३० असार २०८३, मंगलबार

प्रेमराजा महत भन्छन् – ‘बन्दिपुरैमा २’ले विस्तारै माया पाउँदैछ

प्रेमराजा महत भन्छन् – ‘बन्दिपुरैमा २’ले विस्तारै माया पाउँदैछ

लोक गीतका हस्ती प्रेमराजा महतले गत वर्ष सार्वजनिक गरेको लोकगीत ‘बन्दिपुरैमा’लाई स्रोता एवं दर्शकले निकै रुचाए । 

गायिका शान्तिश्री परियारसँग मिलेर गाएको उक्त गीतले युट्युबमा निकै राम्रो भ्युज पायो । 

महत स्वयंम अभिनित गीतको युट्युब भ्युज अहिले १ करोड ५७ लाख पुगिसकेको छ ।

‘बन्दिपुरैमा’ हिट भएसँगै गायक महतले यतिबेला भने ‘बन्दिपुरैमा –२’ सार्वजनिक गरिसकेका छन् । 

अंग्रेजी नयाँ वर्षको अवसर पारेर उनले केही दिनअघि ‘बन्दिपुरैमा –२ : ढुंगेधारैको’ बोलको गीत ल्याएका हुन् । आफ्नै शब्द एवं संगीत रहेको यस गीतमा पनि महतले ‘बन्दिपुरैमा’कै गायिका शान्तिश्री परियारसँग स्वर दिएका छन् ।

रामजी लामछानेको कोरियोग्राफी एवं अग्रज लोकगायक नारायण रायमाझीको निर्देशन रहेको भिडियोमा प्रेमराजा स्वयंमले अभिनय गरेका छन् । 

उनलाई मोडल रीना थापाले अभिनयमा साथ दिएकी छिन् । ‘बन्दिपुरैमा’मा भने प्रेमराजा रञ्जिता गुरुङसँग प्रस्तुत थिए । बुधबार दिउँसोसम्म भिडियोले युट्युबमा ३ लाख ८० हजार भ्युज पाएको छ । गीत युट्युबमा संगीततर्फ ट्रेन्डिङ नम्बर ८ मा छ । 

सर्जक एवं गायक महतले स्रोता दर्शकहरुले गीतलाई रुचाएको बताएका छन् । ‘बन्दिपुरैमा’ गीत पनि सार्वजनिक भएको सुरुवाती दिनमा खास्सै चर्चामा नरहेको स्मरण गर्दै महतले लोकान्तरसँग भने, ‘उक्त गीतको भ्युज पनि सुरुवाती दिनमा खास्सै थिएन् । विस्तारै स्रोता/दर्शकहरुको मनमा बसेसँगै भ्युज पनि बढ्दै गएको थियो ।’ 

‘ढुंगेधारैको’ गीत पनि थुप्रै स्रोता/दर्शकसामु पुग्न बाँकी रहेको महतले बताए । 

‘यो गीत पनि विस्तारै उत्तिकै लोकप्रिय हुनेछ’ महतले विश्वास व्यक्त गरे ।

गीतलाई स्रोता दर्शकहरुले ‘मौलिक’ भनेर प्रतिक्रिया दिएका छन् । 

दुई दशकभन्दा लामो समयदेखि अमेरिका बस्दै आएका महतले नेपाल आगमनको क्रममा नयाँ–नयाँ गीत ल्याउँदै आएका छन् । ‘सिमसिमे पानीमा’, ‘पानको पात’, ‘बाँझो खेतमा’ जस्ता उनका थुप्रै गीत आजपनि उत्तिकै हिट छन् ।

गत महिना नेपाल आएका महत यतिबेला काठमाडौंको बुढानिलकण्ठमा आफ्नो घर निर्माणको काममा व्यस्त बनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्