
विराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यस बर्षको स्वास्थ्य तथा शिक्षा सेवा प्रदायकमध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्थाको रुपमा सम्मानित भएको छ ।
११ औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार काठमाडौंमा आर्थिक बर्ष २०७७/७८ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट कर तिरेवापत नोवेल मेडिकल कलेज सम्मानित भएको हो।

कलेजले गत आर्थिक वर्षमा १६ करोड ६६ लाख आय कर तिरेको थियो । यो भ्याट र टिडिएस बाहेकको रकम हो ।
नोवेल मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा. भागेन्द्रप्रसाद उपाध्यायले राम्रो सेवा दिदै सर्वाधिक आयकर तिर्ने संस्था बन्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।
‘जनतालाई गुणस्तरीय सेवासंगै राज्यलाई सबैभन्दा बढी आय कर तिर्ने संस्था बन्दा गर्व लागेको छ’, उपाध्यायले भने, ‘सरकारको नियम पालन गरेर सर्वाधिक आय कर तिर्ने संस्था बन्न पाउनु खुसी र गौरवको बिषय हो ।

डाक्टर सुनिलकुमार शर्माको कुशल नेतृत्व र राष्ट्रप्रतिको इमान्दारिताले यो सम्भव भएको भन्दै उपाध्यायले यो सम्मानले थप उर्जा बढेको र आगामी दिन पनि यो विश्वासलाइ कायम राख्ने गरी काम गर्ने बताए ।
नोबेल मेडिकल कलेज विराटनरले यस अघि पनि दुई पटक शिक्षा र स्वास्थ्य क्षेत्रबाट सार्वाधिक आयकर तिर्ने संस्थाकोरुपमा सरकारबाट सम्मान पाइसकेको छ ।