०४ साउन २०८३, सोमबार
देशभर मनसुन सक्रिय

पानी पर्ने क्रम भोलिसम्मै जारी रहने, सतर्कता अपनाउन आग्रह

असार ३०, २०८३
काठमाडौं
पानी पर्ने क्रम भोलिसम्मै जारी रहने, सतर्कता अपनाउन आग्रह
फाइल तस्वीर

देशभर मनसुनी वायुको प्रभाव तीव्र बनेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेर नेपालको तराई भू–भाग नजिकै अवस्थित रहेको छ । यसबै कारण देशका अधिकांश स्थानमा लगातार वर्षा भइरहेको हो ।

गएराति देशको सुदूरपश्चिमबाहेक सबैजसो क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ भने बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा रेकर्ड गरिएको छ। महाशाखाका अनुसार गएको १२ घण्टामा बागमती प्रदेशको चितवनमा सबैभन्दा धेरै २४७ मिलिमिटर वर्षा मापन भएको हो । चितवनका अतिरिक्त तनहुँ, नवलपरासी र कास्कीमा पनि हिजोदेखि नै लगातार मुसलधारे पानी परिरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकीका पहाडी तथा तराईका धेरै स्थानहरूमा वर्षा हुने महाशाखाले जनाएको छ । त्यस्तै मधेश, लुम्बिनी र सुदूरपश्चिमको पहाडी र तराई क्षेत्र तथा कर्णालीको पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा कोशी, बागमती र गण्डकीकै तराई क्षेत्र एवं लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी (ठूलो) वर्षाको सम्भावना छ।

आज राति पनि मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराईका केही स्थान र कर्णाली तथा सुदूरपश्चिमका थोरै स्थानमा मध्यमसम्मको वर्षा जारी रहनेछ। विशेष गरी आज राति कोशीको तराई र गण्डकी को पहाडी भू–भागको एक–दुई स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेकाले महाशाखाले ती क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आज र भोलि (बुधबार) पनि देशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षाको यो क्रम निरन्तर रहने अनुमान छ।

लगातारको वर्षाका कारण हुन सक्ने सम्भावित प्राकृतिक जोखिमलाई ध्यानमा राख्दै जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिनमार्फत सावधानी अपनाउन अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्