×

सफल व्यवसायीको कथा

रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काएका पाण्डेको यात्राः किराना पसल हुँदै ‘फोर स्टार’ होटलसम्म

अबको लक्ष्य पोखरा वा काठमाडौंमा ‘स्टार’ होटल

बुटवल | कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि सामान्य होटलबाट पर्यटन क्षेत्रमा पाइला चालेका पाण्डे ‘हस्पिटालिटी’  क्षेत्रमा  सक्षम नेतृत्वको रूपमा दरिएका छन् । उनकै ‘कन्सेप्ट’ले एसियन पार्टी प्यालेस, एसियन होटलदेखि एसियन बुद्ध ‘फोर स्टार’ होटलसम्म रूपन्देही क्षेत्रमा चर्चित छन् । जतिबेला पनि ‘टुरिजम’ क्षेत्रमा केही फरक गर्ने हुटहुटी भएका पाण्डेलाई सफलताले सधैँ पच्छ्याइरहेको छ । 

Laxmi Bank

पर्यटन क्षेत्रको विकास र विस्तारबाट व्यक्ति विशेषले मात्रै होइन, सिंगो मुलुकले आर्थिक फाइदा लिन सक्छ भन्ने निचोडले आफू पर्यटन क्षेत्रमा तानिएको पाण्डे बताउँछन् । हुन पनि उनी यस क्षेत्रमा नयाँ ब्राण्ड पस्कँदै आइरहेका छन् । परम्परागत नेपाली समाजलाई ‘हस्पिटालिटी’ क्षेत्रले चामत्कारिक ढंगबाट बदलेको पाण्डेको बुझाइ छ । उनी जे आँट गर्छन्, त्यसपछि उनले कहिल्यै पछाडि फर्किन नपरेको पाण्डेलाई नजिकबाट चिन्नेहरू बताउँछन् । उनको सफलता र उद्यमशीलताको यात्रा पनि उत्तिकै रोचक र चाखलाग्दो छ ।  


Advertisment

null


Advertisment

मोदी ग्रुपको जागिर छोडर स्वदेश फिर्ता 
पाण्डे साविक अर्घाखाँचीको भगवती गाविस वडा नम्बर–५ मा विस २०२० मा जन्मिएका हुन् । सानैदेखि लगनशील र इमानदार उनले विद्यालय तह गाउँकै सरस्वती निमाविमा पढे । उनले २०३७ मा चुत्रावेशीको जनज्योति माविबाट तत्कालीन एसएलसी (हाल एसईई) उतीर्ण गरे । त्यसलगत्तै युनिसेफको परियोजनाअन्तर्गत स्वास्थ्य कार्यकर्ताको रूपमा भगवती गाविसमा काम गर्न शुरू गरे । तीन वर्ष गाउँमै स्वास्थ्य क्षेत्रमा काम गरे । त्यसपछि पढ्दै–कमाउँदै गर्ने सोचका साथ उनी २०४२ मा भारतको नयाँ दिल्ली हानिए । उनका दाजु रोजगारीको सिलसिलामा त्यहीँ थिए । 

त्यहाँ पाण्डेले मोदी ग्रुपअन्तर्गतको इटालियन कम्पनीमा राम्रो काम गर्ने अवसर पाए । कम्पनीले उनलाई नेपालको काठमाडौं शाखा हेर्नेगरी यतै पठाइदियो । दुई वर्ष काठमाडौंमा काम गरे । त्यसपछि पाण्डे सोही कम्पनीसँग सम्बन्धित काम गर्न दिल्लीमै गए । कम्प्युटर बिक्री गर्ने उक्त कम्पनीमा उनले झण्डै दुई दशक काम गरे । उनले सो जागिरबाट राम्रो कमाइ पनि हात पारे । कम्पनीले उनलाई मुम्बई शाखामा सरुवा गरिदियो । तर, उनले मुम्बई नजाने निर्णय गरे । बरू नेपाल फर्किएर पर्यटन क्षेत्रमा लगानी गरेर काम गर्ने सोच बनाए ।

‘दिल्लीबाट मुम्बई सरुवा भएपछि मैले त्यहाँ नजाने निर्णय गरेँ । मलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोच पलायो । अनि नेपाल फर्किएर व्यवसायमै लाग्ने अठोट गरेँ,’ उनले भने ।

किराना पसलबाट यात्रा शुरू
नेपाल आएपछि पाण्डेले २०५३ मा बुटवलमा किराना पसल खोले । त्यहीँबाट उनले व्यवसायको सुरुवात गरे । तर, यसलाई दीर्घकालीन बनाउने चाहना उनीमा थिएन । होटल व्यवसायका लागि कहाँको स्थान उपर्युक्त हुन्छ भनेर उनी बजार घुमिरहन्थे । घुम्दैजाँदा बुटवलकै ट्राफिकचोकमा घर भाडामा लगाएको उनले देखे । ‘त्यहीँ १० कोठासहितको घर भाडामा लिएर साढे दुई लाख लगानी गरेको हुँ,’ उनी भन्छन् । त्यही ठाउँ उपर्युक्त लागेपछि पाण्डेले जनसेवा नामक होटल सञ्चालन गरी २०५३ मा पर्यटन क्षेत्रमा पाइला टेकेका हुन् । ‘११ हजार मासिक भाडामा लिएर होटल क्षेत्रमा जोडिए,’ पाण्डेले सम्झिए, ‘सबैले महँगो भाडामा लियो भनेका थिए । लाहुरेले होटल चलाउँछु भनेर मलाई महँगो भाडा लिएछ । यसले कति दिन चलाउँला भनेर गाइँगुइँ कुरा गर्थे । तर, म सफल भएर देखाउँछु भनेर मनमा लिइरहेको हुन्थे ।’

आफ्नो व्यवसायमाथि अनेक अफवाह सुनेपछि पाण्डे सचेत भए । एक वर्षको भाडा घाटा गइन्छ भनेर छुट्याएरै राखे । तर, अचम्म ! होटल शुरू गरेको छोटो समयमा नै राम्रै चल्न थाल्यो । भारतमा रोजगारी गरेर गुल्मी, पाल्पा, अर्घाखाँची बागलुङ आदि जिल्ला फर्किनेहरू जनसेवा होटलमा नै बस्न थाले । ‘होटल व्यवसाय भनेको नै अरूको सेवा गर्ने हो । कसको सेवा हो त भन्दा जनताको भन्ने हुन्छ । यसर्थ, नाम पनि जनसेवा राखिएको हो,’ उनी भन्छन्  । पाण्डेले व्यवसायसँगै सेवाको भाव पनि राखेकाले होटलले छोटो समयमै चर्चा कमायो । उनले सबैको साथ–सहयोग पनि पाए । सफलता मिल्दै गयो । होटल चलाउँदै गर्दा अरूलाई सम्मान दिने र आफूले पनि सम्मान लिने भन्ने कुरा सिकेको उनी बताउँछन् । ‘आज खाना खान कहाँ जाने त भन्दा जनसेवामा भन्ने बुटवल तथा यस आसपासमा गुन्जिन थाल्यो,’ पाण्डे भन्छन्, ‘यात्रा गर्नेहरू पनि बुटवलमा झरेर जनसेवामा खाना खाएर जान्थे । २०–२२ वर्ष जनसेवामा तल्लिन रहेँ । यसले मलाई सफलता दिलायो ।’ 

पार्टी प्यालेस हुँदै फोर स्टार होटलसम्म
२०६५ सालताका शहरी क्षेत्रमा पार्टी प्यालेसको ‘कन्सेप्ट’ आएको थियो । पाण्डेले अब पार्टी प्यालेस पनि चलाउनुपर्छ भनेर लगानी गर्नेहरूसँग समन्वय गरे । त्यसपछि टीम नै बनाएर एसियन पार्टी प्यालेस सञ्चालन गरे । त्यसको केही वर्षपछि २०६९ सालमा त्यही नामको होटल पनि सञ्चालनमा ल्याउने योजना बन्यो । उनले टिमसहित कालिकानगरमा होटल एसियन सञ्चालनमा ल्याए । जलाई समयअनुसार स्तरोन्नति गरियो । स्टार होटल स्तरको सुविधासम्पन्न बनाएर सञ्चालन गरियो । पाण्डेको होटलयात्रा यतिमै रोकिएन । २०७६ मा भैरहवामा एसियन बुद्ध ‘फोर स्टार’ पनि चलाए । तर, अहिले उनी एसियन होटल र एसियन बुद्धबाट बाहिरिएका छन् । ‘होटलमा आएका मानिसलाई हेरेर स्वभाव र उनीहरू स्वार्थ छुट्याउन सक्ने भएको छु,’ उनी भन्छन्, ‘होटलमा राम्रो कामका योजना पनि बन्छन् । नराम्रा गतिविधि गर्न पनि यहीँ आउने गरेको पाइन्छ । खराव नियत लिएर आएजस्तो लागे मैले सिधै ‘रिजेक्ट’ समेत गर्थे ।’ यसैबाट हौसिएका पाण्डे थप सुधारसहित पोखरा वा काठमाडौंमा ‘स्टार’ होटल सञ्चालन गर्ने योजनामा छन् । 

पर्यटन क्षेत्रमा लागि चार गाडी सञ्चालन
पाण्डेले पर्यटन क्षेत्रमा लागि चारवटा गाडी पनि सञ्चालन गरिरहेका छन् । हरियो नम्बर प्लेटका दुईवटा हाइस र दुईवटा ‘स्कारपियो’ रहेका छन् । ‘होटललाई चाहिने ट्राभल र गाडी केही पनि कमी नहोस् भन्ने मेरो चाहना छ,’ उनी भन्छन्, ‘होटलबाट पर्यटकहरूले गाडी रिजर्व गरेर घुम्न सकुन् भन्ने हेतुले गाडी सञ्चालन गरिएको हो । ती गाडी पनि अहिले राम्ररी चलिरहेका छन् ।’ 

कोरोना भाइरस महामारी र आर्थिक मन्दीले गर्दा पर्यटन क्षेत्रलाई अफ्ठ्यारोमा पारेको पाण्डेको गुनासो छ । यसले गर्दा पर्यटन क्षेत्रको अबौं लगानी जोखिममा रहेको उनले बताए । बैंकहरू सहज र र यिनले लिने नीतिमा एकरूपता नहुँदा पर्यटन क्षेत्रले अफ्ठ्यारो भोगिरहेको उनले दृष्टान्त दिए । राज्यले पर्यटन क्षेत्रलाई फरक तरिकाले हेर्न नसक्दा उल्लेख्य प्रगति गर्न नसकिएको उनको बुझाइ छ । ‘पर्यटन व्यवसायलाई फस्टाएर लगे राज्यका लागि सबैभन्दा राम्रो अरू केही छैन । यही क्षेत्रबाट सुन फलाउन सकिन्छ,’ उनी भन्छन्, ‘तर पर्यटन व्यवसायीको सोच र लगानीले मात्र यो सम्भव नहुने रहेछ । राज्यले पनि साथ दिनुपर्छ ।’

पर्यटन क्षेत्रमा नबुझी लगानी गर्नेहरू पनि रहेको पाण्डेले बताए । विकल्प हेरेर र बुझेर मात्र यस क्षेत्रमा लगानी गर्न उनको सुझाव छ । ‘दीर्घकालीन सोचबिना पर्यटन क्षेत्रमा हाले दुर्घटनामा पुगिन्छ । प्लानिङ नभएसम्म टिक्न सकिँदैन । यसमा गरिने संस्कार र आथित्यताबारे पनि ज्ञान हुनुपर्छ,’ उनी थप्छन् । पछिल्लो समय होटलमा भोजभतेर समेत गर्न थालिएकोप्रति उनी सकारात्मक देखिएका छन् ।

‘अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन होस्’
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन सके यस क्षेत्रको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने पाण्डेको विश्वास छ । लगत्तै बुटवलमा सस्तो र स्तरीय खाना खुवाउने गरी नेपाली भान्छा घर सञ्चालन गर्ने पाण्डेको योजना छ । जसको नाम पनि ‘एसियन’ नै हुनेछ । अहिले उनी यसको तयारीमा जुटिसकेका छन् । 

पाण्डेका जेठा छोरा प्रवीन चीनबाट मेकानिक इन्जिनियरिङ सकेर आउँदैछन् भने कान्छा विज्ञान बीबीएस पढ्दैछन् । दुवै छोराले आफ्नो अध्ययन पूरा गरेपछि आफ्नै उद्यमलाई साथ दिने पाण्डेको विश्वास छ । उनीहरूको साथ रहे व्यवसाय अझै विस्तार गर्ने सोचमा उनी छन् । पाण्डेकी छोरी शिखा भने डाक्टर छिन् । छोरीको पेशा छनोटप्रति पनि उनी गर्व नै गर्छन् । 

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

जेठ १२, २०८१

हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

असोज ४, २०८१

तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...

श्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

x