
कर्णाली प्रदेश सभाका नवनिर्वाचित सदस्यलाई नेकपा एमालेका विनोदकुमार शाहले शपथ खुवाउने भएका छन् ।
कर्णालीको ४० सदस्यीय प्रदेश सभामा दैलेख २(२) बाट निर्वाचित ६६ वर्षीय उनी सबैभन्दा ज्येष्ठ सदस्य हुन् । सभामुख, उपसभामुख निर्वाचित नहुञ्जेल ज्येष्ठ सदस्यका रूपमा शाहले नै प्रदेशसभा बैठकको सञ्चालन गर्नेछन् ।
२०५१ सालमा दैलेख–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी हाल एमालेको कर्णाली प्रदेश कमिटी अध्यक्ष छन् ।
ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथ खुवाउने व्यवस्था छ । त्यसपछि ज्येष्ठ सदस्यले प्रदेशसभा सदस्यलाई शपथ खुवाउनेछन् । निर्वाचन परिणाम सार्वजनिक भएको मितिले २० दिनभित्र प्रदेश प्रमुखले बैठक बोलाउनुपर्ने कानूनी व्यवस्था छ ।
निर्वाचन आयोगले निर्वाचन परिणाम सार्वजनिक गर्दै प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएपछि निर्वाचन परिणाम सार्वजनिक भएको मानिन्छ ।
प्रदेशसभा सचिव जीवराज बुढाथोकीले आयोगले पठाएको नयाँ सांसदहरूको विवरणका आधारमा सचिवालयले प्रदेश प्रमुखको कार्यालय र दलका मुख्य नेताहरूसँग समन्वय गरेर ज्येष्ठ सदस्यको शपथको बन्दोबस्त मिलाउने बताए ।
कर्णाली प्रदेशसभा नियमावलीअनुसार प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख, उपसभामुखको निर्वाचन गरिसक्नुपर्छ । त्यतिबेलासम्म ज्येष्ठ सदस्यले नै सभामुखको रूपमा सभा सञ्चालन गर्नेछन् । प्रदेशसभा सदस्यमध्ये रुकुम पश्चिमकी तुल्सा मल्ल सबैभन्दा कान्छो सदस्य रहेकी छन् । उनी ३४ वर्षकी भइन् । उनलाई एमालेले महिला खसआर्य क्षेत्रबाट समानुपातिकतर्फ सिफारिस गरेको थियो ।
पूर्व पत्रकार मल्ल एमालेको जिल्ला कमिटी सदस्य र अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष छिन् ।