०५ साउन २०८३, मंगलबार

कमल रिजालको ‘पूर्वीय दर्शन विमर्श’ निबन्ध संग्रह प्रकाशित

कमल रिजालको ‘पूर्वीय दर्शन विमर्श’ निबन्ध संग्रह प्रकाशित

पत्रकार तथा साहित्यकार कमल रिजालको ‘पूर्वीय दर्शन विमर्श’ शीर्षकको निबन्ध संग्रह प्रकाशित भएको छ ।

लामो समयदेखि अध्यात्मदर्शनको क्षेत्रमा कलम चलाउँदै आएका रिजालको यो तेह्रौं कृति हो । गोरखापत्र दैनिक तथा मधुपर्क मासिकको प्रधान सम्पादक रहिसकेका रिजालको यस कृतिलाई रत्नपुस्तक भण्डारले प्रकाशित गरेको हो ।

रिजालका यसअघिका कृतिहरू पनि अध्यात्म दर्शनसितै सम्बन्धित छन् । 

प्रस्तुत निबन्ध संग्रहमा ५ खण्ड र ६१ वटा निबन्ध समाविष्ट छन् । यीमध्ये पहिलो वैदिक दर्शन खण्डमा वेद र उपनिषद् सम्बन्धी विषयवस्तुमा आधारित ९ वटा निबन्ध छन्, जहाँ वेद र विज्ञानलाई समन्वयात्मक ढंगमा विश्लेषण गर्ने प्रयास भएका छन् ।

दोस्रो पौराणिक दर्शन खण्डमा १८ वटा निबन्ध संकलित छन्, जहाँ १८ महापुराणको परिचय र तिनका धार्मिक, सामाजिक तथा संस्कृतिक विशेषता केलाउने प्रयास भएका छन् । 

तेस्रो संस्कृति संरक्षण खण्डमा संस्कार र संस्कृति सम्बन्धी ९ वटा निबन्ध र चौथो शब्द तथा सदाचार खण्डमा शब्दको शक्ति, स्रोत र सामथ्र्य तथा सुशान सम्बन्धी ५ वटा निबन्ध समाविष्ट छन् । पाँचौं विविध खण्डमा सामाजिक विकृति र तिनका निराकरण सम्बन्धी विषयवस्तु समेटिएका २० वटा निबन्ध रहेका छन् । 

लेखक रिजालका अनुसार वैदिक सनातन धर्मसंस्कृति संसारकै सर्वाधिक पुरानो धर्मसंस्कृति मात्र हो, संसारलाई सर्वप्रथम मानवताको धरातलमा हिँड्न सिकाउने धर्मसंस्कृति पनि यही नै हो तर त्यही धर्मसंस्कृृतिमाथि विभिन्न नाम र रूपमा प्रहार हुने गरेकाले त्यसैलाई चिर्नु पुस्तकको उद्देश्य हो । 

उनी भन्छन्, ‘वेद शब्दहरूको संग्रह मात्र नभई विज्ञानको कुँजी पनि हो । आज संसारमा विज्ञान र प्रविधिको क्षेत्रमा जेजति प्रगति भएका छन् तिनको मूलभूत आधार भनेको वेद नै हो । प्रस्तुत पुस्तकमा तिनै कुरालाई यथासम्भव प्रष्ट्याउने प्रयास भएका छन् ।’

प्रकाशक रत्नपुस्तक भण्डारका गोविन्द श्रेष्ठ भन्छन्, ‘हामीले अन्य विभिन्न साहित्यिक पुस्तकका साथै आध्यात्मिक साहित्य सम्बन्धी पुस्तक पनि प्रकाशित गर्दै आएका छौं । यसको उद्देश्य समाजमा आध्यात्मिक चेत विकास गरी आत्मिक अनुशासनमा सहयोग पुर्‍याउनु हो । यसमा प्रस्तुत पुस्तकबाट राम्रै टेवा पुग्ने विश्वास गरेका छौं ।’

भूमिका खण्डबाहेक २०८ पृष्ठको पुस्तकको मूल्य ३९५ रुपैयाँ रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्