
कर्णाली प्रदेशसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सांसदहरूलाई प्रदेशसभा भवनमा सोमवार ज्येष्ठ सदस्य विनोदकुमार शाहले शपथ गराएका हुन् । सांसदलाई शपथ गराउनुअघि ज्येष्ठ सदस्यका हैसियतमा शाहले प्रदेश प्रमुखसमक्ष शपथ लिएका थिए ।
प्रदेशसभामा सभामुख/उपसभामुख निर्वाचित नहुञ्जेल ज्येष्ठ सदस्यले नै सभा सञ्चालन गर्नुपर्ने कानूनी व्यवस्था छ । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख/उपसभामुख निर्वाचित गरिसक्नुपर्छ ।
कर्णाली प्रदेशसभामा ४० सदस्य छन् । शपथग्रहणसँगै सांसदहरूलाई प्रदेशसभाको लोगो पनि हस्तान्तरण गरिएको थियो । शपथग्रहणलगत्तै सांसदहरू ज्येष्ठ सदस्यद्वारा आयोजित जलपान समारोहमा सरिक भएका थिए ।
अधिकांश सांसदहरू नेपाली पोशाकमा सजिएका थिए । सांसदहरू सबैले नेपाली भाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।