
प्रदेश सभाको समानुपातिकतर्फ छ वटा प्रदेशमा नेकपा (एमाले) अगाडि देखिएको छ । निर्वाचन आयोगकाअनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेश सभाको समानुपातिकमा अग्रस्थानमा छ । मधेश प्रदेशमा भने नेपाली कांग्रेस अगाडि देखिएको छ ।
मंगलवार बिहान ११ः३० बजेसम्म प्रदेश नं १ मा १७ लाख १५ हजार ५०७, मधेशमा १८ लाख ४१ हजार ४६१, बागमतीमा १६ लाख ८२ हजार ४४४, गण्डकीमा ९ लाख १८ हजार ८३९, लुम्बिनीमा १८ लाख ८७ हजार ७८, कर्णालीमा ५ लाख ७७ हजार ८२९ र सुदूरपश्चिम प्रदेशमा ७ लाख ७८ हजार ३०४ मत गणना भएको छ ।
प्रदेश १ मा एमालेले ५ लाख ९९ हजार ९५९, कांग्रेसले ५ लाख ३ हजार १६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८२ हजार ९०९ र नेकपा (माओवादी केन्द्र)ले एक लाख ६८ हजार ७३४ मत ल्याएको छ ।
मधेश प्रदेशमा कांग्रेसले सबैभन्दा बढी ३ लाख ५७ हजार ९२२, एमालेले ३ लाख २१ हजार २१०, जनमत पार्टीले २ लाख ६६ हजार ८३२, जनता समाजवादी पार्टीले २ लाख ६२ हजार ४४४ र माओवादी केन्द्रले १ लाख ६७ हजार ६७ मत ल्याएको छ ।
बागमती प्रदेशमा एमालेले ५ लाख २ हजार ९२३, कांग्रेसले ४ लाख २७ हजार २३९, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५७ हजार ८५७ र माओवादी केन्द्रले २ लाख ३६ हजार ५५९ मत प्राप्त गरेको छ । गण्डकी प्रदेशमा एमालेले ३ लाख ४० हजार ५३३, कांग्रेसले ३ लाख १७ हजार ५९६ र माओवादी केन्द्रले १ लाख १५ हजार ३६६ मत पाएको छ ।
लुम्बिनी प्रदेशमा एमालेले ५ लाख ७० हजार ९२१, कांग्रेसले ४ लाख ९९ हजार ९८६, माओवादी केन्द्रले १ लाख ९८ हजार ४५०, राप्रपाले १ लाख २७ हजार ४५२ र नागरिक उन्मुक्ति पार्टीले १ लाख २५ हजार ५२१ मत प्राप्त गरेको छ ।
कर्णाली प्रदेशमा एमालेले १ लाख ८३ हजार ९५०, कांग्रेसले १ लाख ७० हजार ७५६, माओवादी केन्द्रले १ लाख ३७ हजार ६३९ तथा सुदूरपश्चिम प्रदेशमा एमालेले २ लाख ३३ हजार ५२०, कांग्रेसले २ लाख २६ हजार १७० र माओवादी केन्द्रले एक लाख १३ हजार ८६३ मत पाएको आयोगले जनाएको छ ।
प्रतिनिधि सभाको समानुपातितर्फ पनि एमालेको अग्रता देखिएको छ । हालसम्म ९६ लाख ७० हजार ८३३ मत गणना गर्दा एमालेले सबैभन्दा धेरै २६ लाख ७ हजार ४७२ मत प्राप्त गरेको छ । कांग्रेसले २४ लाख ७० हजार २३४, माओवादी केन्द्रले ११ लाख ९ हजार ७७९, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७९ हजार ९४, राप्रपाले ५ लाख ५४ हजार ७५७, जनता समाजवादी पार्टीले ३ लाख ६७ हजार ७७३ र जनमत पार्टीले ३ लाख १६ लाख ६५३ मत प्राप्त गरेका छन् ।