नेपालगञ्ज मुस्लिम समुदायको बाहुल्य शहरमा पनि पर्छ । केही दशकअघिसम्म त्यहाँका मुस्लिम समुदायमा छोरीले पढ्नुपर्छ भन्ने चेतना कमैलाई मात्र थियो । त्यही समुदायमा जन्मिएकी थिइन्– तबस्सुम सिद्दिकी । परम्परा पछ्याउने समुदायको घेराबाट बाहिर निस्केर तबस्सुमका बुवा डा सलाहुद्दिन अख्तर सिद्दिकी न्यायाधीशसम्म बन्न सफल भए । यसले गर्दा उनले छोरा/छोरीलाई पढाउन कुनै कसर बाँकी राखेनन् । तबस्सुमलाई पढाउन बोर्डिङ स्कूल पठाए ।  

विद्यालयमा अन्य समुदायका साथी (विद्यार्थी) र शिक्षकसँग घुलमिलका लागि समस्या भए पनि बुवाको साथ पाएर तबस्सुमले राम्रोसँग पढिन् । पढ्न शुरू गरेपछि अन्य सामाजिक बन्धन, आर्थिक अभाव र विभेद उनले कहिल्यै खेप्नु परेन । 

तिनै तबस्सुमले हालै हिन्दूहरूले धेरै अध्ययन गर्ने भनेर चिनिएको नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेर कीर्तिमान राखेकी छिन् । हिन्दू वास्तुकलामा पीएचडी गरेर उनी डा तबस्सुम बनेकी छिन् । उनको हातमा अहिले मुस्लिम समुदायबाट संस्कृत विश्व विद्यालयबाट पोस्टग्राजुवेट (पीएचडी) गर्ने कीर्तिमान छ ।  

तबस्सुमको शोध शीर्षक ‘हिन्दू वास्तुशास्त्र तथा इस्लामिक वास्तुकलाबीच तुलनात्मक अध्ययन र समकालीन नेपाली वास्तुकलामा त्यसको प्रभाव’ रहेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–९ इदगाहा ‘रोड’की तबस्सुम आर्किटेक इन्जिनियरसमेत हुन् । आफ्नो समाज बुझ्नका लागि आफूले संस्कृत पढेको उनी बताउँछिन् । ‘आफ्नो समाज नबुझी कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सकिँदैन’ उनी भन्छिन्, ‘त्यसैलै हिन्दू वास्तुकलामा पढ्ने रुचि बढाए । हरेक वास्तु संरचनामा हाम्रो शास्त्र र कला खोज्न थालेँ ।’ घर वा भवन निर्माण गर्दा होस् वा आन्तरिक सजावटको काम गर्दा, त्यसका लागि उनी पहिला शास्त्रतर्फ फर्किन्छिन् । ‘अनि त्यसमा कलात्मकता भर्न रुचाएँ,’ उनी थप्छिन् । 

हरेक मानिसको आ–आफ्नै आस्था रहे पनि वास्तुकलालाई लागू गर्न भने नसकिने तबस्सुमको भनाइ छ । उनले अब वास्तुकलालाई पर्यटनसँग जोडेर रिसर्च गरी एकेडेमिक रुपमा काम गर्ने योजना सुनाइन् । 

null

‘हाम्रो समुदायले पढाइमा जोड नदिएको र नेपालका मुस्लिमले हिन्दू धर्मशास्त्र नपढेको विषय बढी चासोको विषय रहयो । यसर्थ मैले पीएचडी पूरा गर्ने नेपालकै पहिलो मुस्लिम महिला हुँ । २०७३ मा नेपाल संस्कृत विश्वविद्यालयमा भर्ना भएर २०८० भित्रै वास्तुकलामा पीएचडी गरेकी हुँ,’ तबस्सुमले भनिन् ।

आफ्नो पढाइको सबैभन्दा ठूलो श्रेय बुवा सलाहुद्दिनलाई जाने उनी बताउँछिन् । ‘मेरो पढाइको सबैभन्दा ठूलो श्रेय नै बाबालाई जान्छ,’ उनले थपिन्, ‘कसैले केही नसक्ने भन्ने हुँदैन । सफलतामा पुग्न अरूका लागि पनि सजिलो थियो होला, मेरा लागि केही अफ्ठ्यारो पनि भयो होला । यसकारण मिहिनेत गर्न र सपना देख्न नछोड्नुस् । आफ्नो सपना पूरा हुन्छ ।’ 

हिन्दूहरूले वास्तुलाई धर्मको एउटा अंकका रुपमा लिन्छन् । तबस्सुम भने कलाको रुपमा पनि बुझ्छिन् ।  ‘वास्तवमा वास्तु एउटा कला हो, जसको वर्णन वेद, उपनिषद आदि संस्कृतका ग्रन्थहरूमा पाइने गरेको छ,’ उनी भन्छिन् । उनी वास्तुशास्त्रलाई वैदिक डिजाइनको संज्ञा दिन्छिन् । यसकारण यसलाई अन्तर्राष्ट्रियकरण गर्न चाहन्छिन् उनी । यसर्थ उनले शोधपत्रलाई पनि अंग्रेजी भाषामा लेखेकी छन् । संस्कृत विश्वविद्यालयमा प्रायः संस्कृत वा नेपाली भाषामा शोध लेख्ने चलन छ ।

नेपालमा हिन्दू धर्मावलम्बीको बाहुल्य छ । यसर्थ इस्लामिक वास्तुकलासँगै हिन्दू वास्तुशास्त्रलाई पनि अध्ययनको विषय बनाएको उनको भनाइ छ । नेपाली वास्तुकलाको माध्यमबाट इस्लामिक बाहुल्य मुलुकहरूसँग सम्बन्ध सुदृढीकरण र पर्यटन विकास गर्ने प्रशस्त सम्भावना रहेको उनको भनाइ छ ।

तबस्सुम विसं २०५६ मा अध्ययनका लागि पाकिस्तान पुगिन् । लाहोरमा रहेको नेसनल कलेज अफ आर्टस्मा ब्याचलर इन आर्किटेक्चर पढिन् । यो कोर्स पूरा गर्न उनलाई ५ वर्ष लाग्यो । त्यसपछि त्यहीँ उनले इन्टेरियर डिजाइनमा  स्नातकोत्तर गरिन् । त्यहाँ पढिसकेपछि उनी ७ वर्षपछि नेपाल फर्किन् । पाकिस्तानमा अध्ययन गरेपनि उनले आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचिन् । तर, नेपाल फर्किँदा देशमा द्वन्द्व चलिरहेको थियो । नेपाल आएर पनि बस्न सहज अवस्था थिएन । यस्तोमा उनी फेरि भारतको लखनऊ गइन् । त्यहाँ उनले एउटा कलेजमा प्राध्यापकको रुपमा काम गरिन् । उनलाई भारतमा भन्दा आफ्नै मुलुकमा फर्केर काम गर्न मन थियो । त्यसैले विसं २०७० मा उनी फेरि नेपाल आइन् ।

स्वदेश फर्किएपछि तबस्सुमले आफूलाई आर्किटेक्ट इन्जिनियरको रुपमा चिनाउनु थियो ।  यसैले ललितपुरको पुल्चोक इन्जिनियर कलेजमा काम गर्न थालिन् । त्यसपछि उनले पुल्चोक र हिमालयन कलेजमा फ्याकल्टी मेम्बरका रुपमा काम गरिन् । उनलाई विद्यार्थीलाई पढाएर मात्र नभइ योबाहेक केही गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । त्यसपछि पीएचडी गर्ने सोच बनाइन् । विद्यावारित त गर्ने तर कहाँबाट ? कसरी ? उनले विश्वविद्यालय खोजिन् । अन्ततः नेपाल संस्कृत विश्वविद्यालय छनोट गरिन् । ‘मैले अध्ययनका लागि छनोट गरेको विषय संस्कृतमै थियो, त्यसको जानकारी लिनका लागि पनि मैले यो विश्वविद्यालय रोजेँ’ उनी भन्छिन्, ‘संस्कृत विश्वविद्यालय हिन्दुहरूका लागि मात्र हो भन्ने मान्यता छ । यही भ्रम चिर्नका लागि पनि मैले यो विश्वविद्यालयबाट पीएचडी गरेकी हु ।’ शिक्षामा कुनै धर्म र समुदाय हुँदैन । जसले पनि पढ्न सक्छन् भन्ने उदाहरण आफूले दिएको उनको भनाइ छ । सात वर्ष लगाएर उनले पीएचडी गरेकी हुन् ।

तबस्मुमको ७ जनाको परिवार नै शिक्षामा अब्बल थियो । उनी परिवारकी जेठी छोरी हुन् । उनका भाइ मोहम्मद आसिफ सिद्दीकी मलेलियाबाट इन्जिनियरिङ शिक्षा हासिल गरी अहिले कतारमा काम गरिरहेका छन् । आसिफपछिको अर्को भाइ आमिर सिद्दीकी काठमाडौंस्थित गंगालाल हृदयरोग केन्द्रमा काम गरेर अहिले पपुवा न्युगिनीमा प्यासिफिक अन्तर्राष्ट्रिय अस्पतालको मेडिकल डाइरेक्टर छन् । कान्छी बहिनी डा तरन्नुम सिद्दीकी भारतबाट एमपीटी गरेर बीएनबी अस्पतालमा वरिष्ठ फिजियोथेरापिस्ट छिन् । 

तबस्सुम अहिले मुंशी सिद्दीकी परिवारबाट सञ्चालित द मदर फाउन्डेसन नामक संस्थाकी अध्यक्ष छिन् । संस्थाको उद्देश्य नेपालमा समावेशी विकास र प्रजातन्त्रको सुदृढीकरण तथा कला, आर्किटेक्चर एवम् संस्कृतिको माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्धको सुदृढीकरण गर्ने रहेको छ । उनले विभिन्न कलेजमा वास्तुकलासम्बन्धी प्राध्यापन पनि गराइरहेकी छिन् ।

तबस्सुमले भविष्यमा नेपाली कलाकृतिको माध्यमबाट नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणमा सहयोग गर्ने योजना रहेको बताइन् । ‘यो अभियानको सफलता नेपाल सरकार तथा नेपाली समाजको सहयोगमाथि निर्भर हुन्छ । हेरौं, एउटा मुस्लिम महिलालाई हिन्दू बहुमत समाजले कति महत्व र सहयोग गर्नेछ’ उनले भनिन् । 

नेपाली मुस्लिम समुदायमा शैक्षिक सुधार गर्न मदरसा शिक्षालाई आधुनिकीकरण गर्नु अनिवार्य रहेको तबस्सुमको सुझाव छ । ‘आधुनिकीकरणले मात्रै मदरसा शिक्षालाई राष्ट्रिय प्रवाहमा सक्रिय गराउन सकिन्छ’, तबस्सुम भन्छिन्, ‘यही समुदायको विकासका लागि क्रियाशील हुने मेरो योजना छ ।’

salt training

कमेन्ट गर्नुहोस्