चैत ७, २०७९
चीनका राष्ट्रपति सी चिनपिङले गरेको मस्को भ्रमण अभूतपूर्व रूपमा तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि गरेको पहिलो विदेश भ्रमण मात्र हैन । यो भ्रमण कुन परिस्थितिमा भइरहेको छ भन्ने कुरा महत्त्वपूर्ण छ । अहि...
काठमाडाैं | पुस १८, २०७९
सार्वजनिक मञ्चबाटै एकअर्काविरुद्ध आरोपप्रत्यारोप गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालकोट (ओली निवास)मा जुटेर सत्ता सहकार्यको सहमति गर्नु नेपालको राजनीतिमा एउटा भूकम्पभन्दा कम झट्का दिने विषय थिएन ।
सोही सहमतिको जगमा प्रचण्ड प्रधानमन्त्री बनेर शपथ लिएको पनि एक साता बितेको छ । ओली र प्रचण्ड तत्काल मिल्दैनन् भन्ने आम सर्वसाधारणलाई मात्र हैन, कांग्रेस सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि लागेको रहेछ । सोही कारण देउवाले पहिलो कार्यकालको प्रधानमन्त्री कुनै पनि हालतमा नछाड्ने अडान लिए । अन्ततः देउवाको त्यही अडान ओली–प्रचण्ड तेस्रो सहकार्यको प्रस्थानविन्दु बन्यो ।
प्रचण्ड बालकोट पुगेपछि बल्ल देउवाले यिनीहरू फेरि मिल्न सक्छन् भन्ने संकेत पाए । त्यतिबेला उनले दुवैलाई फोन गरेर प्रधानमन्त्री बन्न पालैपालो अफर समेत गरेका थिए । तर, ढिला भइसकेको थियो ।
ओली र प्रचण्डको पहिलो सहकार्य २०७२ मा संविधान निर्माणपछि भएको थियो । त्यतिबेला प्रचण्डले ओलीलाई प्रधानमन्त्री बन्न सहयोग गरेका थिए । तर, उक्त सहकार्य लामो समय जान सकेन । अन्तिममा प्रचण्डले आफैं सहभागी सरकारका प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याए ।
त्यसपछि कांग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दा ओली र प्रचण्डबीचको सम्बन्ध तिक्तताको चरम विन्दुमा पुगेको थियो । तर, त्यो तिक्तता त्यति लामो समय रहेन । २०७४ असोजमा सम्पूर्ण देशवासी दशैं मनाउन व्यस्त रहेका बेला ओली र प्रचण्डले छापामार शैलीमा वाम तालमेलको सहमति गरे ।
चुनावबाट तत्कालीन वाम गठबन्धन झण्डै दुईतिहाइको शक्ति बनेपछि पार्टी एकता नै भयो । शुरूका दुई वर्ष ओली र प्रचण्डबीच सम्बन्ध ठीकठाक थियो, तर त्यसपछि भने परिस्थिति बदलियो ।
अदालतको एउटा आदेशको जगमा नेकपा विधिवत् रूपमा विघटन भयो । एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किए । अदालतकै अर्को एक फैसलाका कारण ओली पनि बालुवाटारबाट बालकोट फर्किनुपर्ने परिस्थिति बन्यो ।
त्यसपछि बढेको तिक्तता सार्वजनिक स्तरमै गालीगलौजको भाषा प्रयोग गर्नेसम्म पुगेको थियो । त्यही तिक्तताका बीच फेरि सहकार्य गरेर यी दुई नेताले सबैलाई ‘सरप्राइज’ दिएका छन् ।
ओली र प्रचण्डको यो तेस्रो सहकार्य कहाँसम्म जाला भनेर अहिले नै अनुमान गर्नु हतारो होला, तर यो सहकार्यको जग कत्तिको बलियो छ ? भनेर अहिले आमचासो व्यक्त भइरहेको छ ।
तत्कालका लागि सत्ता सहकार्य मात्र
के एमाले–माओवादीको यो सहकार्य फेरि पार्टी एकतासम्मै पुग्ला त ? यस्तो प्रश्न गर्दा एमाले नेताहरू २०७४ मा जस्तै पार्टी एकतासम्म पुग्ने जग निर्माण निर्माण भइनसकेको बताउँछन् ।
एमाले उप–महासचिव प्रदीप ज्ञवालीले अघिल्लोपटक हतारमा एकता गर्दा टिकाउ हुन नसकेकाले परिपक्व ढंगले अगाडि बढ्नुपर्ने बताए ।
‘दिगो, विश्वासिलो र परिणाममुखी सहकार्य नभएसम्म पार्टी एकताका लागि हतारिनु हुँदैन । पहिले हतारिएर एकता गर्दा टिकाउ हुन सकेन । परिस्थितिलाई परिपक्व बनाएर मात्रै एकता गर्नुपर्छ,’ ज्ञवालीले लोकान्तरसँग भने, ‘परिपक्व मनोविज्ञान, स्कूलिङ र कतिपय विचार टुंग्याउन बाँकी हुँदै हताररिएर गरिएको एकताबाट यसपटक पाठ सिक्नुपर्छ ।’
अहिलेको सहकार्य एकअर्काप्रति विश्वास बढाउने हदमा मात्र सीमित रहेको उनले बताए ।
‘अहिले सत्ता गठबन्धन बनिहाल्यो । अब तत्काल विश्वास गरेर फेरि पार्टी एकताको तहसम्म पुगिहालौं भन्नेमा छैनौं,’ ज्ञवालीले भने, ‘यो सरकार गठनसम्मका लागि मात्रै हो । परिपक्व परिस्थिति र विश्वासिलो आधार तयार भइसकेको छैन ।’
एमालेका अर्का उप–महासचिव पृथ्वीसुब्बा गुरुङ केन्द्र र प्रदेशको सरकार बनेर बलियो आधार बने मात्रै फरक ढंगले सोच्न सकिने बताउँछन् ।
‘राजनीतिमा असम्भव केही हुँदैन । तर अहिले नै माओवादीसँग पार्टी एकतासम्म जाने गरी कुरा भइसकेको छैन । पहिले गरिएको एकता बीचमा नै दुर्घटनामा परेपछि पहिले नै एकताको धेरै आधार तय गरेर अगाडि बढ्नुपर्छ भन्नेमा हामी छौं,’ गुरुङले लोकतान्तरसँग भने, ‘अहिले केन्द्र र प्रदेशमा सरकार बनाउन यो राजनीतिक एलायन्स मात्रै हो । सात प्रदेशमा सरकार बनेपछि बलियो आधार तय भयो भने फरक ढंगले अघि बढ्नेबारे सोच्न सकिएला । अहिले नै एकतासम्मै जान्छौं भन्नु हतारो हुनेछ ।’
सत्ता गठबन्धन तोड्न सक्नुलाई राजनीतिक जीतका रूपमा हेरिरहेका ओलीले अझै पनि माओवादीलाई विश्वास गरिनहालेको उनी निकट स्रोतको दाबी छ ।
‘२०७४ मा उस्तै दल फरक बाटोमा नहिँडौं भनेर शुरू भएको चुनावी सहकार्य पार्टी एकतासम्मै पुग्यो । एकतापछि सहमतिमै अघि बढ्ने भन्ने समझदारीलाई प्रचण्ड, माधव नेपाल र झलनाथ खनालहरूले गणितको बाटोमा हिँडाउन खोजेपछि एकता दुर्घटनामा पर्यो,’ ओलीनिकट एक नेता भन्छन्, ‘दुर्घटनाबाट पाठ सिकेर जनतालाई आशावादी बनाउने, अर्थतन्त्रलाई ट्र्याकमा ल्याउने र कार्यक्रममा सहकार्य गर्दै जाँदा विश्वासको वातावरण बन्यो भने मात्र नयाँ परिस्थिति निर्माण होला ।’
माओवादी नेताहरूको भनाइ पनि तत्काल पार्टी एकतासम्मै जाने जग तयार भएको छैन भन्ने नै छ । माओवादी नेता देवेन्द्र पौडेलले अहिले गठबन्धन बनाएर अघि बढेको भन्दै पहिलेको दुर्घटनाबाट पाठ सिकेर अगाडि बढ्न मनस्थितिमा आफूहरू रहेको बताए ।
‘भर्खर मात्रै हामीले सत्ता गठबन्धन गरेका छौं । अब केन्द्रको सरकार र शक्ति बाँडफाँट, सात प्रदेशका सरकार, राष्ट्रपति, उपराष्ट्रपति, सभामुखसहित कस्तो सहकार्य हुन्छ, यसले पनि एउटा वातावरण बनाउँछ,’ पौडेल भन्छन्, ‘दुई कम्युनिस्ट पार्टीबीचको एकता पहिले किन दुर्घटनामा पर्यो ? कहाँ–कहाँ कमजोरी भयो ? समीक्षाको चरणमा छौं । ती कमजोरी केलाएर आत्मसमीक्षा गर्दै अगाडि बढ्दा फेरि पनि एमालेसँग पार्टी एकताको तहसम्म पुग्न सक्छौं ।’
जनताले वामपन्थी दललाई दिएको बहुमत जोगाउन नसक्नुको कारण केलाएर जान सके फेरि पनि एकतासम्म पुग्न सकिने उनको तर्क छ ।
‘पहिलेको दुर्घटनाबाट पाठ सिक्नुपर्छ । जनताले वामपन्थीलाई बहुमत दिएका थिए । तर हामीले रक्षा गर्न सकेनौं । फेरि पनि हामी सरकारमा एकै ठाउँमा उभिने वातावरण बनेको छ,’ पौडेल भन्छन्, ‘तर पहिलेजस्तो दुर्घटनामा नपर्ने गरी अघि बढ्नुपर्छ भन्नेमा प्रारम्भिक छलफलजस्तो मात्रै भएको छ । एकता गरिहालौं भनेर कुनै ‘ब्याक टु ब्याक’ वार्ता र संवाद गर्ने चरणमा प्रवेश गरिसकेका छैनौं ।’
२०७४ सालमा ओली र प्रचण्डको मिलनको सुइँको दोस्रो तहका नेताले पाएका थिएनन् । तर यसपटक कांग्रेस र माओवादीको गठबन्धन तोड्नका लागि ओलीले दोस्रो तहका नेताको साथ लिए । मुख्य गरी उपाध्यक्ष विष्णु पौडेल, सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालसहितको टीमलाई परिचालन गरी ओलीले माओवादीसँगको सत्ता गठबन्धन पक्का गरेका थिए ।
माओवादीबाट महासचिव देव गुरुङ, वर्षमान पुन सहितले अहिलेको गठबन्धनको आधार बनाएका थिए । तर एमालेमा ओली र माओवादीमा प्रचण्डको जबर्जस्त पकडका दोस्रो तहका नेताहरूले चाहेर पनि दबाब बढाउने गरी काम गर्न नसक्ने ठोकुवा राजनीतिक विश्लेषक श्याम श्रेष्ठको छ ।
एमाले र माओवादीको अहिलेको मिलनमा कुनै सैद्धान्तिक जग नभएकाले एकतासम्मै पुग्छन् भनेर हौसिने अवस्था नभएको उनको टिप्पणी छ ।
‘केपी ओली र प्रचण्डको अहिलेको मिलन पनि सैद्धान्तिक जगमा भएको छैन । शेरबहादुर देउवाले धोका दिएकाले प्रचण्ड यता लागेका हुन् । ओलीलाई गठबन्धन तोड्नु थियो । गठबन्धन तोड्न पाएकोमा ओली मख्ख छन्, प्रधानमन्त्री बन्न पाएकोमा प्रचण्ड मख्ख छन्,’ श्रेष्ठ भन्छन्, ‘योभन्दा पछाडि राजनीतिक, वैचारिक छलफल गर्लान् भन्ने तत्काल देखिएको छैन । किनकि विगतको यिनको प्रवृत्ति पनि यस्तै छ । दुवैको हातमा पार्टीको जबर्जस्त पकड छ । दोस्रो तहका नेताहरूले प्रतिक्रिया दिनमात्रै सक्छन्, हस्तक्षेप गर्न सक्दैनन् । हामीले विगतमा भूल गर्यौं भन्नेमा पुगे पनि एकतासम्म पुगिहालौं भन्ने पक्षमा ओली र प्रचण्ड नै छैनन् ।’ सत्ताका लागि मात्रै गठबन्धन भएकाले यो दीर्घकालसम्म नजाने ठोकुवा श्रेष्ठको छ ।
एमाले–माओवादी सहकार्यको सिलसिला र फेहरिस्त
दोस्रो जनआन्दोलनपछि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाट माओवादी सबैभन्दा ठूलो दलको रूपमा उदाएपछि नै परम्परागत संसदीय शक्ति एमालेसँग उसको सहकार्य शुरू भयो ।
प्रत्यक्षका २४० मध्ये १२० सीट जितेर माओवादीले सनसनी मच्चाएको थियो । प्रत्यक्षमा झण्डै बहुमत ल्याए पनि समानुपातिकका कारण बहुमत नपुग्दा एमालेसँगको सहकार्यमा प्रचण्ड प्रधानमन्त्री बने । तर प्रधानसेनापति रुक्मांगद कटुवाल प्रकरणमा प्रचण्डले राजीनामा दिएपछि सहकार्य टुट्यो ।
२०६६ जेठमा एमालेका माधवकुमार नेपाल प्रधानमन्त्री भए । पहिलो संविधानसभामा दुई–दुई ठाउँबाट पराजित भए पनि नेपाल अन्ततः प्रधानमन्त्री बन्न सफल भएका थिए । कांग्रेसको सहयोगमा नेपाल प्रधानमन्त्री चुनिएका थिए । निर्विरोध प्रधानमन्त्रीमा नेपाल चुनिँदा माओवादीले भने संसद् बैठक नै बहिष्कार गरेको थियो ।
तर फेरि २०६७ मा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाउँदा एमाले र माओवादी एक ठाउँमा उभिए । झलनाथपछि २०६८ भदौमा माओवादीकै डा. बाबुराम भट्टराई प्रधानमन्त्री भए । एमाले र माओवादी मिल्दा प्रधानमन्त्रीमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल पराजित भएका थिए । तर बाबुराम भट्टराई प्रधानमन्त्री भएकै बेला संविधान दिन नसकी संविधानसभा विघटन भयो ।
त्यसपछि दलहरूले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई दोस्रो संविधानसभाको चुनाव गराउन २०६९ चैत १ मा मन्त्रिपरिषद्को अध्यक्ष बनाए ।
रेग्मीले समयमै चुनाव गराएपछि २०७० साल माघ २७ मा सुशील कोइराला प्रधानमन्त्री बने । सुशीललाई प्रधानमन्त्री बनाउँदा भने पहिलो दल कांग्रेस र दोस्रो दल एमाले मिले । माओवादी बाहिर पर्यो ।
कोइरालाको नेतृत्वमा २०७२ साल असोजमा दोस्रो संविधानसभाले संविधान बनायो । संविधान बनेपछि २०७२ असोजमा माओवादीकै समर्थनमा एमालेका केपी शर्मा ओली प्रधानमन्त्रीमा चुनिए । तर आफैंले प्रधानमन्त्री बनाएका ओलीविरुद्ध अविश्वासको प्रस्ताव लगेर प्रचण्ड आफैं प्रधानमन्त्री बने ।
दोस्रोपटक प्रधानमन्त्री बन्दा प्रचण्डले २०७३ साउन २० मा कांग्रेसको साथ लिए । आलोपालोको सहमति अनुसार प्रचण्डले २०७४ जेठ २४ मा कांग्रेसका शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरे ।
यसबीचमा एमाले र माओवादीको सम्बन्ध निकै चिसिएको थियो । सार्वजनिक मञ्चबाट एमाले र माओवादीका नेताबीच तल्लोस्तरको घोचपेच हुने गर्थ्यो ।
तर २०७४ मंसिरमा प्रतिनिधिसभाको निर्वाचनमा एमाले र माओवादबीच अस्वाभाविक मिलन देखियो । एमालेसँग प्रचण्डले चुनावी गठबन्धन गरे । गठबन्धन बनाएर चुनाव लड्दा एमालेले १२१ सीट जित्दा माओवादी ५३ सीटमा पुग्यो । कांग्रेस भने ६३ सीटमा सीमित हुन पुग्यो ।
त्यसपछि झण्डै दुईतिहाइ मतसहित एमाले अध्यक्ष केपी ओली शक्तिशाली प्रधानमन्त्री बन्न पुगे । २०७५ जेठ ३ मा एमाले र माओवादी मिलेर नेपाल कम्युनिस्ट पार्टी गठन भयो । पार्टी एकता भएपछि केन्द्र र ६ वटा प्रदेश सरकारमा एकल बहुमत पुग्यो । ओली पहिलो अध्यक्ष र प्रचण्ड दोस्रो अध्यक्ष भए ।
एमालेसँग पार्टी एकता भएपछि प्रचण्डले जनयुद्ध दिवस मनाउन समेत छाडे । माओवादी विचारधारालाई समेत लत्याइदिए । तर नेकपाको आन्तरिक संघर्षले संसद् विघटन, एमाले र माओवादी ब्युँतिने परिस्थिति, अनि कांग्रेस र माओवादीको समीकरण बन्नेसम्मको अवस्था आयो । त्यसपछिको झण्डै डेढ वर्ष यी दुई शक्ति दुई ध्रुवमा पुगे । नेताहरूबीच सार्वजनिक मञ्चबाटै घोचपेच भयो ।
पुस १० गते बालकोटस्थित ओली निवासको बार्दलीबाट ओली र प्रचण्डले संयुक्त अभिवादन गर्दै अर्को सहकार्य थालनी गरेका छन् । यो सहकार्य कहाँसम्म जान्छ, त्यो भने भविष्यकै गर्भमा छ ।
चीनका राष्ट्रपति सी चिनपिङले गरेको मस्को भ्रमण अभूतपूर्व रूपमा तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि गरेको पहिलो विदेश भ्रमण मात्र हैन । यो भ्रमण कुन परिस्थितिमा भइरहेको छ भन्ने कुरा महत्त्वपूर्ण छ । अहि...
नेदरल्यान्ड्सको द हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाउँदै शुक्रवार (१७ मार्च) पक्राउपुर्जी जारी गरेको छ । पुटिनले गैरकानूनी...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि अबको कोर्स सरकार विस्तारमा नै केन्द्रित हुने भएको छ । दुई महिनामा दोस्रोपटक विश्वासको मत पाएपछि प्रचण्डले २/४ दिनभित्रै सरकार विस्तार हुने...
विश्व व्यवस्थामा क्रान्तिकारी परिवर्तन आउन लागेको सन्देश दिने गरी चीनका राष्ट्रपति सी चिनपिङले तीनदिने रुस भ्रमण टुंग्याएका छन् । उक्त भ्रमणमा सीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकै आत्मीय व्यवहार देख...
चालू आर्थिक वर्षको पहिलो सात महिना (साउन–माघ)सम्ममा राजस्व अनुसन्धान विभागले १७ वटा मुद्दामा जम्मा ३५ करोड रुपैयाँ मात्रै बिगो दाबी गरेको छ । पछिल्लो एक महिनामा भने ४ वटा मुद्दामा नै ६३ करोड रुपैयाँको ...
अस्ट्रेलिया, बेलायत र अमेरिकाले अकस सम्झौताअन्तर्गत नयाँ घोषणा सोमवार (मार्च १३) मा गरेका छन् । सन् २०२१ को सेप्टेम्बर १५ मा यी तीन देशबीचको त्रिपक्षीय सुरक्षा सम्झौताका रूपमा अकसको जन्म भएको थियो ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...