![चौतर्फी घेराबन्दी तोडेर गोकुलले निकालेको दुर्लभ जीत [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Gokul_Baskota_New4_XsxSxfwq2q.png)
सामाजिक सञ्जालमा सबैभन्दा बढी आलोचना खेप्ने नेतामध्येमा पर्छन्, नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटा ।
राष्ट्रिय राजनीतिका प्रतिस्पर्धी राजनीतिक दलप्रति गर्ने तीखो टिप्पणी र झर्रो शब्दावलीका कारण उनका आलोचक धेरै छन् ।
‘नो नट अगेन’लगायत सामाजिक सञ्जाल प्रयोकर्ताहरूले शहरमा बसेर चुनाव हराउने टार्गेटमा राखेका नेता पनि हुन्, गोकुल ।

यति हुँदाहुँदै पनि गोकुल बास्कोटाले चुनाव जिते, त्यो पनि फराकिलो मत अन्तरले । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंलाई ७ हजार ८ सय ६३ मतको फराकिलो अन्तरले पराजित गर्दै बास्कोटा विजयी भए । बास्कोटाले ४५ हजार ३ सय ४५ मत पाउँदा हुमागाईंले ३९ हजार ४ सय ८२ मत पाए ।
स्थानीय तह निर्वाचनमा एमालेले धुलिखेल नगरपालिकाबाहेक सबै स्थानीय तह गुमाउँदा पनि संसदीय निर्वाचनमा बास्कोटाले शाख फर्काए । काभ्रे– २ का मतदाता ज्ञानबहादुर तामाङ विकासप्रेमी नेताको छविका कारण गोकुलले चुनाव जितेको बताउँछन् ।

‘गोकुल सांसद बनेको पाँच वर्षमा काभ्रेले विकासमा फड्को मारेको छ । गाउँ–गाउँमा बाटो पुगेको छ । विकास गर्नेलाई भोट दिनुपर्छ भनेर गोकुललाई भोट खन्याए,’ शुक्रवार धुलिखेलमा भेटिएका तामाङले लोकान्तरसँग भने ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएपछि बास्कोटाले काभ्रेमा विकासको लहर ल्याएका थिए । काभ्रे– २ का मतदाता रमेश आचार्य पाँच वर्षमा गोकुलले गरेको कामप्रति जनताले न्याय गरेको बताउँछन् ।
‘सांसद र मन्त्री भएपछि काभ्रेको विकासका लागि उनले कुनै कसर बाँकी राखेनन् । शीर्ष नेताको पहुँचको कारणले पनि विकास सम्भव भयो,’ आचार्यले लोकान्तरसँग भने ।

ममाथि लागेका सबै आरोप काभ्रेली जनताको अदालतले खारेज गर्यो– बास्कोटा
शुक्रवार जीतको औपचारिक घोषणा भएपछि धुलिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले आफूमाथि लागेको आरोप जनताको अदालतले खारेज गरेको बताए ।
‘सबैभन्दा ठूला न्यायाधीश मानिएका जनताको बीचमा आएको थिएँ । जनताको अदालतले ममाथि लागेको आरोप खारेज गर्यो,’ बास्कोटाले भने । काभ्रेली जनताबाट फेरि एकपल्ट अपार माया पाएको उनले बताए ।

‘नेपाली जमिनमाथिको अतिक्रमणविरुद्ध हामी चट्टानजत्तिकै उभिने छौं । नेपाली भूमिमा चन्द्रसूर्य अंकित झण्डा फहराउने छौं । यो समर्थन देश भक्तिका लागि हो । समृद्ध काभ्रे निर्माणका लागि हो,’ बास्कोटाले भने ।
बास्कोटाले आफूलाई मतदान नगरेका मतदाताको भावनालाई पनि सम्बोधन गर्ने गरी काम गर्ने बताए ।
‘सूर्यचिह्नमा मतदान नगर्नेसँग कुनै दुस्मनी छैन । तपाईंहरूसँग हातेमालो गरेर समृद्ध काभ्रे निर्माणको प्रतिबद्धता जनाउन चाहन्छौं,’ बास्कोटाले भने ।

फरक थियो चुनाव प्रचारको शैली
बास्कोटाको चुनाव प्रचार शैली पनि अन्य दलका नेताकोभन्दा फरक थियो । चुनावी घरदैलो गर्दै हिँड्दा उनी गाडीमा हिँडे । विकास गरेर बाटो ल्याएकाले आफू गाडीमै हिँड्ने बताएका थिए ।
भोट माग्ने क्रममा उनले उनले झूटा आश्वासन पनि बाँडेनन् । यसअघि गरेको विकासको काम हेरेर भोट दिन आग्रह गरे ।
हेर्नुहोस्, भिडियो :
पढ्नुहोस् यो पनि :
हेर्नुहोस्, तस्वीरहरू :






