०७ साउन २०८३, बिहीबार

प्रभु बैंकको बदमासी– अनुसन्धानमा रहेको ‘कालोधन’ सुटुक्क रिलिज !

मंसिर १६, २०७९
प्रभु बैंकको बदमासी– अनुसन्धानमा रहेको ‘कालोधन’ सुटुक्क रिलिज !

अमेरिकाबाट नेपाल भित्रिएको शंस्कापद रकम (कालोधन) प्रभु बैंकले सुटुक्क रिलिज गरिदिएको तथ्य फेला परेको छ । कालोधन भनेर अनुसन्धानमा रहेको रकम बैंकले आफूखुशी खोलिदिएको हो ।

नेपाल राष्ट्र बैंकले शंकास्पद रकम रहेको औंल्याएर नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो र सम्पत्ति शुद्धिकरण विभागलाई अनुसन्धान गर्न पठाएको थियो ।

अछामका पृथ्वीबहादुर शाहले अमेरिकाबाट शंकास्पदरूपमा भित्र्याउन खोजेको ४० करोड रुपैयाँका सम्बन्धमा लामो समयदेखि अनुसन्धान भइरहेको छ ।

उक्त रकमका सम्बन्धमा राष्ट्र बैंक, नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो र सम्पत्ति शुद्धीकरण विभागबाट अनुसन्धान भइरहेको छ । उक्त अनुसन्धान नसकिँदै शाहकै नाममा र उनको विभिन्न कम्पनीबाट आएको रकम रोक्का गर्न राष्ट्र बैंकले विभिन्न बैंकलाई सर्कुलर जारी गरेको थियो ।

प्रभु बैंकसँगै कुमारी बैंकले पनि उक्त सर्कुलर बेवास्ता गर्दै रकम रिलिज गरिदिएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले रोक्का राख्नुपर्ने रकम खुला गरेको भन्दै यी दुई बैंकलाई कारवाही गरेको छ ।

साथै सहयोगी भूमिका खेलेको भन्दै बैंक अफ काठमाडौं र प्राइम कमर्सियल बैंकका सीईओलाई पनि सचेत गराइएको छ । उक्त जानकारीमा कति रकम खुला गरेको भन्ने स्पष्ट छैन । केन्द्रीय बैंकले विभिन्न समयमा जारी गरेको नियम, सर्कुलर तथा निर्देशन पालना नगरेको भन्दै ती बैंक कारवाहीमा परेका हुन् ।

नेपाल राष्ट्र बैंकको बैंक सुपरभिजन विभागले रोक्का राख्न दिएको निर्देशन पालना नभएको र आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाएको पुष्टि गरेको छ । ती बैंकले कसको कति रकम रिलिज गरेको भन्ने विवरण भने सार्वजनिक गर्न नमिल्ने विभागले जनाएको छ ।

शाहकै नाम र उनको विभिन्न कम्पनीमार्फत आएको रकम राष्ट्र बैंकको निर्देशनविपरीत खुला गरेर निकासा गरेको पाइएको हो ।

यस्तो रकम ८ करोड रुपैयाँभन्दा बढी रहेको केन्द्रीय बैंक स्रोतले लोकान्तरलाई जानकारी दिएको छ । 

वित्तीय शुद्धीकरणबारे अनुसन्धान गर्ने अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन) ले शाहको लगानीको स्रोतबारे शंका गरेर नेपाल राष्ट्र बैंकलाई रकम रोक्का गर्न पत्र पठाएको थियो । त्यसैका आधारमा राष्ट्र बैंकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायतका निकायमा अनुसन्धान गर्न र रकम रोक्का राख्न पत्राचार गरेको थियो । उक्त रकमको विषयमा अनुसन्धान भइरहेको र छिटो अध्ययन प्रतिवेदन दिन पनि केन्द्रीय बैंकले अनुरोध गरिरहेको राष्ट्र बैंकका एक अधिकारीले बताए । 

शाहले वर्ल्ड ट्राभल्स एन्ड इन्भेस्टमेन्ट, वर्ल्ड फर्स्ट होलिडे, वर्ल्डवाइड रेमिट, वर्ल्ड एक्सपोर्ट एन्ड इम्पोर्ट, टाइम्स टुडे, पिस होलिडे, इन्भायरमेन्ट प्रालिसहितका कम्पनी र व्यक्तिको नाममबाट नेपालमा डलर भित्र्याइरहेका छन् । यस्तो रकमको विषयमा एउटा खाता रोक्का गरेर अनुसन्धान गर्दा अर्को व्यक्ति र कम्पनीको नाममा पैसा आउने गरेको पनि पाइएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

केन्द्रीय बैंकले अध्ययन गरेर शंकास्पद देखिएको र थप अनुसन्धान गर्नुपर्ने खाताको रकम तत्कालै रोक्का राख्न सम्बन्धित बैंकलाई निर्देशन गर्ने गरेको छ । रोक्का राख्नुपर्ने यस्तो रकम निकासा गरे सम्बन्धित बैंकबाटै भराउने र जिम्मेवार पदाधिकारीलाई कारवाही पनि हुने केन्द्रीय बैंकको भनाइ छ । 

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० ले केन्द्रीय बैंकको नियम उलंघन गर्ने बैंकलाई सचेत गराउने वा लिखित चेतावनी दिने, सुधारात्मक कदम चाल्नका लागि सञ्चालक समितिलाई कबुलियतनामा गराउने, बारम्बार हुने उल्लंघन अन्त्य गर्न, त्यसबाट अलग रहन र सुधारात्मक कदम चाल्नका लागि लिखित आदेश जारी गर्ने गर्छ । 

बैंकले दिने सेवा निलम्बन गर्ने वा अन्त्य गर्ने, वाणिज्य बैंक वा वित्तीय संस्थाले आफ्नो शेयरहोल्डरलाई दिने लाभांशको वितरणमा प्रतिबन्ध लगाउने, वाणिज्य बैंक वा वित्तीय संस्थाले स्वीकार गर्न सक्ने निक्षेप रोक लगाउने वा कर्जामा प्रतिबन्ध लगाउन सक्ने सहितको कारवाही केन्द्रीय बैंकले आफ्नो निर्देशन नमान्ने बैंकलाई गर्न सक्छ । यसका अतिरिक्त वाणिज्य बैंक वा वित्तीय संस्थाको इजाजतपत्र निलम्बन वा रद्द गर्नेसहितको कारवाही पनि केन्द्रीय बैंकको निर्देशन नमान्ने बैंकलाई गर्न सक्छ ।

राष्ट्र बैंकको निर्देशन नमान्ने कुमारी बैंकका सीईओ रामचन्द्र खनालसँग सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन सकेन । प्रभु बैंकका सीईओ अशोक शेरचनलाई भने बैंकले गरेको कमजोरीको विषयमा जानकारी गराएर सम्पर्क गर्न खोज्दा समेत उनी सम्पर्कमा आउन चाहेनन् ।

salt training

कमेन्ट गर्नुहोस्