
नेपाली मौलिक गीत, संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई नातिकाजी स्मृति समाजले पुरष्कृत गरेको छ।
नातिकाजी श्रेष्ठको ९८औँ जन्मजयन्तीका अवसरमा शुक्रबार शीतल निवासमा एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान तथा पुरस्कार’ प्रदान गरेकी छन् ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले विभिन्न जातीय समुदायका मौलिक संस्कृतिसँगै गीतसङ्गीतले नेपालको भौगोलिक विविधताको समेत प्रतिनिधित्व गर्ने र विश्वभर रहेका नेपालीबीच आत्मीय सम्बन्ध स्थापित गर्ने क्षमता राख्ने बताइन् ।
कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान २०७८’ बाट मनबहादुर मुखिया, दीपानारायण झा, प्रदीपराज पाण्डे, फणीन्द्र राई, दीप तुलाधर, बिके राना, कन्हैयासिंह परियार, शुभ मुकारुङ र अमर बान्तु सम्मानित भए।
यस्तै ‘नातिकाजी राष्ट्रिय पुरस्कार’बाट एकनारायण भण्डारी, कालीप्रसाद बाँस्कोटा, राज सिग्देल र माण्डवी त्रिपाठी, ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट देबेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले र अस्मिता अधिकारी, ‘राष्ट्रिय लोक सङ्गीत पुरस्कार’ बाट लोक गायिका देवी घर्ती, ‘राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार’ बाट चन्दनकुमार श्रेष्ठ, ‘नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार’ बाट रबिन कार्की ढली तथा ‘नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार’ बाट आशीष सचिन गौतम पुरस्कृत भए।
कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार–२०७८’ बाट रङ्गपत्रकार डब्बु क्षेत्री र कुवेरराज गिरी पुरस्कृत भए।
कार्यक्रममा समाजका अध्यक्ष शम्भुजित बाँसकोटाले नेपाली संगीत मौलिक सिर्जनाको क्षेत्रमा नातिकाजीको अतुलनीय योगदानको चर्चा गरेका थिए।