
सेलरोटी भन्ने बित्तिकै कसलाई मन नपर्ला र ? नेपालीहरू सबैको प्रिय परिकार हो सेलरोटी । चाहे अचारसँग होस् या त चियासँगै किन नहोस् ।
स्कूलको क्यान्टिनमा होस् या कलेजको, अफिसमा होस् या मिठाइ दोकानमा ! जहाँ पनि पाइन्छ सेलरोटी ।
हुँदाहुँदा पछिल्लो समय सेलरोटी ठूलाठूला सुपर मार्केटमा समेत प्याकिङमा पाइन थालेको छ ।
अनलाइनमा अर्डर गरेर पनि सेलरोटी खान सकिन्छ । सेलरोटीको चर्चा नेपालमा मात्र नभएर विदेशमा बस्ने नेपालीहरूमा पनि त्यतिकै लोकप्रिय र प्रसिद्ध छ । जहाँ नेपाली त्यहाँ सेलरोटी भनेजस्तै हो । पहिला–पहिला घरमा सेलरोटी पाक्न चाडबाड आउनुपर्थ्यो तर अहिले त्यस्तो छैन, जहिले जहाँ पनि सहज रूपमा पाउन सकिन्छ ।
समयसँगै सेलरोटीको लोकप्रियता र परिमार्जन हुँदै गएको छ । पछिल्लोसमय यसको लोकप्रियता बढ्दै गर्दा यसको साइज, डिजाइन र मिठासपनमा निकै परिवर्तन गरी परिमार्जन भएको छ । हामीले यहाँ चर्चा गर्न लागेको सेलरोटी पनि त्यस्तै परिमार्जित रूप हो । जुन अहिले बजारमा निकै लोकप्रिय र धेरैको ध्यान तान्न पुगेको छ ।
काँडे सेलरोटी साइजमा केही सानो देखिए तापनि निकै आकर्षक र छुट्टै मिठास छ । सोसल मिडियामा निकै भाइरल भइरहेको यो काँडे रोटी घरमै कसरी बनाउन सकिन्छ त भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ।
काँडे सेलरोटी कसरी बन्छ ?
काँडे सेलरोटी बनाउन चाहिने सामग्री : एक किलो होल नाइट भिजाएको चामल, शुद्ध नेपाली घ्यु २५० ग्राम, चिनी ३०० ग्राम, एक टिस्पुन बेकिङ पाउडर, फ्राइ तेल आवश्यकताअनुसार ।
काँडे सेलरोटी बनाउने विधि : भिजाएको चामललाई राम्ररी ब्ल्यान्डरमा पानी मिसाएर पिस्ने । पिसेको चामलको लेदोलाई हातले १० मिनेट जति मज्जाले माड्ने । घ्यु र चिनी हालेर पुनः १० मिनट माड्ने र बेकिङ पाउडर हालेर राम्ररी मिक्स गरी छोपेर ५–७ घण्टा रेस्ट गराउने । अन्त्यमा सेलरोटी बनाउने बाक्लो तावामा तेल तताउने ।
तेलको तापक्रम २२०–२३० डिग्रीभन्दा माथि नलैजाँदा राम्रो हुन्छ । घरमा प्रब (तातो चिसो नाप्ने थर्मामिटर) छैन भने हातमा थोरै मुछेको पिठो लिएर कति तातेको छ भनेर नाप्न सकिन्छ । तेल राम्ररी तात्नासाथ एउटा झाजरलाई तेलको माथि राखेर सोलीमा राखेको सेलरोटीको पिठोलाई सानो रिङ्ग हुने गरी घुमाउने ।
एकसाइड पाक्नासाथ अर्कोपट्टि फर्काउने र गोल्डन ब्राउन देखिन थालेपछि तेलबाट निकालेर स्टेनरमा तेल तर्कन छाडिदिने । एवं रूपमा सबै रोटी पकाउँदै जाने । १ किलो चामलको झण्डै ३० पिस काँडे रोटी बनाउन सकिन्छ । यो हेर्नमा निकै आकर्षक र भित्र खोक्रो भएको झुरुम–झुरुम हुन्छ । यो सेलरोटी शुद्ध घ्युमा तार्ने हो भने यसको मिठास अझ उत्तम हुन जान्छ ।