
सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न गठित कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको छ । कार्यदल संयोजक उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले ओलीलाई शनिवार कार्यक्रमको मस्यौदा बुझाएका हुन् ।
शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी कार्यालय बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरूको उपस्थितिमा कार्यदलले ओलीलाई कार्यक्रमको मस्यौदा बुझाएको हो । प्रधानमन्त्री प्रचण्ड, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष डा.सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी उपस्थित थिए ।
कार्यदलले प्रतिवेदन बुझाएलगत्तै सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकसमेत बसेको थियो । सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न ओलीको संयोजकत्वमा समिति गठन गरेको थियो ।
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदमा विश्वासको मत लिनु अगावै न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिनेछ ।
सरकारको न्यूनतम साझा कार्यक्रमका आधार समर्थन गर्ने वा नगर्नेबारे निर्णय गर्ने नेकपा एकीकृत समाजवादीलगायतका दलले बताइरहेका छन् ।

