३२ असार २०८३, बिहीबार
दुर्गममा जान खोज्दैनन् विमान

दुर्गममा उडान गर्न वायु सेवा प्रदायकको आनाकानी, कारवाहीको तयारीमा प्राधिकरण

पुस ५, २०७९
दुर्गममा उडान गर्न वायु सेवा प्रदायकको आनाकानी, कारवाहीको तयारीमा प्राधिकरण
फाइल तस्वीर : ताप्लेजुङको सुकेटार विमानस्थल

दुर्गम क्षेत्रमा उडान गर्न सुगम जाने वायुसेवाले अनिवार्य योगदानको व्यवस्था लागू गर्ने तयारी भइरहेको छ ।

वायुसेवा कम्पनीहरूले सुगममा मात्रै उडान गरेको र प्रतिस्पर्धा शहरी क्षेत्रका विमानस्थलमा मात्रै हुन थालेपछि दुर्गम क्षेत्रका जनताको सेवाका लागि यस्तो व्यवस्था हुने भएको छ ।

हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सुगम तथा शहरी क्षेत्रका विमानस्थमा मात्रै उडान गर्ने र वायुसेवा कम्पनी नाफामा मात्रै केन्द्रित भएकाले सेवामूलकमा योगदान पनि अनिवार्य गर्नुपर्ने व्यवस्था गर्ने भएको छ । 

२०५८ सालमा लागू गरिएको दुर्गम क्षेत्र हवाई सेवा कोषलाई पुनः ब्यूँताउने र प्रभावकारी कार्यान्वयन गराउने विषयमा प्राधिकरणले अध्ययन शुरू गरेको छ । प्राधिकरणका कार्यबाहक उपमहानिर्देशक तथा प्रवक्ता जगन्नाथ निरौलाको संयोजकत्वमा दुर्गम क्षेत्र हवाई सेवा कोषको अध्ययन समिति गठन भएको छ । यो समितिले १ महिनाभित्र सरकारलाई प्रतिवेदन दिनेछ ।

अध्ययन समितिका संयोजक निरौलाका अनुसार दुर्गम क्षेत्रमा उडानै गर्न नचाहने र भएका वायुसेवा पनि नाफामुखी गन्तव्यमा मात्रै जाने गरेकाले अब सुगम क्षेत्रबाटै योगदान गराएर दुर्गम क्षेत्रको उडान प्रभावकारी बनाउने तयारी छ । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण नियमावली २०५८ को नियम ७९ मा दुर्गम क्षेत्र हवाई सेवा कोषको व्यवस्था गरिएको थियो ।

नियमावलीमा भएको व्यवस्थाअनुसार पर्वतीय उडान (माउन्टेन फ्लाइट) गर्ने जहाजले हरेक उडानबाटै प्रतिविदेशी यात्रु ४ अमेरिकी डलर, अन्य शहरी क्षेत्रका (सुगम) विमानस्थलमा उडान गर्दा हरेक उडानमा १ विदेशी यात्रु बराबर २ डलर कोषमा लगानी गर्नुपर्छ ।

यही व्यवस्थाअनुसार नै हेलिकोप्टरले भने हरेक चार्टर उडान गर्दा हुने कूल आम्दानीको २ प्रतिशत कोषमा अनिवार्य जम्मा गर्नैपर्ने व्यवस्था थियो । सोही व्यवस्थाअनुसार करीब डेढ वर्षसम्म कोषमा वायुसेवाले योगदान गरेका थिए । त्यतिबेला जम्मा भएको कोषको रकम करीब १९ लाख रुपैयाँ पुगेको उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार यही कोषलाई पुनः व्यवस्थित रूपमा सञ्चालन गर्ने, विगतमा भएको खर्च गर्ने व्यवस्था स्पष्ट नहुँदा भएको समस्यालाई समाधान गर्ने गरी नयाँ सुझाव तथा कार्यान्वयनको मोडालिटीको विषयमा अध्ययन समितिले सुझाव दिने भएको छ ।

प्राधिकरणका प्रवक्ता निरौलाका अनुसार अहिलेको गठन भएको अध्ययन समितिले दुर्गम क्षेत्र हवाई सेवा कोष प्रभावकारी सञ्चालन, नयाँ व्यवस्था, वायुयान आयात गर्दा दुर्गम उडान गर्नेलाई सुविधा तथा छूट, सरकारले दिन सक्ने सेवा सुविधा र प्राधिकरण तथा निजी वायुसेवा कम्पनीले दिनुपर्ने योगदानसहितका विषयमा स्पष्ट सुझाव दिने भएको छ ।

हवाई नीति २०६३ अनुसार आन्तरिक नियमित उडान गर्ने वायुसेवा सञ्चालन संस्थासँग कम्तीमा ३ वटा वायुयान हुनुपर्छ । तीमध्ये कम्तीमा एउटा वायुयान दुर्गम क्षेत्रका विमानस्थलमा सञ्चालन गर्ने हुनुपर्छ । यही व्यवस्थालाई कडाइका साथ लागू गर्न पनि सुगममा उडान गर्नेले दुर्गममा उडाउनेलाई सेवा दिनुपर्ने व्यवस्था हुन लागेको प्राधिकरणको भनाइ छ ।

आवश्यकता दुर्गममा, प्रतिस्पर्धा सुगममा

अहिले पनि आवश्यकता दुर्गम क्षेत्रका विमानस्थलमा भए पनि वायुसेवा कम्पनीहरूबीच भने सुगम क्षेत्रकै लागि मात्रै प्रतिस्पर्धा भइरहेको छ । सुगम क्षेत्रमा उडान गर्ने जहाज एउटै वायुसेवासँग १६ वटासम्म छन् भने दुर्गम क्षेत्र उडान गर्नेको संख्या भने जम्मा ४ वायुसेवासँग ११ वटा जहाज मात्रै छ । यस्ता जहाज पनि सधैं नियमित उडानमा आउँदैनन् । 

हाल नियमित उडानमा रहेकामा समिट एयरको ४ वटा, तारा एयरको ३ वटा, नेपाल वायुसेवा र सीता एयरको १/१ वटा मात्रै छन् । निगम र सीतासँग २/२ वटा दुर्गम क्षेत्रमा उडान गर्ने जहाज भए पनि नियमित उडानमा अधिकांश समय १/१ वटा मात्रै आउने गरेका छन् । 

सरकारले दुर्गम क्षेत्रमा उडान गर्ने वायुसेवालाई प्रोत्साहन गर्न नसक्दा भएका गन्तव्य पनि खुम्चिँदै गएका छन् । उडान गरेको वायुसेवाको जहाज र उडान संख्या घट्दै गएका छन् भने नयाँ थपिनेक्रम शून्य भएको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । उनका अनुसार लागत बढी पर्ने, सुगमको तुलनामा भाडा महंगो हुने र यात्रुको माग पनि कम हुने हुँदा भएकै वायुसेवा चल्न सकिरहेका छैनन् ।

विभिन्न जिल्लामा रहेका पक्की धावनमार्ग हुँदा समेत वायुसेवा कम्पनीले लाभ नदेखेकै कारण उडानै ठप्पदेखि न्यून संख्यामा मात्रै उडान भएको बर्तौलाले बताए । केही नाफामूलक गन्तव्यबाहेक अधिकांश दुर्गम क्षेत्रमा उडान गर्ने वातावरण पनि निजी वायुसेवालाई नभएको बुझाइ बर्तौलाको छ ।

दुर्गममा सेवा विस्तारको तयारीमा श्री, बुद्धको योजना स्थगित

दुर्गम क्षेत्रमा उडान यशोधरा एयरलाइन्सबाट गर्ने र रामेछापलाई आधार बनाएर शुरू गर्ने घोषणा गरेको बुद्ध एयरले आफ्नो योजना स्थगित गरेको छ । बुद्ध एयरले पोखरा विमानस्थल सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने र आन्तरिक उडानतर्फ दुर्गममा जाने योजना स्थगित गरेको जानकारी दिएको छ ।

यो वायुसेवाले हाल सुगम क्षेत्रमा मात्रै उडान गरिरहेको दुर्गम क्षेत्रमा पनि उडान शुरू गर्ने योजना बनाएको भए पनि कोभिडका कारण यसका योजना सबै स्थगित भएका छन् । 

बुद्ध एयरका वरिष्ठ बजार निर्देशक रुपेश जोशीले अहिले कुनै पनि दुर्गम क्षेत्रमा उडान गर्ने योजना नभएको बताए । उनले भने, ‘हामीले दुर्गम क्षेत्रको उडानको विषयमा सबै योजना स्थागित गरेर बसेका छौं ।’ अहिले कुनै पनि दुर्गम क्षेत्रमा उडान गर्ने विषयमा व्यवस्थापनले काम–कारवाही अगाडि नबढाएको उनले बताए । 

श्री एयरलाइन्सले भने २ वटा जहाज थप गरेर दुर्गम क्षेत्रमा उडान गर्ने तयारी गरेको छ । यो वायुसेवाले अहिले आन्तरिक उडानमा आक्रामक सेवा विस्तार गरिरहेका छ । अन्तर्राष्ट्रिय उडानको अनुमति समेत लिएको यो वायुसेवाले नेपालबाट छिमेकी राष्ट्र तथा एसियाली मुलुकसम्म उडान गर्ने योजना छ ।

श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरका अनुसार दुर्गम क्षेत्रका लागि उडान गर्ने गरी तयारी भइरहेका छ । त्यसका लागि २ वटा नयाँ जहाज ल्याउने विषयमा आवश्यक गृहकार्य पनि श्री एयरलाइन्सले गरिरहेको मानन्धरले बताए । 

दुर्गम क्षेत्र उडान गर्ने कुन वायुसेवासँग कति जहाज ?

salt training

कमेन्ट गर्नुहोस्