०३ साउन २०८३, आइतबार
राजनीतिक उथलपुथल

अक्करमा एकीकृत समाजवादी : पार्टी जोगाउनै मुस्किल, सरकारलाई 'फ्लोर'बाट समर्थन गर्ला ?

पुस १२, २०७९
अक्करमा एकीकृत समाजवादी : पार्टी जोगाउनै मुस्किल, सरकारलाई 'फ्लोर'बाट समर्थन गर्ला ?

कांग्रेससँगको गठबन्धन भत्किएपछि यति बेला नेकपा एकीकृत समाजवादीको अवस्था भर्खरै ‘माउले छाडेको चल्ला’ जस्तो बन्न पुगेको छ ।

गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र) एमालेको क्याम्पमा पुगेपछि एकीकृत समाजवादी अक्करमा परेको हो । 

आइतबार एकाएक सत्ताको पासा उल्टिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भए । 

तिक्ततापूर्ण सम्बन्ध रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डको साँठगाँठ भएपछि एकीकृत समाजवादी राजनीतिको किनारामा परेको छ ।

आइतबार नै उक्त पार्टीले बैठक राखेर ‘पर्ख र हेर’को अवस्थामा रहने निर्णय गरेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि गठबन्धन भत्कनुमा कांग्रेसका सभापति शेरबहादुर देउवा नै प्रमुख कारण रहेको बताइरहेका छन् ।

देउवाले प्रचण्डलाई प्रधानमन्त्रीमा अस्वीकार गर्दा त्यसको असर एकीकृत समाजवादीले समेत भोगेको छ ।

एमालेबाट विभाजित भएर आएको, माधव नेपाल र केपी शर्मा ओलीबीचको शत्रुतापूर्ण सम्बन्ध रहेको कारण अहिल्यै वर्तमान सत्ता साझेदार दलसँग एकीकृत समाजवादीको सहकार्य भइहाल्ने अवस्था देखिँदैन ।

एकीकृत समाजवादी बनाउन ठूलो सहयोग गरेका प्रचण्डले भने ओली र माधव नेपालको संवाद गराउने वचन नेपाललाई दिएका छन् । 

सोमबार प्रधानमन्त्रीको शपथ समारोहमा सहभागी हुन शीतल निवास पुगेका ओली र नेपालले २० महिनापछि संवादहीनता तोडेका छन् ।

सञ्चो विसाञ्चोको सामान्य संवाद भएको छ । तर, उनीहरूबीचको दरार मेटिएर सहकार्यमा पुग्न भने पक्कै समय लाग्नेछ । 

भलै, निर्वाचनको परिणाम आएपछि नेकपा एमालेका नेताहरूले एकीकृत समाजवादीसँग पनि संवादको प्रयास गरेका थिए । एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेमार्फत एमाले नेताहरू संवादमा थिए । 

यसबारे जानकार एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘मुकुन्द न्यौपाने पार्टीमा अभिभावक जस्तो र बाहिर धेरै बोलिहाल्ने स्वभावको नभएको कारण एमाले नेताहरूले उहाँमार्फत संवाद अघि बढाएका छन् ।

धेरै कुरामा छलफल भएको बुझिन्छ । मुख्य कुरो माधव नेपाल र केपी ओलीबीचको सम्बन्ध कसरी सुधार्ने भन्ने नै टुंगो लाग्न बाँकी छ ।’

२०७८ को असार २८ मा आएको सर्वोच्चको फैसलासँगै बालुवाटारबाट बालकोट फर्किएका ओलीले माधव नेपाललाई सत्तोसराप गरेका थिए ।

बालकोटको बार्दलीबाट ‘देशद्रोही’ र ‘गद्दार’को आरोप लगाएका थिए । नेपालले पनि ‘श्री ५ को महावाणी’ भनेर प्रत्युत्तर दिएका थिए । त्यसयता उनीहरूले सार्वजनिक मञ्चबाटै वाकयुद्ध जारी राखेका छन् । 

एकीकृत समाजवादीले गत निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सीट जितेको छ । समानुपातिकमा झिनो मतले थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टीको हैसियत पाएन ।

भलै, कांग्रेस नेतृत्वको गठबन्धन रहँदा प्रमुख राजनीतिक पदमध्ये केही पद एकीकृत समाजवादीले पाउने थियो । 

५ वर्षमध्येको अन्तिम एक वर्षको प्रधानमन्त्री माधव नेपाललाई बनाउने बारेमा गठबन्धनभित्र छलफल भइरहेको थियो । यी सबै सम्भावना अहिलेका लागि सुदूर क्षितिक्षमा अस्ताएको छ ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा भने अहिल्यै हतारिएर कुनै निर्णय गर्नुपर्ने अवस्थामा पार्टी नरहेको बताउँछन् । 

माधव नेपाल र प्रचण्डबीचको सम्बन्ध केही विशेष रहेका कारण प्रचण्डले नै नेकपा एकीकृत समाजवादीका लागि केही विशेष राजनीतिक अवसर सिर्जना गरिदिन सक्ने माओवादी केन्द्रका नेताहरूको विश्लेषण छ । 

एकीकृत समाजवादीका लागि केही थोरै अवसर संघारमा छन् ।

उसका लागि पहिलो विकल्प हो– संसद्मा कम्युनिस्ट प्रतिपक्षको सशक्त भूमिकामा रहने । तर, संसद्मा उनीहरूको संख्या असाध्यै थोरै रहेका कारण त्यसको प्रभावकारिता पनि उत्तिकै कमजोर हुने निश्चित छ । 

अर्कातर्फ, एकीकृत समाजवादीबाट चुनाव जितेका कतिपय सांसद भने नीति, विधि र पार्टीभन्दा पनि पद र पहुँचमा रूमल्लिने प्रवृत्तिका छन् । जसका कारण पार्टी नै संकटमा छ ।

अहिलेको ‘हङ पार्लियामेन्ट’मा उनीहरूले कतिबेला कता मुभ गर्छन् भन्ने कुरामा नेतृत्वले चनाखो भएर हेरिरहनुपर्ने हुन्छ । 

समाजवादीका लागि उपलब्ध अर्को विकल्प भनेको प्रचण्ड नेतृत्वको सरकारलाई फ्लोरबाट समर्थन गर्ने र केही राजनीतिक फाइदा लिने । यो उसका लागि सबैभन्दा सुरक्षित उपाय हुनसक्छ । 

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् । 

पदभार ग्रहणपछि प्रचण्डलाई बधाई दिन पुगेका बेला नेपाललाई प्रचण्डले त्यस्तो आग्रह गरेका हुन् । तर, नेपालले भने प्रचण्डलाई स्पष्ट जवाफ दिइसकेका छैनन् । 

सोमबार बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा पनि प्रचण्डले नेकपा एसलाई सरकारमा ल्याउन सकिने बताएका थिए । 

माधव नेपाल र प्रचण्डबीचको सम्बन्ध केही विशेष रहेका कारण प्रचण्डले नै नेकपा एकीकृत समाजवादीका लागि केही विशेष राजनीतिक अवसर सिर्जना गरिदिन सक्ने माओवादी केन्द्रका नेताहरूको विश्लेषण छ । 

नेकपा एसका प्रवक्ता खतिवडा माओवादीसँग खासै समस्या नभए पनि सरकारबारे निर्णय लिन बाँकी रहेको बताउँछन् ।

‘माओवादी केन्द्रसँग राजनीतिक सम्बन्ध राख्न समस्या रहेन । सरकारको सम्बन्धबारे पार्टीले अहिलेसम्म कुनै निर्णय गरेको छैन,’ उनले भने ।

एकीकृत समाजवादीका लागि अर्को विकल्प भनेको माओवादीसँग पार्टी एकीकरण हो । 

यसअघि दुवै पार्टी एकीकरणका लागि एकता संयोजन समिति बनाउन सहमत भएका थिए । नेकपा एसले त सचिवालय बैठकबाट निर्णय नै गराएको थियो । तर, पार्टीभित्रै असन्तुष्टि चुलिएपछि पछि हटेको थियो । 

पछिल्लो दुईदिनमा विकसित परिस्थितिले नेकपा एकीकृत समाजवादीलाई राजनीतिको अक्करमा पुर्‍याएको छ ।

यसको सहज अवतरण कसरी हुन्छ भन्नेचाहिँ आगामी दिनमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाह गर्ने भूमिकामा निर्भर रहन्छ ।   

salt training

कमेन्ट गर्नुहोस्