
आक्रामक व्यापार गरिरहेको चलचित्र ‘छक्का पञ्जा ४’मा समावेश ‘सिरूपाते जुँगामा’ बोलको गीत सार्वजनिक गरिएको छ ।
चलचित्र प्रदर्शनको पाँच दिनपछि मंगलवार यो गीत युट्युबमा सार्वजनिक गरिएको हो । यो गीतको टुक्का टिकटक लगायतका सामाजिक सञ्जालमा यसअघि नै हिट भइसकेको छ । कथा खुल्नसक्ने भएका कारण निर्माण टिमले चलचित्र रिलिजको केही दिनपछि मात्रै यो गीत सार्वजनिक गरेको हो ।
शंकर अधिकारी ‘घायल’को शब्द रहेको यस गीतमा बाबुल गिरीको संगीत एवं स्वर छ । आयुष खतिवडा र पवित्रा गुरुङले गीतमा कोरस स्वर दिएका छन् ।
भिडियोमा चलचित्रका कलाकारहरू दीपकराज गिरी र बेनिशा हमाललाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ । केदार प्रसाद घिमिरे, दीपाश्री निरौला, राज आचार्य लगायतका अन्य कलाकारहरू समेत भिडियोमा प्रस्तुत छन् ।
हेमराज बिसीको निर्देशन रहेको ‘छक्का पञ्जा ४’ले चार दिनमा सोमवारसम्म ६ करोड हाराहारीको कलेक्सन गरिसकेको छ ।
चलचित्रमा बुद्धि तामाङ, निर्मल शर्मा, बेदना राई, सुष्मा निरौला लगायतको समेत शीर्ष भूमिका छ ।